काठमाडौँ- काठमाडौँमा गरगहना र मोबाइल चोरी गरी सुन पगाली स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले फागुन २८ गते चन्द्रागिरि नगरपालिका-१५, तिनथानास्थित एक घरबाट १.५ तोलाको सुनको सिक्री, १ तोलाको औँठी, आधा तोलाको झुम्का एक जोर, आधा तोलाको माइली तिलहरी, २ थान मोबाइल र नगद ५ हजार रुपैयाँ चोरी भएको उजुरीका आधारमा अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा उक्त चोरी घटनामा संलग्न व्यक्तिहरूले सुनका गरगहनालाई पगाली स्वरूप परिवर्तन गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ। सोही आधारमा खोजतलास गर्दा चैत १० गते काठमाडौँ महानगरपालिका-२६, गल्कोपाखा स्थित बागमती ड्राइभिङ सेन्टर अगाडिबाट ५ जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीहरूको साथबाट चोरी भएका २ थान मोबाइल, पगालिएको अवस्थामा रहेको २३.३० ग्राम पहेँलो धातु (सुन जस्तो देखिने) तथा चोरीमा प्रयोग गरिएको बा ६६ प १७६६ नम्बरको मोटरसाइकल बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना-७ घर भई तारकेश्वर-१० शेषमती बस्ने २२ वर्षीय प्रशन्न अधिकारी, नवलपरासी (पूर्व) कावासोती-१७ घर भई महानगर-२६ म्हेपी बस्ने २८ वर्षीय प्रदीप गुरुङ, ओखलढुंगा खिजीदेम्बा-९ घर भई सामाखुशी बस्ने २९ वर्षीय लाक्पा शेर्पा, रसुवा नौकुण्ड-५ घर भई म्हेपी बस्ने २८ वर्षीय सागर कामी तथा भारत महाराष्ट्र सोलापुरका २८ वर्षीय गौरव गुणाजी मोरे रहेका छन्।
उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




