बालेनले रचे इतिहास : मधेशी मूलका पहिलो कार्यकारी प्रमुख

धैर्यकान्त दत्त १३ चैत २०८२ १०:२८ | Friday, March 27, 2026
44
SHARES
बालेनले रचे इतिहास : मधेशी मूलका पहिलो कार्यकारी प्रमुख

काठमाडौँ- ‘आई मधेशी छौरा प्रधानमन्त्री बनएबला है ओहिला घन्टीमे भोट नहि रहएकै है, सही लोग आबएबला है ओहिला घन्टीमे भोट रहएकै है।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं काठमाडौँ महानगपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) ले ५ माघ गते जनकपुरधामको तिरहुतिया गाछीमा दिएको यो अभिव्यक्ति देशभर चर्चाको विषय बन्यो।

बालेनले सार्वजनिक रूपमा मैथिली भाषामा सम्बोधन गरेको सम्भवत:  त्यो पहिलोपटक थियो। जनकपुरधामबाट सुरु भएको रास्वपाको चुनावी अभियानका क्रममा बालेनले मैथिली भाषामा गरेको त्यो सम्बोधन सबै भाषाभाषीले सहजै बुझ्न सके।

यसको नेपाली अर्थ हो, ‘आज मधेशी युवा प्रधानमन्त्री बन्ने भएकाले पुरानालाई होइन, सही व्यक्तिलाई (घन्टीमा) भोट हाल्नुपर्छ।

मिथिला, पर्यटन, खेलकुद, प्रादेशिक संरचनालाई बलियो बनाउने विषय समेटिएको बालेनको ९ मिनेटको छोटो सम्बोधनले मधेशका मात्रै होइन देशभरका मतदातालाई प्रभावित बनायो। काठमाडौँ महानगरको मेयरका रूपमा लोकप्रियता हासिल गरिसकेका बालेनलाई मतदाताले भावी प्रधानमन्त्रीका रूपमा सहजताका साथ स्वीकार गरेको देखियो।

उनकै प्रभावका कारण फागुन २१ को चुनावमा रास्वपाका पक्षमा देशभर लहर देखियो। यो लहरमा पुराना दलका कतिपय स्थापित नेताहरू चुनाव हार्न बाध्य भए। यहाँसम्म कि पहिलोपटक संसदीय राजनीतिमा आएका बालेनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै क्षेत्र झापा-५ पुगेर हराए।

बालेनको प्रवेशले मधेशमा रास्वपाका पक्षमा अधिकांश मतदाताहरूको झुकाव देखियो। बालेनले मधेशी भएकै कारण आफूलाई मत नदिन भने पनि त्यहाँका मतदाताको मनोविज्ञान एउटै थियो-मधेशीलाई पहिलोपटक प्रधानमन्त्री बनाउन रास्वपालाई जिताउने।

मधेशमा विकास, रोजगारी, विदेश पलायनलगायतका मुद्दा छँदै छन्। रास्वपाका पक्षमा जनलहर बन्नुपछाडि ‘बालेन-फ्याक्टर’ ले महत्त्वपूर्ण भूमिका खेल्यो। बालेन प्रभावकै कारण मधेशबाट मधेश केन्द्रित दलहरू पराजित भए नै, आफ्नो उर्वरभूमि भन्दै आएको कांग्रेसले एकमात्र सिट जित्यो।

महोत्तरीको एकडारा गाउँपालिका पुर्ख्यौली घर भएका तिनै बालेन शुक्रबार देशको प्रधानमन्त्री बनेका छन्। राष्ट्रपति, उपराष्ट्रपति, उपप्रधानमन्त्रीहरू बने पनि प्रधानमन्त्री बन्ने उनी पहिलो मधेशी मूलका नागरिक हुन्।

नेपालको सबै लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका वहन गरे पनि मधेशी नागरिक कार्यकारी पदमा पुग्ने मौका पाएनन्। राणा शासन, पञ्चायतदेखि २०६२/६३ को दोस्रो जनआन्दोलनसमेतमा मधेशले निर्णायक भूमिका खेल्यो।

