जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा अझै मतगणना सुरु हुन सकेको छैन। उम्मेदवारको उम्मेदवारीसम्बन्धी अन्योलता सिर्जना भएपछि मतगणना सुरु हुन नसकेको हो।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत मनोज बरालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी रद्द भएपछि अन्योलता सिर्जना भएपछि मतगणना सुरु हुन नसकेको बताए।
पेसाले निर्माण व्यवसायी रहेका साह कालो सूचीमा परेको पुष्टि भएपछि निर्वाचन आयोगले उनको उम्मेदवारी रद्द गरेको थियो।
साहको उम्मेदवारी रद्द भए पनि धनुषा-१ मा रास्वपाको चुनाव चिह्नसहित मतपत्र पठाइएको थियो। उम्मेदवारी रद्द भएका साहको चुनाव चिह्नमा पनि मत खसेको हुन सक्ने अनुमान निर्वाचन अधिकृतको कार्यालयको छ।
उम्मेदवारी रद्द भएका रास्वपाको उम्मेदवारले पाएको मतलाई गणना गर्ने कि नगर्ने भन्ने निक्र्यौल नभएको बरालले बताए।
‘उम्मेदवारी रद्द भएका रास्वपाको उम्मेदवारले पनि मत पाएको हुनसक्ने हाम्रो अनुमान छ, त्यो मतलाई के गर्ने भन्नेबारे निर्क्याैल छैन,’ बरालले हिमालप्रेससँग भने,‘यो विषयमा हामीले निर्वाचन आयोगसँग निर्देशन माग गरेका छौँ। आयोगको निर्देशन प्राप्त भएपछि प्रक्रिया अगाडि बढ्छ।’
उनले यो विषयमा आयोगको बैठक बसे पनि निर्देशन आइनसकेको जानकारी दिए। बारलले भने,‘आयोगको बैठक बसेको जानकारी प्राप्त भएको छ। तर, निर्देशन आइसकेको छैन।’
निर्वाचन अधिकृतको कार्यालयले सूचना प्रकाशित गरेर आयोगको निर्देशन प्राप्त नभएकोले मतगणना सुरु गर्न नसकिएको जनाएको छ।
‘मतगणना सम्बन्धमा स्पष्ट निर्देशन पाउँ भनी श्री निर्वाचन आयोग नेपाललाई च.नं. १९८ मिति २०८२/११/२२ को पत्रद्वारा पत्राचार भइसकेको तर निर्वाचन आयोगबाट अहिलेसम्म निर्देशन प्राप्त भइनसकेको हुँदा आयोगबाट निर्देशन प्राप्त भएपश्चात मतगणना कार्य प्रारम्भ गरिनेछ। मतगणना प्रारम्भ हुने सूचनापछि प्रकाशित गरिनेछ,’ सूचनामा भनिएको छ।
निर्वाचन अधिकृत बरालका अनुसार बिहीबार मतदान सकिएलगत्तै सबै मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन गरेर धनुषाधाममा ल्याइएको छ।
धनुषा क्षेत्र नम्बर १ मा १ लाख २६ हजार ४० मतदाता रहेकोमा ६० प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।





