चेपुवामा गगन थापा

धैर्यकान्त दत्त २९ फागुन २०८२ १३:१२ | Friday, March 13, 2026
26
SHARES
चेपुवामा गगन थापा

काठमाडौँ– राजनीतिक दलहरू फागुन २१ को चुनावको तयारीमा जुटिरहँदा मंसिर-पुसमा नेपाली कांग्रेस आन्तरिक किचलोमा अड्किएको थियो। आन्तरिक किचलोको विषय थियो- पुसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन।

तत्कालीन सभापति शेरबहादुर देउवानिकट नेताहरू फागुन २१ को चुनाव सम्पन्न गरेर आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने अडानमा थिए। जबकि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माहरू विशेष महाधिवेशका पक्षमा उभिए।

नियमित र विशेषको संघर्षमा गगन र विश्वप्रकाशहरूको जित भयो। यहाँसम्म कि देउवानिकट कैयौँ नेताहरूसमेत विशेष महाधिवेशनकै पक्षमा उभिए। नियमित र विशेष महाधिवेशनको रस्साकस्सीबीच १ माघमा गगन कांग्रेसको सभापतिमा निर्वाचित भए। अन्य नेताको उम्मेदवारी नपरेपछि विशेष महाधिवेशनले गगन सभापतिमा निर्वाचित भएको घोषणा गर्‍यो।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन दर्ताका लागि पाँच दिन बाँकी छँदा विशेष महाधिवेशनबाट नयाँ सभापति चुनिएपछि कांग्रेस झनै विवादमा फस्यो। विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिएको विरोधमा देउवानिकट नेताहरू सर्वोच्च अदालत पुगे। यो विषय अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ।

विशेष महाधिवेशन गरेर चुनावमा जाँदा परिणाम नकारात्मक आउने दाबी तत्कालीन सभापति देउवानिकट नेताहरूले गरेका थिए। जबकि गगन र विश्वप्रकाशहरू ‘कांग्रेस फेरिएर आएको’ सन्देश दिन पनि विशेष महाधिवेशनको विकल्प नभएको दाबी गरे। चुनाव प्रचारका बेला पनि यी नेताहरूले कांग्रेस सच्चिएर आएको र अरूभन्दा नयाँ दल रहेको मतदातामाझ प्रस्ट पार्ने प्रयास पारे।

तर देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को लहर चलिरहेका बेला फागुन २१ को चुनावमा कांग्रेसले नराम्रो हार बेहोर्नुपर्‍यो। प्रत्यक्षतर्फ १८ सिटमा सीमित कांग्रेसले समानुपातिकमा पनि ठूलो क्षति बेहोर्नुपरेको छ।

समानुपातिकतर्फ रास्वपाले ५१ लाख ८३ हजार ४९३ (४७.८४ प्रतिशत) मत पाउँदा कांग्रेसले १७ लाख ५९ हजार १७२ (१६.२३ प्रतिशत) मात्रै पाएको छ। जबकि २०७९ सालको निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ २६ लाख ६६ हजार २६२ र रास्वपाले ११ लाख ६२ हजार ९३९ मात प्राप्त गरेका थिए।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसलाई धक्का लागेको छ नै, सभापति गगन आफैँ पनि पराजित भएका छन्। आफ्नो पारम्परिक निर्वाचन क्षेत्र काठमाडौँ-४ छोडेर सर्लाही-४ झरेका उनलाई रास्वपा नेता अमरेशकुमार सिंहले पराजित गरेका हुन्।

सिंहले ३७ हजार ६८८ मत ल्याउँदा गगनको २२ हजार ८३१ मत थियो। सिंह र थापाको मतान्तर १२ हजार ८५७ मत थियो।

चुनाव लड्न पहिलोपटक मधेश झरेका कांग्रेस सभापति गगनलाई सर्लाही-४ का मतदाताले पत्याएनन्। गगनले चुनाव लडेको मधेश प्रदेशका ३२ मध्ये एक सिटमा मात्रै कांग्रेसले जित निकाल्यो, रौतहट-२ बाट। त्यस क्षेत्रबाट कांग्रेसका दिवंगत नेता आफताब आलमका छोरा फिरदोस आलमले चुनाव जितेर मधेशमा कांग्रेसको साख र परिवारको विरासत जोगाइदिएका छन्।