मुलुकको कार्यकारी भूमिकामा मधेशीमूलका व्यक्तिलाई पुराना दलहरूले पुग्न नदिएको तुष निकाल्दै यसपालि पूरा मधेश बालेनका पक्षमा उर्लियो। पहिलो मधेशी नागरिकका रूपमा बालेनको प्रधानमन्त्री यात्रालाई ऐतिहासिक घटनाको रूपमा हेरिएको हो।

राणाकाललाई छोडिदिने हो भने २००७ सालमा प्रजातन्त्र स्थापना भएयता कैयौँ प्रधानमन्त्री बनेका छन्।  यो सूचीमा मधेशीमूलका कोही अटाएका छैनन्। त्यसैले पनि बालेनको प्रधानमन्त्री नियुक्तिलाई मधेशवासीले महत्त्वका साथ हेरेका छन्।

मधेश केन्द्रित दलका कतिपय नेताहरू बालेन प्रधानमन्त्री बन्नुमा विगतमा भएका मधेश आन्दोलनका उपलब्धिका रूपमा व्याख्या गर्छन्। मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउन भएका मधेश आन्दोलनकै परिणामस्वरूप अहिले बालेनले प्रधानमन्त्री बन्ने अवसर पाएको उनीहरूको भनाइ छ।

यसैगरी कतिपय राजनीतिक दलका नेताहरू भने बालेनले देशको कार्यकारी जिम्मेवारी सम्हाल्नुलाई ऐतिहासिक अवसरका रूपमा अर्थ्याएका छन्। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले त रास्वपाका वरिष्ठ नेता बालेन प्रधानमन्त्री नियुक्ति नहुँदै बधाई दिइसकेका थिए। बालेन प्रधानमन्त्री बन्ने पक्का भएसँगै निधिले चैत ६ गते बधाई दिएका हुन्।

निधिले पहिलोपटक एउटा मधेशी व्यक्ति प्रधानमन्त्री हुनुलाई राजनीतिक रूपान्तरण रहेको बताएका थिए।

‘बालेन शाह नेपालको प्रधानमन्त्री हुने अब पक्का भएको छ। पहिलोपटक एउटा मधेशी व्यक्ति प्रधानमन्त्री हुँदै छ, यो असली र ऐतिहासिक राजनीतिक रूपान्तरण हो- पुस्तान्तरणमात्र होइन,’ निधिले सामाजिक सञ्जालमा लेखेका थिए, ‘देशी र विदेशी सबैले यो सत्य संज्ञानमा राख्नुपर्छ। म चुनाव हारे पनि साह्रै हर्षित छु। बालेन शाहलाई बधाई छ।’

मधेशी मूलका पहिलो प्रधानमन्त्री बनेर इतिहास रचेका बालेन्द्रको आगामी यात्रा भने त्यति सहज छैन। चुनावका क्रममा देशवासीसामु बाँडेको आशा अब पूरा गर्ने जिम्मेवारीमा पुगेका छन् उनी। पुराना दलहरूले ‘खत्तम्मै’ बनाइदिएको भाष्य तयार पारेर मतदातामाझ लोकप्रिय बनेका बालेनले रोजगारी सिर्जना गर्नुपर्नेछ नै विदेश पलायनलाई रोक्ने चुनौतीसमेत छ। जनकपुरधाममा गरेको सम्बोधनझैँ प्रदेशलाई मजबुत बनाउने दायित्व पनि उनीमाथि आइपुगेको छ। विकास निर्माण अगाडि बढाउँदै मुलुकमा सुशासन कायम गर्ने जिम्मेवारी पनि उनीमाथि छ।

मधेश मामिलाका जानकार एवं वरिष्ठ पत्रकार चन्द्रकिशोर झा बालेनको ‘काउन्टडाउन’ बल्ल सुरु भएको बताउँछन्। बालेन प्रधानमन्त्री हुनुलाई मधेशले आफ्नो सम्मान र समृद्धिको रोडम्यापका रूपमा लिएको  उनी बताउँछन्।

