काठमाडौँ- दुर्गम जिल्ला मुगुमा प्रभावकारी इन्टरनेट तथा मोबाइल सेवा अझै नपुगेको भन्दै स्थानीय युवाले सरकारसँग तत्काल सेवा विस्तारको माग गरेका छन्। सरकारको नीति तथा कार्यक्रममा उक्त विषय पर्याप्त रूपमा समेटिएको नभएको भन्दै उनीहरूले ध्यानाकर्षण गराएका हुन्।
आशिष देवकोटाको नेतृत्वमा गएको युवा टोलीले सूचना तथा सञ्चार प्रविधिमन्त्री विक्रम तिमल्सिनासँग भेट गरी जिल्लाको वर्तमान अवस्था, भौगोलिक चुनौती र समाधानका सुझावसहित ज्ञापनपत्र बुझाएको हो।
देवकोटाका अनुसार मुगुमा रहेका २४ टेलिकम टावरमध्ये केवल १२ वटामा मात्र फोरजी सेवा सञ्चालनमा रहेको छ भने बाँकी स्थानहरू अझै टुजी वा कमजोर नेटवर्कमै निर्भर छन्। ४५ वडामध्ये करिब ३० वडामा मात्र सीमित कभरेज पुगेको र प्रभावकारी इन्टरनेट पहुँच ५ प्रतिशतभन्दा कम रहेको बताइएको छ।
६४ हजारभन्दा बढी जनसंख्या रहेको जिल्लामा इन्टरनेट प्रयोगकर्ता अत्यन्त न्यून रहेको र अधिकांश नागरिक अझै डिजिटल सेवाबाट वञ्चित रहेको अवस्था रहेको उनको भनाइ छ। उनका अनुसार करिब ९५ प्रतिशत नागरिक भरपर्दो इन्टरनेट सेवाबाट वञ्चित छन् भने सूचना प्रवाहसमेत गाउँसम्म प्रभावकारी रूपमा पुग्न सकेको छैन।
युवाहरूले कर्णाली प्रदेशलाई राज्यले प्राथमिकतामा नराखेको भन्दै फोजी सेवा विस्तार नहुँदा करिब ६० प्रतिशत नागरिक बसाइँसराइ गर्न बाध्य भएको दाबी गरेका छन्। कतिपय स्थानमा मोबाइल सिग्नल पाउन डाँडामा पुग्नुपर्ने बाध्यता रहेको पनि उनीहरूले बताएका छन्।
भेटका क्रममा युवाहरूले प्रतीकात्मक रूपमा पुरानो नोकिया मोबाइल मन्त्रीलाई उपहार दिएका थिए। तर मन्त्री तिमल्सिनाले उक्त उपहार अस्वीकार गरेका थिए। यस घटनाले दुर्गम क्षेत्रको डिजिटल विभेदप्रति युवाहरूको असन्तुष्टि झल्काएको बताइएको छ।
मन्त्री तिमल्सिनाले भने हाल देशभर करिब १२०० टावरमार्फत फोजी सेवा सञ्चालनमा रहेको र थप ३००० टावर निर्माण गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। उनले कर्णालीलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
युवाहरूले मुगुका सोरु, मुगुम कार्मारोंग, खत्याड गाउँपालिका तथा छायाँनाथ-रारा नगरपालिकामा दूरसञ्चार सेवा अझै कमजोर रहेको भन्दै तत्काल सुधारको माग गरेका छन्।
यसअघि पनि विभिन्न मन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै उनीहरूले अब योजना मात्र होइन शीघ्र कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्। मन्त्रीले भने ६ महिनाभित्र देशभर गुणस्तरीय फोजी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।




