काठमाडौँ- नेपाली कांग्रेसकी सहमहामन्त्री डा.डिला संग्रौला पन्तले प्रधानन्यायाधीश नियुक्ति सिफारिस प्रक्रियामा स्थापित वरिष्ठताको परम्परा मिचिएको भन्दै सरकारको आलोचना गरेकी छन्।
बिहीबार संवैधानिक परिषद् बैठकले न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि प्रतिक्रिया दिँदै संग्रौलाले चौथो वरीयताका न्यायाधीशलाई अघि सारिनु विधिको शासनमाथिको सिधा प्रहार भएको बताइन्।
उनले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषद्को निर्णयलाई स्वेच्छाचारिताको पराकाष्ठाको संज्ञा दिँदै न्यायपालिकालाई आफ्नो अनुकूल बनाउने र ‘सेटिङ’ चलाउने प्रयास भएको आरोप लगाइन्।
‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा स्थापित वरिष्ठताको परम्परा मिच्दै चौथो वरीयताका न्यायाधीशलाई सिफारिस गरिनु विधिको शासनमाथि सिधै प्रहार हो’ उनले भनिन्।
संग्रौलाले न्यायालयको गरिमा जोगाउन तथा उक्त निर्णयविरुद्ध नेपाली कांग्रेस दृढतापूर्वक उभिने चेतावनीसमेत दिइन्।



