पुरुष वर्चस्व तोड्दै सदन छिरेकी बासना

किरण पौडेल १२ चैत २०८२ १८:२६ | Thursday, March 26, 2026
22
SHARES
पुरुष वर्चस्व तोड्दै सदन छिरेकी बासना

काठमाडौँ– बासना थापा नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ निर्वाचित एकमात्र महिला सांसद हुन्। प्रतिनिधिसभा चुनावमा कांग्रेस प्रत्यक्ष र समानुपातिक गरी ३८ सिटमा निर्वाचित भएको छ। त्यसमध्ये १६ महिला र २२ पुरुष छन्।

बासना दैलेख १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएकी हुन्। संसदीय राजनीतिमा लामो समयदेखि पुरुष वर्चस्व रहेको दैलेखमा बासनाले कीर्तिमान तोडेकी हुन्।

दैलेख १ कुनै बेला कांग्रेसको किल्ला मानिन्थ्यो। २०४८, २०५१ र २०६४ को चुनावमा कांग्रेसकै गणेशबहादुर खड्का निर्वाचित भएका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा खड्का पराजित भए।

२०७४ सालमा वाम गठबन्धन हुँदा राप्रपालाई सघाएको कांग्रेसले २०७९ मा एकीकृत समाजवादीलाई छाडेको थियो। यही कारण पनि त्यहाँका कांग्रेसी मतदाता असन्तुष्ट थिए।

दुई पटक ‘रूख’ चिह्नमा मतदान गर्नै नपाएका मतदाताले यसपटकको प्रतिनिधिसभा चुनावमा भने बासनालाई उम्मेदवारका रूपमा पाएका थिए।

बासनाको संसदीय राजनीतिक यात्रा सहज थिएन। उनी लामो समयदेखि राजनीतिमा सक्रिय नेतासँग चुनाव लड्दै थिइन्। यसपटक दैलेख १ मा एमालेबाट पुराना राजनीतिज्ञ रवीन्द्रराज शर्मा मैदानमा रहँदा नेकपाबाट यसअघिका निर्वाचित नेता अम्मरबहादुर थापा बासनासँग प्रतिस्पर्धामा थिए।

दुई नेतालाई पराजित गरी बासना निर्वाचित भइन्। उनको यो जित यसपटक कांग्रेसका लागि र कर्णालीबासीकै लागि नयाँ थियो। कर्णाली प्रदेशबाट यसभन्दा पहिले कोही पनि महिला प्रत्यक्ष रूपमा चुनिएका थिएनन्। ‘कर्णालीबाट प्रत्यक्ष चुनाव जित्ने पहिलो महिला मै हुँ। ठूला दलले त महिलालाई खासै उम्मेदवार बनाएका छैनन्’, बासना भन्छिन्।

कर्णाली आफैँमा दुर्गम छ र यहाँ गरिबीको स्तर उच्च छ।  महिलापुरुषबीच विभेद उत्तिकै छ। त्यही भूमिमा बासना भने अपवाद बनिन् र चुनाव जितिन्। ‘मेरो जित समग्र कर्णालीकै लागि नयाँ हो’, बासना भन्छिन्। यतिबेला दैलेखबासी बासनाको जितमा रमाएका छन्। लामो समय हार सहेका उनीहरूले यसपटक युवाको प्रतिनिधिका रूपमा बासनालाई सदनमा पठाएका छन्।

‘हामीले धेरै पटक हार्‍यौँ तर यसपटक संकटमा पनि जित भयो’, उनी सम्झिन्छिन्। यसपटक कांग्रेसका लागि ज्यादै सकसपूर्ण समय थियो। एकातिर पार्टी विवादमा रुमलिएको थियो भने अर्कातिर रास्वपाको हावा फैलिएको थियो।

दैलेखमा पनि रास्वपाको ‘घण्टी’ को आवाज नपुग्ने कुरै भएन। तर बासना डटेर लागिन्। पहिलो कुरा उम्मेदवार सिफारिस गर्दा दैलेख १ बाट १३ जना कांग्रेसका नेताहरूको नाम पठाइएको थियो। बासनालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गर्‍यो। ‘टिकट पाउँछु भन्नेमा म ढुक्क थिएँ। तर मलाई कसरी आन्तरिक समस्या मिलाउने भन्नेचाहिँ समस्या थियो’, बासना सम्झिन्छिन्। विशेष महाधिवेशनको धङधङी दैलेखमा पनि परेको थियो। उनी भने विशेष महाधिवेशन पक्षमै थिइन्। तर पनि अन्य नेताले उनको नाममा समर्थन जनाए।

‘अरूले आफ्नो नाम नआए पनि मलाई सहयोग गर्नुभयो। खास गाह्रो भएन’, बासना भन्छिन्। आन्तरिक विवाद साम्य पार्दै चुनावी प्रचार बढाउन बासनाको टिम लाग्यो। ‘दैलेखका जनता एकदमै सचेत छन्। कसलाई जिताउँदा आफ्नो प्रतिनिधित्व हुन्छ भन्ने बुझ्नुभएको छ’, बासना भन्छिन्।

