के छन् युवा सांसदका एजेन्डा?

हिमाल प्रेस १३ चैत २०८२ ६:०९ | Friday, March 27, 2026
8
SHARES
के छन् युवा सांसदका एजेन्डा? सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहणमा सहभागी प्रतिनिधिसभाका नव निर्वाचित सदस्यहरू।

काठमाडौँ- सिंहदरबारस्थित संसद् भवनमा बिहीबार प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएपछि सांसद् मनीष खनालले आफ्नो भूमिका जेनजी विद्रोहको भावनालाई सदनको रोष्टमबाट जीवन्त राख्नु प्राथमिकता हुने बताए।

शपथसँगै आफ्नो संसदीय यात्रा सुरु भएको उल्लेख गर्दै २६ वर्षे खनालले भने, ‘यो मेरो एक्लो पाइला होइन, प्रत्येक मतदाताको भरोसा र हजारौँ युवाको आशाको सामूहिक यात्रा हो।’

गत भदौमा भएको जेनजी आन्दोलन र त्यसपछि भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि प्रतिनिधिसभामा उनी र उनको उमेर समूहको प्रतिनिधित्व बढेको छ।

त्यसैले बिहीबार भएको प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण समारोह केबल संवैधानिक प्रक्रिया मात्र नभइ संसद्मा युवा समूहको बाहुल्य प्रतिनिधित्वले संसद्लाई सुन्दर बनाएको छ।

राजनीतिक यात्रा सुरु गरेको छोटो समयमा सांसदीय यात्रा सुरु गरेका २६ वर्षीया सांसद केपी खनालले इमान्दारिताका साथ काम गर्ने प्रण गरे।

उनले भने, ‘संसद्मा जेनजी उमेर समूहको उल्लेख्य प्रतिनिधित्व छ, त्यसैले हामी उत्साही छौँ, जिम्मेवारी पनि त्यत्तिकै महसुस भइरहेको छ। जनतालाई ‘डेलिभरी’ दिनु हाम्रो कर्तव्य हो। पारदर्शिता, इमान्दारिता र जवाफदेहिताका आधारमा काम गर्छौं।’

विगत १३ वर्षदेखि सामाजिक अभियानमा सक्रिय खनालले अब जनताको आवाज अब संसद्मा उठान गर्नका लागि तयार रहेको बताए। आफू कैलाली-२ बाट निर्वाचित भए पनि सुदूरपश्चिमको प्रतिनिधि नभई देशभरका जनताको सेवकका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे।

जेनजी उमेर समूहकी २५ वर्षीया सांसद रुवीकुमारी ठाकुरले मधेशका युवा र महिलाको मुद्दा प्राथमिकताका साथ सदनमा उठाउने प्रण गरिन्। मैथिली र नेपाली भाषामा शपथ ग्रहण गरेपछि उनले आफ्ना पुस्ताको परिवर्तनको आकाङ्क्षा नै आफ्नो एजेन्डा भएको बताइन्।

युवा सांसद सस्मित पोखरेलले आफूले राजनीतिक र कानुनी छिद्रहरूको अध्ययन सुरु गरिसकेको बताए। त्यसका लागि नयाँ कानुन निर्माण, आवश्यक संशोधनका लागि विशेषज्ञ टिम निर्माणमा गृहकार्य थालेको उल्लेख गरे। ‘शपथपछि जिम्मेवारी अझ बढेको महसुस भएको छ। अब पाँच वर्षमा के गर्ने भन्ने कुरा स्पष्ट छ’, उनले भने।

प्रकाशित: १३ चैत २०८२ ६:०९ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast