काठमाडौँ- सरकारले शैक्षिक सत्र २०८३ देखि विद्यालयहरूमा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनका लागि निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार एक सूचना जारी गर्दै देशभरका शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह र विद्यालयहरूलाई मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न परिपत्र गरेको हो।
मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णयअनुसार नयाँ शैक्षिक सत्रदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ। सोही निर्णयलाई आधार मानी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैशाख २८ गतेको बैठकले शैक्षिक संस्थाहरूमा स्वीकृत पाठ्यक्रमले तोकेको कार्यघण्टा प्रभावित नहुने गरी पठनपाठन व्यवस्थापन गर्ने निर्णय गरेको थियो।
केन्द्रका अनुसार अब सोमबारदेखि शुक्रबारसम्म विद्यालयमा पूरा समय पठनपाठन सञ्चालन गर्नुपर्नेछ। दुई दिन बिदा दिँदा घट्न जाने पठनपाठनको समय पूर्ति गर्न हिउँदे र वर्खे बिदाको अवधिमा कटौती गरिएको छ।
साविकमा दिइँदै आएको ४५ दिनको हिउँदे/वर्खे बिदालाई अब ३० दिनमा झारिएको केन्द्रका निर्देशक डा. श्यामप्रसाद आचार्यले जानकारी दिए। नयाँ व्यवस्थाअनुसार विद्यालयले प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्नेछ।
त्यस्तै पहिलो र दोस्रो त्रैमासिकको आन्तरिक मूल्यांकन पठनपाठन भएकै दिन वा पढाइमा असर नपर्ने गरी मिलाउन निर्देशन दिइएको छ। शैक्षिक सत्रको अन्त्यमा हुने अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि भने बढीमा १२ दिन मात्र उपयोग गर्न पाइनेछ।
विद्यार्थीहरूको सिकाइलाई प्रभावकारी बनाउन शुक्रबारका दिन समुदाय र परिवारसँग सम्बन्धित क्रियाकलाप, परियोजना कार्य तथा प्रयोगात्मक कार्यहरू दिनुपर्ने केन्द्रको भनाइ छ। यस्ता कार्यका लागि पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ को सहयोग लिन सकिने र स्थानीय तह एवं विद्यालयले आफ्नै परियोजना कार्य निर्माण गरी कार्यान्वयन गर्न सक्ने व्यवस्था मिलाइएको छ।




