काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहसँग रसुवा र नुवाकोटका बाढीपीडितको अवस्थाबारे छलफल गर्न सिंहदरबार पुगेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्।
बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था र पुनःस्थापनाबारे प्रधानमन्त्रीसँग छलफल गर्न सिंहदरबार पुगेका तामाङलाई बैठक सकिएलगत्तै नेपाल प्रहरीले पक्राउ गरेको हो।
तामाङविरुद्ध बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट यसअघि नै पक्राउ पुर्जी जारी भएको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको पत्रअनुसार अदालतले वैशाख २८ गते तामाङलाई पक्राउ गर्न अनुमति दिएको थियो।
प्रहरीको पत्रमा तामाङ नुवाकोटको किस्पाङ गाउँपालिका-३ का बासिन्दा तथा हाल काठमाडौँ महानगरपालिका-१६, नयाँबजारमा बस्दै आएको उल्लेख छ।
उनी ओसियन ट्रान्सपोर्ट एन्ड एडभेन्चर प्रालिका सञ्चालकसमेत रहेको पत्रमा जनाइएको छ। अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा अनुसन्धानका लागि तामाङलाई पक्राउ गर्न प्रहरीलाई अनुरोध गरिएको थियो।
सोही आधारमा सिंहदरबारमा प्रधानमन्त्रीसँगको बैठक सकिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतले पक्राउसम्बन्धी पत्रमा बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा तामाङलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाउन भनिएको उल्लेख गरेका छन्।