हजुरबाको विरासत र विवाहपछि थालेको राजनीति

बासनाका अभिभावक राजनीतिमा संलग्न थिए। उनका हजुरबुवा नरबहादुर थापा क्षेत्री २०१५ को चुनावमा काठमाडौँ उपत्यका पश्चिम (हालको काठमाडौँ २ मा पर्ने क्षेत्र) बाट निर्वाचित भएका थिए। तत्कालीन नेपाल राष्ट्रवादी गोर्खा परिषद्‌बाट उनी निर्वाचित बने पनि सोही पार्टी पछि कांग्रेसमा विलय भयो। बासनाका बुवा होमविक्रम प्रधानपञ्च थिए। उनका काका गाविस अध्यक्ष बने। यसैले बासनालाई राजनीति सिक्न टाढा जानुपरेन। ‘म सानै हुँदा बुवा बित्नुभएका कारण खासै बुवाबाट धेरै कुरा सिक्न पाइनँ। हजुरबुवाले धेरै कुरा सिकाउनुभयो’, बासना सम्झिन्छिन्।

राजनीतिक चेत घरबाटै फैलिए पनि बासनाको राजनीतिक सक्रियताचाहिँ विवाहपछि मात्र सुरु भयो। २१ वर्षको उमेरमा उनी काठमाडौँबाट विवाह भएर दैलेख पुगिन्। ‘सानै उमेरमा विवाह भएकाले पनि राजनीतिमा सक्रिय हुन पाएकी थिइनँ। विवाहपछि चाहिँ दलको सदस्य बनेकी हुँ’, उनी भन्छिन्।

अधिकांश महिलाको राजनीति विवाह गरेपछि सकिन्छ। उनीहरूले घरपरिवारलाई समय दिनुपर्ने बाहनामा राजनीतिक जीवन त्याग्छन्। बासना अपवाद देखिइन्। उनी विवाहपछि दैलेखको नारायण क्याम्पसमा स्ववियु सदस्य बनिन्। सोही क्याम्पसमा स्ववियु सल्लाहकारका रूपमा उनले दुई कार्यकाल बिताइन्। उनी २०६२ सालमा कांग्रेसको क्रियाशील सदस्य बनिन्।

‘म २०६४ सालको चुनावमा गणेशबहादुर खड्काको चुनावी गतिविधिमा होमिएँ। त्यसपछि मलाई धेरैले चिन्न थाल्नुभयो।मैले पनि चिनिने गरी काम गर्न सकेछु भन्ने लाग्छ’, उनी भन्छिन्।

बिपनाको बाटो नसमातेकी बासना

बासना काठमाडौँमै जन्मेकी हुन्। आर्थिकदेखि राजनीतिक रूपमा सबल रहेको परिवारमा बासनाका लागि पनि विभिन्न अवसर थिए। दिदी विपना थापा कलाकारिता क्षेत्रमा रमाइन्। बासना त्यता लागिनन्। ‘सबैको इच्छा आआफ्नै हुन्छ। मैले कलाकारिताको बाटो चाहिनँ’, बासना भन्छिन्। उनी सानैबाट राजनीति गर्न चाहन्थिइन्। उनका हजुरबुवाले समाजलाई पुर्‍याएको योगदान र सहयोगबाट बासना प्रभावित थिइन्। उनलाई हजुरबुवा जस्तै बन्ने रहर थियो। ‘मैले धेरै कुरा हजुरबाबाटै बुझेकी थिएँ। उहाँबाट प्रभावित भएँ’, उनी भन्छिन्।

बासनाले पटकपटक चुनाव हारिन्। चाहे आन्तरिक (पार्टीभित्र) वा बाह्य उनी पराजित बनिन्। तर पनि उनले राजनीतिक कर्तव्य भुलिनन्। उनी २०७४ सालमा नारायण नगरपालिकाको उपमेयरमा निर्वाचित हुन सकिनन्।

२०७८ सालमा काठमाडौँमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्यकी उम्मेदवार थिइन्। तर पराजित भइन्। त्यसपछि कांग्रेस नेतृत्वले उनलाई प्रदेशमा समानुपातिक सांसद बन्न प्रस्ताव गरेको थियो। बासनाले त्यसलाई अस्वीकार गरिन्। प्रत्यक्षमै लड्ने अड्डी कसिन्। ‘मैले समानुपातिकमा जान चाहिनँ। म प्रत्यक्षमै चुनाव लड्छु भनेर भनेँ’, उनी भन्छिन्। यसैले पनि यसपटक उनको नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि आएको थियो। ‘नेतृत्वमा जो आए पनि मैले टिकट पाउँछु भन्नेमा म ढुक्क थिएँ’, बासना थप्छिन्।

‘संसद्‌मा रचनात्मक भूमिका खेल्छु’

बासना अब कर्णालीका सकसपूर्ण विषयलाई संसद् पुर्‍याउने जिम्मेवारी रहेको बताउँछिन्। ‘सबै कुरामा हाम्रो विरोध हुन्न। सरकारले रचनात्मक काम गरे हामीलाई मान्य हुन्छ’, बासना भन्छिन्, ‘सरकारले गलत काम गर्‍यो भनेचाहिँ हामीले पनि आवाज उठाउनेछौँ।’ बासनाले दैलेखको मात्र आवाज बोलेर हुने छैन यसपटक। ‘म त कर्णालीकै एक मात्र महिला निर्वाचित हुँ। मैले सबैका विषयमा बोल्नुपर्छ’, उनी भन्छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast