चाइना जर्नल

चीनका ‘दुई अधिवेशन’ १५औँ पञ्चवर्षीय योजनाको लक्ष्यसहित अघि बढ्दै

अजय अलौकिक २७ फागुन २०८२ १३:४७ | Wednesday, March 11, 2026
12
SHARES
चीनका ‘दुई अधिवेशन’ १५औँ पञ्चवर्षीय योजनाको लक्ष्यसहित अघि बढ्दै

बेइजिङ- चीनमा चीनलाई बुझ्ने र हेर्ने झ्यालका रूपमा परिचित ‘दुई अधिवेशन’ जारी छ। साथै चीनले १४औँ पञ्चवर्षीय योजनाको सफलतापूर्वक सम्पन्न गरेपछि १५औँ पञ्चवर्षीय (२०२६-२०३०) योजना पनि थालेको छ।

यी दुई अधिवेशन वार्षिक समीक्षा र नयाँ वर्षको योजना र लक्ष्यबाहेक पञ्चवर्षीय योजनाको लक्ष्यसहित अघि बढ्दै छ। चीनको दोस्रो शताब्दी लक्ष्यलाई आकार दिने योजनाको आरम्भ भएकोले पनि यसपटकको अधिवेशनको महत्त्व विशेष छ।

मार्च ५ तारिख बेइजिङको जन बृहत् सभा भवनमा सुरु भएको १४औँ चिनियाँ राष्ट्रिय जनकांग्रेसको चौथो अधिवेशनमा चीनका प्रधानमन्त्री ली छ्याङले सरकारी कार्य प्रतिवेदन पेस गरेका छन्। कार्यप्रतिवेदनअनुसार सन् २०२६ मा चीनको अर्थतन्त्र न्यूनतम ४.५ प्रतिशतदेखि पाँच प्रतिशतको हाराहारीमा रहनेछ।

साथै राम्रो परिणामका लागि प्रयास गरिने उल्लेख छ। सहरी सर्वेक्षणको बेरोजगारी दर लगभग ५.५ प्रतिशत हुने, सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने, उपभोक्ता मूल्य वृद्धि दर लगभग दुई प्रतिशत हुने, जनताको आय वृद्धि र आर्थिक वृद्धि सँगसँगै हुने प्रतिवेदनमा भनिएको छ।

अन्तर्राष्ट्रिय आय तथा व्यय सन्तुलन मोटामोटी रूपमा कायम राख्ने, खाद्य उत्पादन लगभग सात खर्ब किलोग्राम पुग्ने, जीडीपीको प्रतिएकाइ कार्बनडाइअक्साइड उत्सर्जन लगभग ३.८ प्रतिशतले घटाउने पनि बताइएको छ।

चीनको सरकारी कार्य प्रतिवेदनअनुसार सन् २०२५ मा आर्थिक सामाजिक विकासको मुख्य लक्ष्य पूरा भएको छ। चीनको आर्थिक विकास स्थिर रूपमा रहेर प्रगति हासिल भई जीडीपी पाँच प्रतिशतले वृद्धि भएको छ र १४०.१९ खर्ब चिनियाँ युआन पुगेको छ। प्रतिवेदनमा जनताको खुसी नयाँ स्तरमा पुर्‍याइएको उल्लेख छ। प्रतिव्यक्ति खर्चयोग्य आम्दानी वार्षिक औसत ५.४ प्रतिशतको दरले बढेको छ, र औसत आयु ७९.२५ वर्ष पुगेको छ।

यस वर्ष सन् २०२६ भने चीनको राष्ट्रिय आर्थिक र सामाजिक विकासको १५औँ पञ्चवर्षीय योजनाको आरम्भकाल रहेको छ। साथै चीन १५औँ पञ्चवर्षीय योजनाको साथमा चिनियाँ आधुनिकीकरणलाई निरन्तर रूपमा साकार पार्ने लक्ष्यतर्फ बढिरहेको छ।

१५औँ पञ्चवर्षीय योजना चीनको दोस्रो शताब्दीको लक्ष्य प्राप्तितर्फको महत्त्वपूर्ण चरण हो। यसले विश्वका लागि बलियो जीवन शक्ति र नयाँ अवसर पनि ल्याउनेछ। राष्ट्रिय जनकांग्रेसले ‘१५औँ पञ्चवर्षीय’ योजनाको मस्यौदाको समीक्षा गर्नेछ, राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलनले पनि मस्यौदाका बारेमा व्यापक परामर्श र सुझाव दिने छ।

चीनको १५औँ पञ्चवर्षीय योजनामा स्पष्ट रुपमा २० बुँदे मुख्य लक्ष्य प्रस्तुत गरिएको छ।

आर्थिक विकासमा वृद्धि,बनोट र दक्षता केन्द्रित तीन लक्ष्य प्रस्तुत गरिएका छन्। सिर्जना क्षेत्रमा लगानी र सिर्जनाको नतिजाबारे तीन लक्ष्य प्रस्तुत गरिएका छन् भने यीमध्ये सामाजिक अध्ययनको लगानी वार्षिक सात प्रतिशतले वृद्धि गर्ने लक्ष्य तय गरिएको छ। जनताको जीवनस्तर उकासिने क्षेत्रमा रोजगार, शिक्षा, चिकित्सा, आम्दानी आदि सातवटा लक्ष्य प्रस्तुत गरिएका छन्।

