गगन र अमरेशको क्षेत्रमा मतदान पुनः सुरु

हिमाल प्रेस २१ फागुन २०८२ १२:०७ | Thursday, March 5, 2026
16
SHARES
गगन र अमरेशको क्षेत्रमा मतदान पुनः सुरु

काठमाडौँ- सर्लाहीको बलरा नगरपालिकाका दुई मतदान केन्द्रमा भएको विवादपछि केहीबेर रोकिएको मतदान पुनः सुरु भएको छ। प्रशासन र सुरक्षाकर्मीको पहलमा विवाद समाधान भएपछि मतदान प्रक्रिया सामान्य अवस्थामा फर्किएको हो।

बलरा नगरपालिका-४ स्थित प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा दुई पक्षका कार्यकर्ताबीच विवाद भएपछि मतदान केहीबेरका लागि रोकिएको थियो। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंह पुगेपछि विपक्षी पक्षले विवाद उत्पन्न भएको आरोप लगाएका थिए।

प्रमुख जिल्ला अधिकारी रामराज कडरिया र जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कासहितको टोली घटनास्थलमा पुगेर दुवै पक्षबीच छलफल गरी विवाद मिलाएपछि मतदान पुनः सुरु गरिएको हो।

यसअघि बलरा नगरपालिका-१ को एक मतदान केन्द्रमा पनि केही युवाको उपस्थितिका कारण केहीबेर तनाव उत्पन्न भएको थियो। त्यसपछि सुरक्षा व्यवस्थालाई कडा बनाउँदै मतदान प्रक्रिया अस्थायी रूपमा रोकिएको थियो।

प्रमुख जिल्ला अधिकारी कडरिया र प्रहरी प्रमुख खड्का उक्त केन्द्रमा पुगेर स्थानीयसँग छलफल गरेका थिए। स्थानीयले त्रासका कारण मतदान गर्न कठिन भएको गुनासो गरेपछि उनीहरूले मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरेका थिए।

प्रशासनका अनुसार अहिले दुवै केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ।

सर्लाही-४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र रास्वपाका सिंह मुख्य प्रतिस्पर्धामा छन्।

प्रकाशित: २१ फागुन २०८२ १२:०७ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast