आज र भोलि देशभर हुरीसहित वर्षा र हिमपातको सम्भावना

हिमाल प्रेस ६ चैत २०८२ ६:१७ | Friday, March 20, 2026
12
SHARES
आज र भोलि देशभर हुरीसहित वर्षा र हिमपातको सम्भावना फाइल तस्बिर

काठमाडौँ- देशका विभिन्न क्षेत्रमा आज र भोलि हावाहुरीसहित वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने देखिएको छ।

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई हावाहुरी र वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने चेतावनी दिइएको छ।

राति पनि देशभर बदली रहने र कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहने विभागले जनाएको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरी र वर्षाको जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ।

आज दाङ र नेपालगन्ज आसपासका लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा भोलि विराटनगर, धनकुटा र धरान आसपासका पूर्वी जिल्लामा तीव्र हावाहुरी (झन्डै ११९ किमि प्रतिघण्टा) चल्ने सम्भावना रहेको बताइएको छ।

प्रिमनसुन अवधिमा यस्ता हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहने प्राधिकरणले जनाएको छ।

सुरक्षाका लागि हावाहुरी चल्दा घरका झ्यालढोका मजबुत रूपमा बन्द गर्न, आगोका स्रोत बन्द गर्न, सवारी चलाइरहेको भए सुरक्षित स्थानमा रोकिन, भीडभाडमा आत्तिन नहुने तथा विस्तारै सुरक्षित स्थानतर्फ सर्न सुझाव दिइएको छ।

कमजोर संरचना, अग्ला रुख तथा बिजुलीका खम्बा र तारमुनि नबस्न, लत्रिएको तार नछुन र सम्भव भएसम्म विद्युतीय उपकरण प्रयोग नगर्न पनि आग्रह गरिएको छ।

प्रकाशित: ६ चैत २०८२ ६:१७ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast