पितृकार्यमा केपी ओलीको निष्ठा

विष्णुप्रसाद पोखरेल ३ चैत २०८२ १७:१७ | Tuesday, March 17, 2026
266
SHARES
पितृकार्यमा केपी ओलीको निष्ठा

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली (केपी ओली) यतिबेला पितृशोकमा छन्। स्वर्गीय पिता मोहनप्रसाद ओलीको निधनपछि आशौचमा रहेका उनले गरिरहेको पितृकार्यलाई लिएर सार्वजनिक वृत्तमा व्यापक टीकाटिप्पणी भइरहेको छ। कतै समर्थनका स्वर सुनिन्छन् भने कतै आलोचना उत्तिकै मुखर देखिन्छ।

मातापिताको क्रियाकर्म गर्ने वा नगर्ने विषय नेपाली समाजमा नयाँ बहस होइन। दक्षिणपन्थी र वामपन्थी दुवै धारका व्यक्तिहरू यस बहसमा समयसमयमा तानिँदै आएका छन्। इतिहासतर्फ फर्केर हेर्दा बीपी कोइरालाले पिताको क्रिया गरेनन्। माधवकुमार नेपालले बाबुको क्रिया गरेनन्। प्रदीप नेपालले त ‘मेरो क्रिया नगर्नू’ भन्ने विचारसहित जीवन बिताएका थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना बाबु, पत्नी र छोराको क्रियाकर्म गरेनन् वा गराएनन्। बाबुराम भट्टराईको सन्दर्भ पनि परम्परागत अभ्यासभन्दा फरक रूपमा प्रस्तुत हुन्छ।

यस्ता उदाहरणहरू नेपाली समाजमा दृश्य र अदृश्य दुवै रूपमा प्रशस्त छन्। विडम्बना के छ भने आफ्नै जीवनमा परम्परागत संस्कारबाट विमुख हुनेहरू सार्वजनिक रूपमा अरूलाई अर्तीउपदेश दिन अग्रसर देखिन्छन्। विचारका नाममा परम्परा अस्वीकार गर्ने र व्यवहारमा त्यसैबाट लाभ लिने प्रवृत्तिले समाजमा दोहोरो मापदण्ड संस्थागत गरिरहेको छ।

मानिस आफ्ना मातापिताको जैविक अंशबाट जन्मिन्छ- यो सामान्य सत्य हो। तर यही आधारभूत यथार्थलाई बेवास्ता गर्दै परम्परागत संस्कारलाई केवल रूढि भनेर खारेज गर्नु बौद्धिक इमानदारी होइन। मृत्युपछि पनि आत्मिक सम्बन्ध सन्तानमार्फत कायम रहने विश्वास नेपाली समाजमा गहिरो रूपमा स्थापित छ। यही विश्वासले क्रियाकर्मजस्ता संस्कारलाई निरन्तरता दिएको छ।

सूक्ष्म शरीर, आत्मा र पुनर्जन्मजस्ता अवधारणालाई आधुनिक विज्ञानले पूर्ण रूपमा पुष्टि नगरेको हुन सक्छ, तर तिनलाई सम्पूर्ण रूपमा अस्वीकार गर्ने आधार पनि स्पष्ट छैन। त्यसैले परम्परागत धार्मिक कृत्यहरूलाई एकै झट्कामा अवैज्ञानिक भनेर खारेज गर्नु भन्दा तिनको सांस्कृतिक र मनोवैज्ञानिक पक्षलाई बुझ्नु आवश्यक छ।

यी संस्कारहरू सनातन धर्ममा मात्र सीमित छैनन्। अन्य धर्म र समुदायमा पनि मृत्युपछि गरिने विधिविधान उत्तिकै महत्त्वका साथ पालना गरिन्छन्। तर जब राजनीतिक स्वार्थको कुरा आउँछ, त्यही व्यक्ति मन्दिर, चर्च वा मस्जिद पुग्न कुनै हिच्किचाहट देखाउँदैन। यसले देखाउँछ- समस्या संस्कारमा होइन, हाम्रो दृष्टिकोणमा छ।

अब केपी ओलीको प्रसंगमा जाँदा, उनी व्यक्तिगत रूपमा परम्परागत संस्कारमा गहिरो रूपमा अभ्यस्त व्यक्ति होइनन्। एक त उनी वामपन्थी राजनीतिको शीर्ष तहमा आबद्ध व्यक्ति हुन्। सार्वजनिक जीवनमा उनले दसैँमा बाबुको हातबाट टीका लगाउने, तिहारमा दिदीबहिनीसँग भाइटीका लगाउने, पशुपतिनाथलगायतका धार्मिक स्थलमा उपस्थिति जनाउने र भोटो जात्राजस्ता सांस्कृतिक कार्यक्रममा सहभागी हुने अभ्यास देखिँदै आएको छ।

पिता मोहनप्रसाद ओलीको निधनपछि उनले गरिरहेको पितृकार्य पनि यही निरन्तरताको एक रूप हो। शारीरिक असहजता हुँदाहुँदै उनले दशगात्रादि कर्ममा सहभागिता जनाइरहेका छन्। गुरुवचनअनुसार स्नान र नियम पालन गरिरहेका छन्। खानपिनमा संयम र अलग बसाइ छ। यी सबै विधि उनले आफ्नो शारीरिक क्षमताअनुसार निर्वाह गरिरहेका छन्।

धोती फेर्नका लागि ओलीको हातले दिँदो रहेनछ। उनी भुइँमा पलेटी मारेर बस्न पनि सक्दैनन्। तापनि उनले सकेजति कर्म गरिरहेका छन्। ओली भुइँमा सुतेका छन्।   शुभचिन्तक आउँदा टेक्ने दरी, टेबल र कुर्ची भिन्नै छ। उनी प्रातःकालीन कर्म दशगात्रादि र सायंकालीन कर्ममा उपस्थित भएका छन्।

उमेर र स्वास्थ्यका कारण सबै विधि पूर्ण रूपमा पालना गर्न नसक्ने अवस्था हुँदाहुँदै पनि सकेजति कर्म गर्नु ओलीले देखाएको संस्कारप्रतिको निष्ठा हो। यही सन्दर्भमा उनकी पत्नी राधिका शाक्यले विधि नछुटाईकन कर्म सम्पन्न गराउन देखाएको सक्रियता प्रशंसनीय छ।

व्यक्तिको धार्मिक अभ्यासलाई लिएर सार्वजनिक बहस हुनु स्वाभाविक हो। तर त्यस्तो बहस तथ्य, संवेदनशीलता र सन्तुलनमा आधारित हुनुपर्छ। व्यक्तिगत संस्कारलाई राजनीतिक चस्माबाट मात्र हेर्ने प्रवृत्तिले समाजलाई अझ विभाजित बनाउँछ।

‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् शरीर नै धर्म आचरणको आधार हो। आफ्नो स्वास्थ्यको ख्याल राख्दै कुलधर्म निर्वाह गर्नु कुनै दोष होइन, बरु जिम्मेवारी हो। केपी ओलीले यस सन्दर्भमा आफ्नो कर्तव्य पूरा गरिरहेका छन् भन्ने देखिन्छ। पितृदेवो भव!

प्रकाशित: ३ चैत २०८२ १७:१७ | Tuesday, March 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast