काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री तथा पार्टी संसदीय दलका नेता वालेन्द्र शाहसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने चर्चाको खण्डन गरेका छन्।
लामिछानेले बुधबार पार्टीका सांसद तथा मन्त्रीहरूसँग छलफल गरेका थिए। बैठकमा प्रधानमन्त्री शाह भने उपस्थित भएनन्।
त्यसपछि बालेनले बोलाउनुपर्ने संसदीय दलको बैठक सभापति लामिछानेले अनधिकृत रूपमा बोलाएको चर्चा हुन थालेको थियो।
प्रधानमन्त्री शाह असन्तुष्ट भएकै कारण बैठकमा उपस्थित नभएको भन्ने पत्रकारको प्रश्नमा लामिछानेले भने उक्त बैठक संसदीय दलको बैठक नभएको बताए।
पत्रकारसँग कुरा गर्दै उनले आजको बैठक सांसद र मन्त्रीहरूबीचको सामान्य छलफलका लागि बोलाइएको बताए।
‘संसदीय दलको बैठक भए त प्रधानमन्त्रीज्यू भइहाल्नु हुन्थ्यो। तर आज चाहिँ छलफल मात्र बोलाइएको हो,’ लामिछानेले भने।
प्रधानमन्त्री शाहसँग सम्बन्ध बिग्रिएको चर्चालाई पनि उनले अस्वीकार गरे। ‘दुईजनाबीच झगडा पर्यो भनेर लेख्नुहुन्छ, हामीलाई रमाइलो लाग्छ। तपाईंहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ। त्यसैले समाचार लेख्न नरोक्नुहोला,’ उनले भने।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा आफू ‘एक्लै लडिरहेको’ भाव व्यक्त गरेको स्टाटसबारे पनि लामिछानेलाई प्रश्न गरिएको थियो।
जवाफमा उनले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई राजनीतिकभन्दा बढी कवि तथा कलाकारको भावनाका रूपमा बुझ्नुपर्ने बताए।
‘प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हो। यत्रो भिडमा पनि म एक्लो महसुस गर्न सक्दिनँ र हरेक शब्दको राजनीतिक अर्थ खोज्न हुँदैन। यहाँ पार्टी सिंगै उभिएको छ, कहाँ एक्लो हुनुहुन्छ ?’ लामिछानेले भने।


