काठमाडौँ- नेपालको राजनीतिक वृत्तमा यतिबेला एउटा नामको निकै गुञ्जिरहेको छ- बालेन्द्र शाह (बालेन)। र्यापरबाट राजनीतिज्ञ बनेका शाह, जसले देशको राजनीतिक परिदृश्यमा तीव्र गतिमा उचाइ हासिल गरेका छन्।
नेपालको भावी प्रधानमन्त्रीका रूपमा हेरिएका शाहले कुनै बेला बेंगलोरको निट्टे मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजी (एमएमआईटी) मा अध्ययन गरेका थिए। उनले त्यहाँबाट स्ट्रक्चरल इन्जिनियिरिङमा एमटेक अध्ययन गरेका हुन्।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर पहिचान बनाएका बालेनले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापा-५ बाट हराइदिएका छन्। उनी आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेनलाई चुनावअघि नै भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको थियो। दुईतिहाई नजिक पुगिसकेको रास्वपाका तर्फबाट बालेन प्रधानमन्त्री बन्ने लगभग पक्का भइसकेको छ।
बालेनलाई पढाएका एनएमआईटीका प्रध्यापकहरू यतिबेला आफूहरूले गर्व महसुस गरिरहेको बताएका छन्। एनडीटीभीसँगको कुराकानीमा उनीहरूले आफ्ना पूर्वविद्यार्थी नेपालको एक प्रमुख राजनीतिक व्यक्तित्वका रूपमा उभिएको देख्दा गर्व अनुभव गरिरहेको बताएका हुन्।
बालेनलाई ‘मेकानिक्स अफ डिफर्मेबल बडिज’ र ‘फाइनाइट एलिमेन्ट मेथड्स’ जस्ता विषय अध्यापन गराएका सिभिल इन्जिनियरिङ विभागका प्राध्यापक श्रेयस एभी उनलाई एक अनुशासित विद्यार्थीका रूपमा सम्झन्छन्।
उनका अनुसार बालेन सन् २०१६ मा अन्य दुई नेपाली विद्यार्थी सुनिल लम्साल र प्रवीण श्रेष्ठसँगै एनएमआईटीमा भर्ना भएका थिए। उनीहरू कलेजको पहिलो स्वायत्त ब्याचका विद्यार्थी थिए।
‘उनी यो उचाइमा पुगेको देख्दा हामी धेरै खुसी छौँ। उनीहरू धेरै समयनिष्ठ र आज्ञाकारी विद्यार्थी थिए। बालेन्द्र तीमध्ये शान्त विद्यार्थी थिए,’ प्राध्यापक श्रेयसले भने।
बालेनभित्र र्यापरको प्रतिभा लुकेको भए तापनि उनले क्याम्पसमा विरलै यो पक्ष प्रदर्शन गरेको श्रेयसको भनाइ छ। प्राध्यापकहरूका अनुसार कलेजमा अध्ययन गरिरहँदा बालेनले कुनै स्पष्ट राजनीतिक झुकाव देखाएका थिएनन्। बरू प्रध्यापकहरू उनलाई उनको शैक्षिक लगावका लागि सम्झन्छन्।
‘यहाँ विद्यार्थी हुँदा उनले प्रायः कुनै राजनीतिक झुकाव व्यक्त गरेनन् तर शैक्षिक रूपमा उनी धेरै गम्भीर थिए,’ प्राध्यापक श्रेयस भन्छन्।
एनएमआईटीका उपाध्यक्ष सन्दीप शास्त्रीले संस्थानले बालेनलाई आफ्नो गौरवशाली पूर्वविद्यार्थी मान्ने बताए। उनले बालेनको उदयलाई विश्वविद्यालयका लागि अर्को एउटा ‘शिरको गहना’ का रूपमा वर्णन गरे।
‘हाम्रो जस्तो संस्थाका लागि यो ठूलो सम्मानको कुरा हो कि आठ वर्षअघि यहाँ पढेका व्यक्ति छिमेकी देशको सरकारको नेतृत्व गर्न जाँदैछन्,’ उनले भने,‘उनी एक मेहनती विद्यार्थी थिए जसले आफ्नो काम समयमै पूरा गर्थे, आफ्नो इन्टर्नशिप राम्रोसँग गरे र धेरै अनुशासित थिए।’
बालेन राजनीतिमा प्रवेश गर्नुअघि नेपाली र्याप संगीतका लागि परिचित भए। उनका प्राध्यापकहरू भने बालेनले कहिल्यै पनि कलेजमा र्याप प्रदर्शन नगरेको बताउँछन्। प्राध्यापकहरूका अनुसार २४ जना विद्यार्थीहरूको सानो कक्षा भएकाले उनको कलात्मक पक्ष प्रायः निजी नै रह्यो।
यद्यपि एउटा शैक्षिक रूच ीभने स्पष्ट रूपमा देखिएको थियो, त्यो थियो- भूकम्प इन्जिनियरिङ। बालेनले यस विषयसँग सम्बन्धित परियोजनाहरूमा काम गरेका थिए। र, नेपालमा ठूलो भूकम्प गएको बेला यस क्षेत्रसँग सम्बन्धित इन्टर्नशिप पनि गरेका थिए। यसले आफ्नो देशमा योगदान पुर्याउने उनको चाहना व्यक्त गरेको संकायका सदस्यहरूको भनाइ छ।
र्यापरदेखि काठमाडौँका मेयर र अहिले एक राष्ट्रिय व्यक्तित्वका रूपमा बालेनको राजनीतिक यात्रा निरन्तर अघि बढिरहँदा एनएमआईटीले उनले कुनै दिन क्याम्पसमा पुनः स्वागत गर्न पाउँदा खुसी लाग्ने बताएको छ।
‘यदि उनी भारत भ्रमणमा आए भने, हामी निश्चित रूपमा उनलाई यहाँ निमन्त्रणा गर्न चाहन्छौँ। यो हाम्रा लागि सम्मान र हाम्रा विद्यार्थीहरूका लागि प्रेरणा हुनेछ,’ उपाध्यक्ष शास्त्रीले भने।