कम कार्बन क्षेत्रमा वातावरणको संरक्षण गर्ने पाँचवटा लक्ष्य प्रस्तुत गरिएका छन्। सुरक्षा क्षेत्रमा खाद्य र ऊर्जा स्रोतको उत्पादन क्षेत्रमा दुईवटा लक्ष्य प्रस्तुत गर्दै राष्ट्रिय सुरक्षा आधारलाई सुदृढ बनाउनेछ।

आठदिने बैठक अवधिमा चीनका विभिन्न स्थान, विभिन्न जाति, विभिन्न व्यवसायका २७ सयभन्दा बढी प्रतिनिधिहरूले सरकारी कार्य प्रतिवेदनमाथि समीक्षा गर्दै छन्। राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको १५औँ पञ्चवर्षीय योजनाको मस्यौदाको समीक्षा गर्नेछन्। साथै जनगणतन्त्र चीनको पर्यावरणीय वातावरण संहिता (मस्यौदा), ‘जनगणतन्त्र चीनको राष्ट्रिय एकता र प्रगतिको प्रवर्द्धन कानुन (मस्यौदा) र जनगणतन्त्र चीनको राष्ट्रिय विकास योजना कानुन (मस्यौदा) को समीक्षा गर्ने, सर्वोच्च जनअदालत र सर्वोच्च जनन्यायाधिवक्ता कार्यालयका कार्य प्रतिवेदनहरूको समीक्षा गर्ने, सन् २०२६ राष्ट्रिय आर्थिक र सामाजिक विकास योजनाको मस्यौदा र केन्द्र तथा क्षेत्रको बजेट मस्यौदा आदिको समीक्षा गर्ने छन्।

चिनियाँ राष्ट्रिय जनकांग्रेस चीनको सर्वोच्च राज्य शक्ति निकाय हो। पाँच वर्षको कार्यकाल रहने यसले हरेक वर्ष एकपटक बैठक आयोजना गर्दछ र यसले चीन राष्ट्रका महत्त्वपूर्ण नीति, कानून लागू गर्ने र अधिकारी नियुक्त गर्ने तथा हटाउने जस्ता मामिलाबारे छलफल र निर्णय गर्दछ।

चालु वर्ष १४औँ राष्ट्रिय जनकांग्रेसको चौथो बैठक भएको हो। यसरी चीनमा प्रत्येक मार्चको सुरुमा आयोजना हुने राष्ट्रिय जनकांग्रेस र चिनियाँ राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलनका वार्षिक बैठकलाई ‘दुइटा अधिवेशन’ भनिन्छ। यी दुई अधिवेशन चीनको नीतिको दिशानिर्देशक मात्र होइन, विदेशले चीन हेर्ने महत्त्वपूर्ण झ्याल पनि हो।

चिनियाँ राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) को १४औँ राष्ट्रिय समितिको चौथो अधिवेशन मार्च ४ तारिखबाट सुरु भएको छ र मार्च ११ तारिख सम्पन्न हुँदै छ। यसैगरी, चौधौँ राष्ट्रिय जनकांग्रेसको चौथो बैठक मार्च १२ तारिख सम्पन्न हुनेछ।

सीपीपीसीसीको सत्रमा २०३५ सम्म ‘स्वस्थ चीन’ निर्माणको योजना र तीव्र कार्यान्वयनको आवश्यकता औँल्याउँदै चिनियाँ राष्ट्रपति सीले जोड दिएका छन्। २०३५ सम्म स्वस्थ चीन निर्माण गर्नु भनेको सीपीसी केन्द्रीय समितिले गरेको रणनीतिक निर्णय हो र १५औँ पञ्चवर्षीय योजना अवधि यो लक्ष्य हासिल गर्न महत्त्वपूर्ण छ।

राष्ट्रपति सीले भने, ‘चीन एक समाजवादी देश हो र एक विकासशील राष्ट्र हो जसको ठूलो जनसंख्या छ र तुलनात्मक रूपमा सहर, ग्रामीण र क्षेत्रीय खाडल ठूलो छ र स्वस्थ चीन पहललाई अगाडि बढाउन चीनको वास्तविक अवस्थाबाट अघि बढ्नु आवश्यक छ।’

यसैगरी १४औँ चिनियाँ राष्ट्रिय जनकांग्रेसको चौथो अधिवेशनले मार्च ४ मा पत्रकार सम्मेलन गरी एजेन्डा र सम्बन्धित विषयबारे जानकारी दिँदै प्रवक्ता लौ छिनच्यानले यस वर्ष चीनले आन्तरिक माग विस्तार गर्दै जाने तथा उपभोगलाई प्रवर्द्धन गर्नुका साथै चीनको आन्तरिक बजारलाई बलियो बनाउने बताए।