‘दुई कोणबाट यसलाई हेर्न सकिन्छ, एउटा त जुन किसिमले मधेश प्रदेशबाट मत आएको छ, बालेन्द्र शाह प्रधानमन्त्री हुनुलाई मधेशले आफ्ना सम्मानका कुरा, समावेशीका कुरा, समृद्धिका कुराहरूको रोडम्यापका रूपमा लिइएको छ, यही हिसाबले मधेशका मतदाताले मत खन्याएका छन्,’  झाले हिमालप्रेससँग  भने।

वर्षौँदेखि मधेशमा विद्यमान समस्या समाधान हुनेमा पनि बालेनलाई आशाका रूपमा हेरिएको छ। राष्ट्रपति, उपप्रधानमन्त्रीहरू बने पनि मधेशका समस्याहरू ज्यूँकात्यूँ रहेकाले पनि अब निराकरण हुने अर्को कोणबाट विश्लेषण गर्नुपर्ने झाको भनाइ छ।

‘मधेशीमूलका व्यक्ति यसअघि राष्ट्रपति बने, ६ जना त उपप्रधानमन्त्री नै बने, तर मधेशका समस्या ज्यूँकात्यूँ रहे। अब बालेन्द्र प्रधानमन्त्री भएपछि त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ यो हेर्नुपर्ने हुन्छ, यी समस्या सम्बोधन गर्न कम चुनौतीपूर्ण पनि छैन, कुनै जादुको छडी होइन,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीका रूपमा उहाँको यात्रा प्रारम्भ भइरहँदा शुभ होस् भन्ने कामना गरिरहेका छन् तर प्रतीक्षा पनि गरिरहेका छन्।’

मधेश केन्द्रित दलहरूले बधाई दिए पनि बालेनले आगामी दिनमा गर्ने कामलाई प्रतिक्षासमेत गरिरहेको उनको भनाइ छ। चुनावका बेला बालेनले गरेका वाचाहरू पूरा हुनेमा कुर्नैपर्ने बताउँदै झा रास्वपाभित्रै पनि कतिपय समस्या देखिएको उल्लेख गरे।

‘उहाँ खरो उत्रिनुहुन्छ भनेर अहिले शुभकामना दिऔँ,’ झा भन्छन्,‘तर अहिलेको रास्वपामा खस आर्यहरूकै बढी उपस्थिति छ, मधेशी दलितहरूको उपस्थिति न्यून छ, रास्वपाभित्रै विरोधाभाषपूर्ण स्थिति देखिएको छ, अहिले हामी आशा गरौँ, बालेन्द्रजीलाई मान्छेले पत्याएका छन्, बलगर (बलियो) प्रदेशको कुरा गर्नुभएको छ, प्रतिक्षा भइरहेको छ, अब काउन्टडाउन पनि सुरु भयो।’

प्रधानमन्त्रीका रूपमा बालेनको प्रभावकारिता समयले निर्धारण गर्ने झाले बताए। ‘मधेशमात्रै होइन पहाडका मतदाताले पनि ज्यादै भरोसा गरेको छ, विश्वास गरेको छ, त्यसैले बालेनको नाममा मत खन्याएका छन्,’ उनी भन्छन्, ‘देशको कार्यकारीका रूपमा उनको भूमिकाको सबैले व्यग्र ढंगबाट प्रतिक्षा गरिरहेका छन्।’

विश्लेषक झाले नवनियुक्त प्रधानमन्त्री बालेन प्रतिनिधिसभाप्रति जवाफदेही हुन जरुरी रहेको जिकिर गरे। ‘बालेन्द्रजी अब प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ, शपथ लिनुभएको छ,’ उनी भन्छन्,‘उहाँले प्रतिनिधिसभालाई नै सर्वोच्च संस्थाको रूपमा मान्नुपर्छ। उहाँको जवाफदेही त्यो संस्थाप्रति हुनुपर्छ। अन्य समानान्तरका कुनै संस्थाप्रति हुनुहुँदैन। उहाँको निष्ठा प्रतिनिधिसभाप्रति देखिनुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast