फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय सरकारले गरेको गलत कामहरू प्रदेश र स्थानीय सरकारलाई नगर्न आग्रह गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित ‘ग्रीन टेबल’ छलफल श्रृंखलाअन्तर्गत सुकुम्बासी समस्यासम्बन्धी कार्यक्रममा सभापति थापाले संघीय सरकारले गरेका कमजोरी प्रदेश र स्थानीय सरकारले दोहोर्याउन नहुने बताएका हुन्।
उनले सुकुम्बासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनका नाममा कानुनभन्दा बाहिर गएर डोजर चलाउने शैली स्वीकार्य नहुने स्पष्ट पारे।
सभापति थापाले डोजर चलाउने हल्ला र त्रासको पछि नलाग्न आग्रह गर्दै कानुनी, नीति र योजनाका आधारमा मात्रै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए। कानुनले दिएको अधिकारभन्दा बाहिर गएर केही पनि गर्न नहुने उनको भनाइ थियो।
सभापति थापाले दशकौँदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या बल प्रयोगबाट नभई योजनाबद्ध र मानवीय ढंगले समाधान गर्नुपर्नेमा जोड दिए।
वास्तविक सुकुम्बासीको पहिचान, सुरक्षित पुनर्वास, आधारभूत सेवाको सुनिश्चितता र दीर्घकालनि व्यवस्थापनलाई केन्द्रमा राखेर मात्रै कदम चाल्नुपर्ने उनले बताए।
पार्टीले यस विषयमा छुट्टै टोली बनाएर अनगुमन र मूल्यांकन गरिरहेको जानकारी दिँदै ग्रिन टेबलको छलफलबाट आएका सुझावका आधारमा सबै प्रदेश तथा स्थानीय सरकारलाई औपचारिक पत्राचार गरिने जानकारी दिए।
कांग्रेसले ‘ग्रीन टेबल’ कार्यक्रममार्फत नीति निर्माण र जनसरोकारका विषयमा खुला संवाद अघि बढाउन थालेको छ। पार्टीभित्र मात्रै सीमित रहने परम्परागत छलफलभन्दा फरक शैलीमा विज्ञ र सरोकारवालासँग प्रत्यक्ष बहस सुरू गरिनुलाई राजनीति वृत्तमा अर्थपूर्ण पहलका रुपमा हेरिएको छ।