यस वर्ष चिनियाँ जनकांग्रेस स्थायी समितिले आन्तरिक बजारको निर्माण गर्ने, ग्रामीण क्षेत्रको पुनःउत्थान गर्ने आदि क्षेत्रमा अनुगमन गरेर, सामाजिक उद्धार कानुन, चिकित्सा प्रत्याभूति कानुन, बालबालिका हेरचाह गर्ने कानुन आदि तय गर्दै जनताको जीवनस्तर उकास्ने दिशामा अझ बढी स्रोतसाधन परिचालन गर्ने र यसबाट जनतामा अझ बढी उपभोगको इच्छा र शक्ति थपिने अपेक्षा लिएको छ।

१५औँ पञ्चवर्षीय योजना अवधिको सुरुआत, चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १०५औँ वार्षिकोत्सव, अन्न उत्पादन क्षमता पाँच करोड टनले बढाउने नयाँ पहल, प्रमुख क्षेत्रमा मुख्य प्रविधिहरूमा सफलता, स्थानीय वित्तीय रूपान्तरण र घरजग्गा क्षेत्रका लागि नयाँ विकास मोडेल, समग्र राष्ट्रिय सुरक्षा अवधारणाअन्तर्गत जोखिम व्यवस्थापन,’डिजिटल चीन’ को विकास र राष्ट्रिय रूपमा एकीकृत डेटा बजारको निर्माण, रोजगारीका नयाँ रूपहरू र रोजगार-मैत्री विकास मोडेलहरू, ‘स्वस्थ चीन’ पहल र विवाह, बच्चा जन्माउने र वृद्ध हेरचाह प्रणालीहरूको पुनःसंरचना, साथै आर्थिक लचिलोपन र  ‘दोहोरो परिसञ्चरण’ जस्ता विषय यहाँ समावेश छन्।

१५औँ पञ्चवर्षीय योजनाको मस्यौदामा एआईलाई आधारभूत विज्ञान अगाडि बढाउन, परम्परागत उद्योगलाई रूपान्तरण गर्न, नयाँ उपभोग परिदृश्य सिर्जना गर्न, सुशासनमा नवाचार ल्याउन र जनताको दैनिक जीवन समृद्ध बनाउन थप प्रयोग गरिने उल्लेख छ।

२०२५ को अन्त्यसम्म चीनमा ६ हजार दुई सयभन्दा बढी एआई उद्यम छन्, यस उद्योगको मूल्य १.२ ट्रिलियन युआनभन्दा बढी छ। एआईसम्बन्धी उद्योगहरू २०३० सम्म १० ट्रिलियन युआनभन्दा बढी पुग्ने अपेक्षा गरिएको छ।

राष्ट्रपति सी चिनफिङले सन् २०२३ मा भविष्यको आर्थिक विकासको रूपरेखालाई आकार दिने प्रमुख विषयका रूपमा ‘नयाँ गुणस्तरीय उत्पादक शक्ति’ को प्रस्ताव राखेका थिए।

आशा छ, चीनको अधिवेशनले सुधार र खुलापनलाई गहिरो बनाउनुका साथै आर्थिक लचिलोपन र दोहोरो परिसंचरणले विश्व अर्थजगतलाई लाभ पुर्‍याउनेछ भने वैज्ञानिक र प्राविधिक नवप्रवर्तन, साझा लाभको विचारले अन्योलग्रस्त विश्वलाई भरोसा दिलाउने छ। चीनको उन्नति, स्थिरता र नवीनताको क्षेत्रमा चाल्ने कदमहरू विश्वसँग हातेमालो गर्दै आएको चीनले विश्वसँग साझा गर्ने नै छ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले सरकारी कार्य प्रतिवेदनमा उच्चस्तरको खुलापन विस्तार गर्ने, ‘बेल्ट एन्ड रोड’ को गुणस्तरीय सहनिर्माण गर्ने, भौतिक सम्पर्क, संस्थागत सम्पर्क र जनताबीचको सम्पर्कलाई साकार पार्ने र जनजीविका परियोजनाहरूको निर्माणलाई अघि बढाउने कुरा उल्लेख गरेका छन्।

वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति अन्योलका साथै विध्वंसबाट हुनसक्ने अकल्पनीय क्षतिको त्रासमा छ। नेपालमा भदौ विद्रोह अर्थात् जेनजी आन्दोलनपछि नवनिर्वाचित सरकारका लागि फागुन २१ गते शान्तिपूर्वक र सफलतापूर्वक आमनिर्वाचन भएको छ। यसले अवश्य पनि समृद्ध र विकास मार्गको नयाँ रेखा कोर्ने आशा नेपालीजनको छ।

यसैगरी फागुन २१ गते नै (मार्च ५ तारिख) सुरु भएको चीनलाई बुझ्ने र हेर्ने झ्यालका रूपमा परिचित चिनियाँ ‘दुई अधिवेशन’ ले ल्याउने योजना चीनलाई मात्र नभएर नेपालसहित विश्वलाई पनि हितयुक्त हुने आममानिसको अपेक्षा छ।

प्रकाशित: २७ फागुन २०८२ १३:४७ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast