काठमाडौँ- फिल्म ‘लालीबजार’ को गीत ‘मायालाई के दिऊँ म बैना’ दर्शकको रोजाइमा परेको छ। गत फागुन २९ मा सार्वजनिक गरिएको गीतमा अहिलेसम्म साढे १४ लाख भ्युज बटुलिसकेको छ।
युट्युबसँगै गीतमा टिकटक र रिल्स बनाउनले दर्शक पनि बढिरहेको निर्माण टिमले जनाएको छ।
गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाको नृत्यले पनि चर्चा पाइरहेको छ। उनीहरूले गरेकै स्टेपमा टिकटक भिडिओ, फेसबुक रिल्समा बनाउने प्रयोगकर्ता बढिरहेका छन्।
प्रयोगकर्ताहरूले समाइरा र स्वस्तिमाको नृत्य शैली, गायक र गायिकाको आवाजको खुलेर तारिफ गरेका छन्। उनीहरूले फिल्ममा लोकभाकाको प्रयोग गरिएको भन्दै निर्माण समूहलाई धन्यवाद पनि दिएका छन्।
फिल्मका निर्देशक यम थापाले कथाको परिवेश अनुसार गीत तयार गरिएको बताए। ‘यो गीत कथासँग जोडिएर आएको छ। हामीले यसलाई कथा भन्दा फरक नबनाएर कथालाई अगाडि बढाउने गरी तयार गरेका छौँ,’ निर्देशक थापाले भने, ‘अहिले गीतलाई दर्शकले दिनुभएको मायाले हामी हर्षित भएका छौँ।’
अभिनेत्री खड्काले गीत निर्माणको विषयमा कुराकानी गर्दै गीतको तयारी दृश्यकै छायांकनको बीचमा गरिएको बताइन। गीतकाे भिडियाेमा बालकलाकार समाइराकाे अभिनयकाे उनले प्रशंसा समेत गरिन्। भनिन्, ‘हाम्री बालकलाकार समाइराले गज्जब नृत्य गरेकी छिन्। उनको कामले पनि मलाई प्रेरणा मिल्थ्यो। नानीको काम देखेर मैले पनि मेहनत गर्नुपर्छ भन्ने लाग्थ्यो।
सबैको प्रयासले गीत राम्रो बनेकाे र अहिले दर्शकले रुचाएकोमा मेहनतको फल पाएको आभास भएको उनकाे भनाइ थियाे।
प्रदीप लामाले कोरियोग्राफी गरेको गीतमा दीपिका बयाम्बु मगर र खेम सेञ्चुरीको स्वर छ। खेम सेञ्चुरीकै संगीत रहेको गीत रमेश बिजीले लेखेका हुन्।
षट्कोण आर्टसले निर्माण गरेको फिल्म आगामी वर्ष २०८३ साल वैशाख १८ मा प्रदर्शन हुनेछ। फिल्म बर्दियाको राजापुरमा छायांकन गरिएको हो।
स्वस्तिमा र समाइरासँगै फिल्ममा रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टललगायत कलाकारले अभिनय गरेका छन्।
यही फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन्। विशाल थियटरमा काम गरिरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभियान्ताका रुपमा चर्चित छिन्।
निर्देशक यमकै कथामा बनेको फिल्मको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन्। फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता हुन्।




