काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अनिवार्य रूपमा सहभागी गराउन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गर्नुपर्ने माग गरेको छ।
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी गराउन सभामुखले आवश्यक पहल गर्नुपर्ने बताए।
उनले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यू यो संसद्को सबैभन्दा ठूलो दलका नेता हुनुहुन्छ। नियमावलीअनुसार सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा उहाँलाई सहभागी गराउन सभामुखमार्फत रुलिङको माग गर्दछु।’
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी व्यवस्था गरिएको छ। उक्त नियमअनुसार सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्त्वपूर्ण विषयमा सांसदहरूले प्रश्न सोध्नका लागि छुट्याउनुपर्ने व्यवस्था छ।
नियमावलीमा यो व्यवस्थालाई अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ। तोकिएको दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछिको पहिलो बैठकको पहिलो एक घण्टामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान पनि रहेको छ।


