काठमाडौँ- रुवाण्डामा जारी आईसीसी महिला टी २० च्यालेन्ज ट्रफीको दोस्रो खेलमा नेपालले इटलीसँग खेल्दैछ । रुवाण्डाको किगालीमा रहेको गहंगा क्रिकेट स्टेडियम ओभलमा नेपालले पहिलो पटक खेल्न लागेको इटलीसँगको खेल आइतबार दिउँसो ४ः४५ मा सुरु हुँदैछ।
नेपालको महिला राष्ट्रिय क्रिकेट टोली र इटलीको महिला टोलीका बीच पहिलो पटक कुनै पनि खेल हुन लागेको हो। पुरुष टोलीले केही महिना अघि सम्पन्न टी २० विश्वकपमा एक अर्काको सामना गरेकामा महिला टोली भने पहिलो पटक खेल्दैछन्। दुवै टोलीको प्रतियोगितामा यो दोस्रो खेल हो। प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित हुँदा इटलीले भने जित हात पारेको थियो । खराब ब्याटिङ तथा फिल्डिङका कारण नेपालले अमेरिकासँग ४४ रनको फराकिलो हार बेहोर्दा इटलीले भने घरेलु टोली रुवाण्डालाई पराजित गरेको थियो
नेपाल पहिलो भेटमा नै इटलीलाई पराजित गरि अमेरिकासँगको त्यो हार भुल्न चाहन्छ। उता, इटली नेपाललाई हराउँदै जितको लयलाई निरन्तरता दिन चाहन्छ। प्रतियोगितामा नेपाल र इटलीका अलावा घरेलु टोली रुवाण्डा, भानुआटु र अमेरिका सहभागी रहेका छन्।
एसोसिएट देशको महिला क्रिकेट विकासका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सुरुवात गरेको प्रतियोगिताको यो पहिलो संस्करण हो । प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा हुने र लिगको सबै खेल पश्चात शीर्ष स्थानमा रहने देश विजेता बन्नेछन् ।