चुनावमा कांग्रेसको ‘लज्जास्पद’ हारसँगै विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन पार्टीभित्रै निसानामा पर्न थालेका छन्। खास गरेर निवर्तमान सभापति देउवानिकट नेताहरूले चुनावको परिणामको जिम्मेवारी लिँदै गगनको राजीनामा मागिरहेका छन्। जबजरजस्ती विशेष महाधिवेशन गर्न लगाएर परिणाम चुनावमा भोग्नुपरेको भनाइ उनीहरूको छ।

कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य जितजंग बस्नेत विशेष महाधिवेशनको कारणले पार्टीले पराजय बेहोर्नुपरेको भन्दै सभापतिले राजीनामा दिनुपर्ने बताउँछन्।

‘विशेष महाधिवेशनको औचित्य समाप्त भएको छ, चुनावमा एकजुट भएर जाऔँ भनेका थियौँ, अधिवेशन चुनावपछि गरौँ भनेका थियौँ,’ बुधबार राष्ट्रियसभा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘तर त्यो कुरा मानिएन, विशेष महाधिवेशनका नाममा एउटा भेला गरियो र पार्टी क्याप्चर गरियो। विशेष महाधिवेशनका कारणले आज हामी हारेका छौँ।’

बस्नेतले योजनाबद्ध ढंगबाट पार्टीलाई क्याप्चर गरिएको आरोप लगाए। उनले भने, ‘सेटिङअनुसार क्याप्चर भएको हो। मैले यो कुरा हिजो पनि भनेको हुँ, आज पनि भन्दै छु, भोलि पनि भन्छु, निर्वाचन आयोगमा सेटिङअनुसार क्याप्चर भएको हो।’

गगन आफैँ पनि सभापति पदबाट राजीनामा दिने ‘मुड’ मा पुगेका छन्। यस विषयमा उनले पार्टी उपसभापति विश्वप्रकाशसँग छलफलसमेत गरेका छन्। सोमबार उपभसापति विश्वप्रकाशसँग भएको छलफलका क्रममा गगनले पदबाट राजीनामा दिने बताएका थिए। विश्वप्रकाशले भने निर्वाचनमा आएकै परिणामका कारण राजीनामा नदिन सुझाव दिएको बताइएको छ।

नेता बस्नेतले भने सभापति पदबाट राजीनामा दिने विषयमा गगनले मिडिया ट्रायल गरिरहेको आरोप लगाएका छन्।

‘राजीनामा दिने नदिने मिडिया ट्रायल गर्ने भनेको व्यक्तिगत हिसाब हो,’ उनी भन्छन्, ‘मलाई लाग्छ उहाँले राजीनमा दिनु हुन्न, उहाँले मिडिया ट्रायल गरिरहनुभएको छ।’
चुनावमा नराम्रो हार बेहोरोपछि सभापति गगन भने नैतिक दबाबमा परेका छन्। उपसभापति विश्वप्रकाशसँगको भेटमा उनले भनेका थिए, ‘पार्टीले भोग्नुपरेको हारको जिम्मेवारी लिँदै मैले पद त्याग गर्नु उचित हुन्छ, राजीनामा दिन्छु।’

विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूले सभापति गगनको राजीनामा मागिरहँदा उपसभापति विश्वप्रकाशसहित पूर्वउपसभापति गोपालमान श्रेष्ठका साथै चन्द्र भण्डारी, रञ्जित कर्णलगायतका नेताहरूले राजीनामा समस्या समाधान नभएको तर्क गरेका छन्।

विश्वप्रकाशले कांग्रेस पराजित हुनुमा एक व्यक्तिमात्र जिम्मेवार नभएको तर्क गरेका थिए। पराजयको समग्र र सुक्षम समीक्षा गरेर अघि बढ्न उनले सुझाव दिएका थिए।

त्यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठ सभापतिको राजीनामा पार्टी र देशका लागि हितकर नहुने बताउँछन्। उनले भने, ‘गगन थापाकै नेतृत्वमा कांग्रेसीहरूले नयाँ ऊर्जा, आशा र रूपान्तरणको बाटो देखिरहेका छन्। यस कठिन घडीमा राजीनामा ल्याउनु वा राजीनामा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन।’

अहिले सभापतिले राजीनामा नदिई पार्टीलाई संगठित गरेर अगाडि बढ्नुपर्ने समय आएको उनको भनाइ छ।

विशेष महाधिवेशनकै पक्षमा खुलेकै अर्का नेता चन्द्र भण्डारी नैतिकताको नाममा सभापतिले राजीनामा दिनु समस्याको समाधान नभएको बताएका छन्। सभापतिले राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु उपयुक्त बाटो भएको उनको भनाइ छ।

‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन,’ गगनलाई खुलापत्र लेख्दै भण्डारीले भनेका छन्, ‘त्यसैले गगनकुमार थापाज्यूले नैतिकताका नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो।’

अहिलेको अवस्थामा कांग्रेस बचाउनु नैतिक दायित्व रहेको उनको भनाइ छ। ‘अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैँमा एक नैतिक दायित्व हो। आजको कटु यथार्थ के हो भने-युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो,’ भण्डारीले भनेका छन्, ‘यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन। नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ बिरूवा रोप्नैपर्छ।’

समस्या देखेर भाग्नु उपचार नभएको बताउँदै उनले उपचार गरेर संगठन जोगाउनुनै साँचो नेतृत्वको कर्तव्य भएको जिकिर गरेका छन्।

चुनावको परिणाम सार्वजनिक भएयता कांग्रेस सभापति गगन सार्वजनिक रूपमा कतै देखिएका छैनन्। यसबीचमा सामाजिक सञ्जालमार्फत पनि उनले आफ्नो धारणा सार्वजनिक गरेको देखिँदैन। विशेष महाधिवेशनअघि पटकपटक नेतृत्वलाई निशाना बनाइरहेका गगन यतिबेला आफैँ चेपुवामा परेका छन्।

कांग्रेसका पुराना नेताहरू शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, शेखर कोइरालाजस्ता नेताहरूको अनुहारलाई अघि सारेर चुनावमा जाँदा पार्टीलाई क्षति बेहोर्नुपर्ने तर्क गगनहरूले गरेका थिए। तत्कालीन केन्द्रीय समितिका बहुमत नेताहरू विशेष महाधिवेशनका पक्षमा उभिँदा पनि हठ गरेर गगन आफैँ सभापति बने। तर चुनावमा ‘सर्मनाक’ हार भोग्नुपरेपछि उनीमाथि पदबाट राजीनामा दिनुपर्ने नैतिक दबाबसमेत बढेको छ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल नयाँ र पुराना पुस्ताबीच विभाजनको रेखा कोेर्ने प्रयास हुँदा निर्वाचनमा कांग्रेसले लज्जास्पद हार भोग्नुपरेको बताउँछन्। ‘२०७८ सालयता नेपाली कांग्रेसभित्र नयाँ र पुरानो पुस्ताको विभाजनको रेखा कोर्ने काम हुँदा चुनावमा यो परिणाम आएको,’ उनले भने।

दाहालका अनुसार विशेष महाधिवेशनका नाउँमा पार्टीभित्रै नकारात्मक अभियान चलाएको कारण पनि कांग्रेसले चुनावमा हार बेहोर्नुपरेको हो। उनी भन्छन्, ‘विशेष महाधिवेशनका नाममा एउटा पक्षलाई अत्यन्तै अपमानित गर्ने र अर्को पक्षलाई भगवान् बनाउने प्रयत्न भयो, यसको असर चुनावमा देखिएको छ।’

पदबाट राजीनामा दिन दबाब बढिरहेका बेला दाहाल भने यो विषय सभापतिको नीजि विषय रहेको बताउँछन्। दुवै पक्षले आआफ्ना हिसाबले तर्क गरिरहे पनि अहिलेको कठिन परिस्थितिमा सभापतिले पार्टीलाई निकास दिनुपर्ने उनको भनाइ छ।

‘विशेष महाधिवेशनको वैधता स्वीकार गर्ने कि नगर्ने? त्यो वैधता छ भनेर मान्ने हो भने एउटा कुरा भयो, नमान्नेहरूले अर्को कुरा गर्लान्,’ उनी भन्छन्, ‘मलाई लागेको कुरा के हो भने- उहाँले किनारा लगाउनुपर्छ। बितेका कुराहरूलाई छोडेर सच्चाउन लाग्नुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast