एक अर्ब ५७ करोड हुण्डी कारोबार आरोपमा विराटनगरका दुई पक्राउ

हिमाल प्रेस २ असोज २०८३ ९:०५ | Friday, September 18, 2026
एक अर्ब ५७ करोड हुण्डी कारोबार आरोपमा विराटनगरका दुई पक्राउ

इटहरी- हुण्डीमार्फत एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार तीन सय ४० रुपैयाँ ८१ पैसा कारोबार गरेको आरोपमा प्रहरीले मोरङका दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर-१७ का ३५ वर्षीय सुरज प्रसाद साह रहेका छन्।

प्रहरीका अनुसार केही व्यक्तिले हुण्डी कारोबार गर्दै आएको सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा उनीहरू अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी ठूलो रकमको कारोबारमा संलग्न रहेको देखिएको हो।

अनुसन्धानका क्रममा उनीहरूले एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार तीन सय ४० रुपैयाँ पैसा बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।

हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूलाई असोज १ गते पक्राउ गरेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका दुवैजनामाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डीसम्बन्धी कारोबार गर्न नहुने, संगठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ असोज २०८३ ९:०५ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast