बीपी राजमार्ग अवरुद्ध, सवारीसाधन सडकमै रोकिए

हिमाल प्रेस १३ चैत २०८२ २१:४८ | Friday, March 27, 2026
8
SHARES
बीपी राजमार्ग अवरुद्ध, सवारीसाधन सडकमै रोकिए फाइल तस्बिर

काठमाडौँ- शुक्रबार साँझको वर्षाका कारण बीपी राजमार्गमा यातायात अवरुद्ध भएको छ। साँझ ६ बजेदेखि राजमार्गको भकुण्डे-नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा लेदोसहितको बाढीपहिरोका कारण यातायात अवरुद्ध भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बिरुवाडाँडा, कालढुंगा, चौकीडाँडा र मंगलटारमा कतै लेदोसहितको पहिरो तथा बाढीले राजमार्गको विभिन्न स्थानमा यातायात अवरुद्ध भएको हो।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छ्याउने प्रयास भइरहेको बताए। उनका अनुसार हावाहुरी र निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको छ। गत वर्षको बाढीपहिरोका कारण उक्त क्षेत्रको सडक क्षतिग्रस्त भएपछि खोलाबाटै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो।

बीपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले साँझदेखि सवारीसाधन ‘होल्ड’ गरेको छ। उक्त राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभन्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मंगलटारमा सवारीसाधन होल्ड गराइएको धाँजुले बताए।

प्रकाशित: १३ चैत २०८२ २१:४८ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast