बाँच्न सिकाउनेहरू [तस्बिर कथा]

हिमाल प्रेस १४ माघ २०७९ १०:०१
18
SHARES
बाँच्न सिकाउनेहरू [तस्बिर कथा] गौशालामा व्यापार गर्दै अपांगता भएकी महिला।

खुट्टा नभएको मानिसले पनि सगरमाथाको सफल आरोहण गर्‍यो भन्दा अचम्म मान्नुपर्दैन, न त पूरै शरीर नचल्ने व्यक्ति युगमै उत्कृष्ट वैज्ञानिक बने भन्दा आश्चर्य मान्नुपर्छ। आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखे भन्दा हामी कसरी सम्भव भयो भन्ने अडकल काट्छौँ।

शारीरिक अशक्तता भएका व्यक्ति देख्नासाथ बिचरा! भन्ने हामी अझै उनीहरूको संवेदनामा नै सीमित छौँ।

तर आश्चर्य मान्नुपर्दैन, खुट्टा नहुने मानिसले सगरमाथा चढिसकेका छन्। आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखिसकेका छन् र पूरा शरीर नचल्ने व्यक्ति युगकै उत्कृष्ट वैज्ञानिक बनेका छन्।

कोही जन्मिदै शारीरिक रूपमा अशक्त थिए, कोही दुर्घटनामा परेर अशक्त भए। शारीरिक अशक्तताले उनीहरूको सपनामा अंकुश लगाउन सकेन। न उनीहरूले बिलौनामा समय व्यतीत गरे।

बरु आफ्नो ‘समस्या’लाई ‘शक्ति’ मा परिणत गरेर सबैका निमित्त उदाहरण बने। विश्वप्रसिद्ध भौतिकशास्त्री, लेखक, प्रोफेसर स्टिफन हकिङले विशेष गरेर भौतिकशास्त्र र ब्रह्माण्ड विज्ञानसम्बन्धी विभिन्न सिद्धान्त प्रतिपादन गरे।

हेलेन केलर डिग्री प्राप्त गर्ने विश्वकै प्रथम देख्न र सुन्न नसक्ने व्यक्ति हुन् भने फ्रान्कलिन अमेरिकी वकिलका साथै ३२ औँ अमेरिकी राष्ट्रपति हुन्। उनी शारीरिक अशक्तता भएका व्यक्ति हुन्।

भारतीय नागरिक अरुणिमा सिन्हा सगरमाथा आरोहण गर्ने पहिलो अशक्त व्यक्ति हुन् भने भारतीय नागरिक सुधा चन्द्रन पनि अशक्त भएर पनि भारत नाट्यम् डान्सर बन्न सफल भइन्।

त्यसो त नेपालकै कुरा गर्ने हो भने झमककुमारी घिमिरेको नाम लिए पुग्छ। यस्ता धेरै उदाहरण छन्, जसले अशक्ततालाई अवसरमा परिणत गरेर देशविदेशमा बलियो रूपमा आफूलाई उभ्याएका छन्।

नेपालमा अहिले पनि अशक्तपनलाई कमजोरी नठानी आत्मबलका साथ आफैँ काम गरेर जीविकोपार्जन गर्ने मानिस धेरै छन्। जोरपाटीस्थित बीआईए इस्न्टिच्युटमा थांका बनाउँदै गरेका अपांगता भएका कलाकार हुन् वा जोरपाटीस्थित अपांग संघ परिसरमा दृष्टिविहीन र अपाङ्गता भएका पुरुष।

गौशालामा व्यापार गर्दै आएकी अपांगता भएकी महिलाको शक्ति हेरौँ वा गौशालास्थित शान्ति सेवागृहमा कागजको झोला बनाउँदै गरेका कुष्ठरोग पीडित पुरुषको अनुहार। उनीहरू आफ्नो शारीरिक अवस्था छोडेर मानसिक रूपमा बलियो बनी आफैँ कमाएर जीवन धान्छन्।

थापाथलीस्थित सुकुमबासी बस्तीमा दृष्टिविहीन परमेश्वरीदेवी मुखियाको घरमा काम गरेर जीविको पार्जन गर्छिन् भने उनका श्रीमान् सल्टु मुखिया पनि दृष्टिविहीन नै छन्।

आवाजको सहारामा मोबाइल चलाउने, अपांगता भएकाहरू, ह्विलचेयरको सहयोगमा बास्केटबल खेल्नेहरू, चिउँडोको सहायताले ह्विलचेयर चलाउनेहरू, हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउनेहरू, ह्विलचेयर बनाउने, कपडाको थाङ्का बुन्ने लगायतका काममा उनीहरू व्यस्त छन्। प्रस्तुत छ शारीरिक अशक्तता भएर पनि आफैँ कमाएर जीविकोपार्जन गर्दै आएका व्यक्तिहरूको फोटो कथा :

जोरपाटीस्थित खगेन्द्र नवजीवन विद्यालय परिसरमा बास्केटबल खेल्दै अपांगता भएका ह्विलचेयर प्रयोग गर्ने युवकहरू।
जोरपाटीमा ह्विलचेयर बनाउँदै अपांगता भएका मिस्त्रीहरू।
जोरपाटीस्थित बीआईए इन्टिच्युटमा कपडाको थांका बुन्दै अपांगता भएकी कलाकार।
जोरपाटीस्थित अपांग संघ परिसरमा दृष्टिविहीन र अपांगता भएका पुरुष एक अर्काको सहारामा हिँड्दै।
पशुपति क्षेत्रमा एक दृष्टिविहीन आवाजको सहारामा मोबाइल चलाउँदै।
जोरपाटीस्थित अपांगता भएकाहरु बस्ने एक सेल्टरमा ह्विल चेयरमा कृष्ण खड्का। उनका हातखुट्टा चल्दैनन्।

तस्बिरहरू : न्युज एजेन्सी नेपाल

प्रकाशित: १४ माघ २०७९ १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast