मतदाताको रोजाइ : ‘विद्रोही’ गगन कि बालेन?

यसपटकको भीड परिवर्तनकै पक्षमा देखिएको छ

चन्द्रशेखर अधिकारी १८ फागुन २०८२ २१:११ | Monday, March 2, 2026
38
SHARES
मतदाताको रोजाइ : ‘विद्रोही’ गगन कि बालेन?

मुलुकको राजनीति अहिले एउटा यस्तो ऐतिहासिक मोडमा छ, जसलाई पुराना र नयाँ बीचको लडाइँ मात्र होइन, बरु मुलुक कता लैजाने भन्ने दुई फरक स्कुलिङ बीचको महासंग्रामका रूपमा लिन सकिन्छ। देशमा अप्रत्यासित रूपमा उत्पन्न परिस्थितिका कारण फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ। सोहीअन्तर्गत सोमबार (आज) राति १२ बजेपछि मौन अवधि सुरु हुन्छ।

हरेक निर्वाचनमा केही क्षेत्रहरूमा विशेष चासो रहन्छ। यसपटक पनि दुई निर्वाचन क्षेत्र सर्वाधिक चासोका केन्द्र बनेका छन्। ती हुन्:- झापा- ५ र सर्लाही-४। झापा-५ मा एमालेका वयोवृद्ध अध्यक्ष केपी शर्मा ओलीलाई नाति उमेरका बालेन साहले चुनौती दिइरहेका छन्। साहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। यसैगरी नेपाली कांग्रेसले प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगनकुमार थापा सर्लाही-४ बाट चुनावी मैदानमा छन्।

कतिपयको बुझाइमा यस पटक यी दुईवटा निर्वाचन क्षेत्र नेपालको भविष्यको मार्गचित्र कोर्ने भिन्नभिन्न केन्द्र हुन्। बालेन र गगन दुवै एकै शक्ति केन्द्रबाट परिचालित भिन्न पात्र हुन् भन्नेको पनि कमी छैन। त्यसमा वास्तविकता नहोला भन्न सकिन्न। यद्यपि कुनै कुरा प्रमाणित नहुँदासम्म यो वा त्यो भनेर निर्क्योल गर्न कठिन छ।

बालेन्द्र साह उर्फ बालेन नयाँ विद्रोहीको भूमिकामा छन्। उनलाई भत्काउनु नै निर्माणको पहिलो सर्त हो भन्ने विद्रोही नेताका रूपमा लिइएको छ। उनी काठमाडौँ महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर निर्वाचन लड्न झापा गएका हुन्।

निकट स्रोतहरूका अनुसार बालेन आफैँ दल खोल्ने तयारीमा थिए। जेलबाट दल चलाइरहेका रवि लामिछाने वर्तमान सरकारकै चाहनामा रिहा गराइएको आरोप लाग्ने गरेको छ। अनि बालेन उनै रविलाई नेता मानेर रास्वपाबाट चुनावी प्रतिस्पर्धामा झापा पुगेका हुन्।

अर्कोतर्फ कांग्रेसका सभापति गगन छन्। उनी लोकतन्त्रको पहरेदार भनिएको कांग्रेस घर मक्किँदै गएको भन्दै जगैदेखि मर्मत गरेर नयाँ स्वरूप दिने विश्वासका साथ विशेष अधिवेशनबाट पार्टीको नेतृत्व हत्याएर सर्लाही झरेका छन्। गगनलाई वर्तमान सरकार, निर्वाचन आयोग र पूर्वप्रधानन्यायाधीशहरूको साथ रहेको बुझाइ कतिपयको छ। उनी यसअघि निर्वाचित हुँदै आएको आफ्नो क्षेत्र छाडेर कसको इसारामा सर्लाही पुगे भन्ने आम प्रश्न छ।

गगन र बालेनका भित्री रणनीति नियाल्दा कुन ठिक भन्ने विषय अहिले चासोमा छ। तर आमनागरिकले गगनलाई कांग्रेस सुधारेर लैजाने र नागरिकको मर्म मात्र होइन भूराजनीतिको बेग बुझेका नेताका रूपमा लिएका छन् भने बालेनलाई ठिक उल्टो आवेगमा निर्णय लिने र भावनात्मक रूपमा कठोर देखिने नेताका रूपमा लिएका छन्। परिवर्तन बालेनजस्तैबाट हुन्छ भन्नेको पनि कमी छैन।

बालेनको आँधी!

बालेनका लागि झापा-५ को रणमैदान अस्तित्व र अभिमानको टक्करका रूपमा रहेको छ। झापा-५ विगत तीन दशकदेखि एउटा व्यक्तिको किल्ला मानिँदै आएको निर्वाचन क्षेत्र हो। केपी शर्मा ओली त्यस किल्लाका पहरेदार हुन्। यसपटक त्यहाँको दृश्य केपीकै भिडियो कुराकानी र स्टाटस नियाल्दा पनि फरक रहेको देखिन्छ।

काठमाडौँको मेयर पद त्यागेर बालेनले झापा रोज्नु सामान्य राजनीतिक निर्णय मात्र होइन, यो साँच्चै भन्दा ‘बाघको खोरमा पसेरै बाघको सिकार गर्ने’ जस्तै कठिन कार्य हो। बालेन खोरमा पसिसकेका छन् तर त्यहाँ सायद बाघ बूढो भएको पनि हुनसक्छ या बाघले जोखना हेरिरहेको पनि हुनसक्छ। स्वदेशीदेखि विदेशी सञ्चारमाध्यमले झापा-५ मा बालेनले जित्ने आकलनसहितका विश्लेषण प्रस्तुत गरिरहेका छन्। त्यसैले पनि बालेन साँच्चै बाघको सिकार गर्न पसेकै हुन् कि भन्ने प्रश्न पेचिलो छ।

बालेन काठमाडौँमा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेर मेयरमा निर्वाचित भएका थिए। संसद्‌मा त्यसरी प्रतिस्पर्धा गर्न नचाहेर उनले रास्वपा रोजेका हुन्। यसको पछाडि ठूलो रणनीतिक बाध्यता देखिन्छ। काठमाडौँको मेयर हुँदा उनले पुरानो प्रणाली र कर्मचारीतन्त्रसँग निकै संघर्ष गरेका थिए। एक्लो व्यक्तिले फोहोर उठाउन सक्छ तर मुलुक बनाउन र प्रणाली सुधार्न सक्दैन भन्ने उनले बुझेका छन्।

उनलाई एउटा यस्तो प्रणाली भएको मेसिनरी चाहिएको थियो, जसको सञ्जाल मुलुकभर होस्। रास्वपाका रवि लामिछानेमाथि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलिरहेका कारण बालेन उक्त पार्टीको ‘स्टेयरिङ’ सम्हाल्ने गरी भित्री सम्झौता गरेर पार्टी राजनीतिमा होमिएको चर्चा पनि हुने गरेको छ। त्यसैले उनी झापाबाट निर्वाचित हुनु भनेको ओलीलाई मात्र हराउनु होइन, कतिपयले यसलाई कम्युनिस्ट राजनीतिमाथिको चुनौतीका रूपमा व्याख्या गरेका छन्।

बालेन झापा लागेपछि जेनजीमाझ उनको ‘क्रेज’ निकै चुलिएको छ। उनी पुगेका स्थानमा उल्लेखनीय भीड देखिने गरेको छ।  उनको पक्षमा देखिने भीडलाई सुनामी समान मानिएको छ। भदौ २३ को जेनजी विद्रोहमा मारिएका युवाको भावनालाई उनले ‘डिजिटल पपुलिज्म’ मार्फत भोटमा बदल्न खोजेका छन्। उनीसँग एआईमार्फत गीत र टिकटक बनाउने समूह सक्रिय छ, जसले ओलीको परम्परागत संगठनलाई चुनौती दिइरहेको छ।

बालेनले सामाजिक सञ्जालको भरपूर प्रयोग गरेको पाइन्छ।  आफूलाई मुलधार भन्ने मिडियाको सून्य उपस्थित स्थानीय स्तरमा देखिन्छ। आम धारणा सामाजिक संजालबाटै बनेका छन्। सबैको धारणा नयाँ भन्ने नै छ। पुरानालाई धेरै हेरियो भन्ने भाष्यले पनि बालेनलाई सहज भएको छ।

कांग्रेस सभापति गगनले आफ्नो सुरक्षित काठमाडौँ-४ छाडेर सर्लाही-४ रोज्नुलाई धेरैले आत्मघाती कदम भनेका छन्। उनी किन त्यता गए भन्ने विषयमा केही सतही विश्लेषण बाहिर आए पनि उनको समूहले उनलाई त्यता लगेर मधेश कार्ड प्रयोग गर्न लगाएको भन्ने देखाएको छ। गगन निकट केही नेताहरूले उनलाई उत्साहित पारेर सर्लाही-४ मा चुनावमा प्रतिस्पर्धा गराएको पनि भनिएको छ।

गगनसामु नयाँ भूगोल, नयाँ मतदाता, उनीहरूका नयाँ अपेक्षा देखिएका छन्। त्यतिमात्रै होइन मतदाताको घरदैलोमा पुग्दा उनले भाषिक समस्या पनि भोग्दै आएका छन्। त्यसैले त्यहाँ उनको सक्रियता निकै बढेको देखिन्छ। गगनका सहयोगीहरूका अनुसार सर्लाही-४ मा उनले गरेको मेहनत काठमाडौँ-४ मा भन्दा तीन गुणा बढी छ। यद्यपि गगन त्यहाँ जानुको भित्री पाटो अर्कै हुन सक्ने आकलन भइरहेको छ। त्यसो त गगन अघिल्लो चुनावमा पनि त्यही क्षेत्रबाट प्रतिस्पर्धा गर्ने चर्चा थियो।

गगनले विशेष महाधिवेशनमार्फत शेरबहादुर देउवालाई चुनौती दिँदै पार्टीको नेतृत्व कब्जा गरेका हुन्। काठमाडौँमा निर्वाचन लड्दा देउवा गुटले घेराबन्दी गरेर हराउन सक्ने भय पनि उनका नरहेको होइन। त्यसैले उनले मधेश रोजे, जहाँ नयाँ कांग्रेसको अनुहार बनेर मधेशी युवाको  विश्वास जित्न चाहेका छन्। त्यही कारण उनले सर्लाही रोजेको हुनसक्ने केही उनका निकटस्थहरू बताउँछन्।

गगन सर्लाहीबाट निर्वाचित भएर आउँदा आफूलाई राष्ट्रिय (पहाड र मधेश दुवैको साझा) नेताका रूपमा स्थापित गर्न चाहन्छन्। यद्यपि चुनावी माहोल हेर्दा उनी सुरक्षित हुनुभन्दा परीक्षित हुने देखिन्छ। किनभने मधेश कुनै बेला कांग्रेसको गढका रूपमा चिनिएको भेग हो। पछिल्लो समय मधेशमा कांग्रेस कमजोर हुँदै गएकाले गगनले आफूलाई त्यहीँबाट सभापतिका रूपमा स्थापित गर्न खोजेको पनि कतिपयको बुझाइ छ।

गगनका केही सकारात्मक पक्ष पनि छन्। उनीसँग शासन र राजनीति दुवैको अनुभव छ। उनले स्वास्थ्य मन्त्री हुँदा होस् वा संसदीय समितिमा बस्दा आफूलाई एउटा ‘एजेन्डा बेस्ड’ नेताका रूपमा प्रमाणित गरिसकेका छन्। गगनले कांग्रेसलाई पाकाहरूको पार्टीबाट युवाहरूको आशामा बदल्न खोजेका छन्।

उनले प्रधानमन्त्री भएमा कसरी सरकार चलाउने भन्ने दृष्टिकोण तयार पारिसकेका छन्। चुनावी प्रतिज्ञापत्रमार्फत भ्रष्टाचार अन्त्य र डिजिटल नेपालको स्पष्ट खाका कोरेका छन्। यसबाट उनले बदलिएको कांग्रेसको सन्देश दिन खोजेको देखिन्छ। जुन बुँदाहरू उनको मात्र नभएर कांग्रेसीहरूको चुनाव जित्ने एक आधार बनेको छ। त्यसबाहेक थापाले अन्य आधार पाएका छैनन्। आफूलाई अझै सभापति नै दाबी गरिरहेका देउवा यतिबेला सिंगापुरमा छन्। उनका निकटस्थले सघाएनन् भने गगनको नेतृत्वमाथि प्रश्न उठ्ने हुनाले भीड बालेनतर्फ रहेको देखिन्छ।

गगनको रूपान्तरण!

आमनागरिकमा गगन र बालेनमा को सही भन्ने अलमल छ। गगनले रुपान्तरण चाहेका छन् भने बालेनले क्रान्ति। लामो समयदेखि मुलुक अस्वाभाविक रूपमा लयबाट बाहिर गएकाले लिकमा ल्याउन रुपान्तरण आवश्यक छ। क्रान्ति भनेको पूरै परिवर्तन गरेर जाने हो। संविधान परिवर्तन गर्न सक्ने अवस्था अहिले नभएकाले रूपान्तरणकै पक्षमा धेरैको आवाज सुनिन्छ। यद्यपि भिड भने क्रान्तिको लाइनमा देखिन्छ।

गगन विवेक र सुझबुझ भएका प्रतिनिधि हुन्। उनी त्यो प्रकाश हुन्, जसले अँध्यारो हटाउने विकल्प अधिक भए पनि मुलुकमा रहेको क्लिन इनर्जी बिजुलीकै लाइन जोड्नुपर्छ भन्ने सोच राख्छन्। त्यसैले उनले भन्ने गरेका छन्- ‘युवाहरूले परिवर्तन मागेका हुन्। आवश्यक पनि थियो तर मुलुक बर्बाद हुने गरी होइन।’

गगनको बुझाइमा आवेग अहिलेको आवश्यकता होइन। मुलुक जलाउने गरी होइन भएकालाई संरक्षण गर्दै बनाउँदै जाने उनको सोच देखिन्छ। त्यही सोचका कारण सायद कांग्रेसमा महामन्त्री हुँदा पनि उनले परिवर्तन गर्न नसेकनन्। अन्तमा उनी पार्टीभित्र क्रान्ति गरेर आए। उनी यसलाई विधान सम्मत क्रान्ति भन्छन्। पुराना दलको अस्तित्व सकिएको होइन नयाँ पनमा अघि बढेको गगनको धारणा छ। हुन पनि दल पुरानो हुने होइन दलमा पुरानाहरू बाहिरिदै नयाँ आउने हो त्यो संस्कार हामीकोमा नहुँदा त्यहाँ पनि क्रान्ति गर्न परेको हो।

मुलुक बनाउँदै जाने हो भन्नेहरूका लागि गगन ठिक लाग्न सक्छन्। गगनसँग बनाउने योजना छ, तर उनको हातमा कांग्रेसजस्तो पुरानो दल छ। त्यो दल कुनै बेला यसरी विकृत भयो, कार्यकर्ताले आफ्ना उम्मेदवारलाई भोट हाल्न पाएनन्। पार्टीमा केही कोटरीको दबदबा रह्यो। त्यही अनुभवबाट आएकाले गगनले केही सुधार गर्लान् भन्नेहरू पनि छन्।

बालेनलाई आवेगका प्रतिनिधि मानेको देखिन्छ। उनी त्यो विस्फोट हुन्, जसले पुरानो सिन्डिकेटलाई खरानी बनाएर नयाँमा जाने कैयौँ र्‍याप गाएका छन्। जो युवाहरू अब सहने शक्ति छैन, जेसुकै होस् तर यिनीहरूलाई फाल्नैपर्छ भन्ने सोच पनि राख्छन्। त्यही आधारमा युवाले बालेनलाई ठिक भनिरहेका छन्। केही विद्रोही स्वभाव राख्नेहरूले पाँच वर्ष बालेनलाई हेरौँ पनि भनिरहेका छन्। यो आधारमा जाँदा कि गगन कि बालेन नै नेतृत्वमा पुग्ने देखिन्छ।

बालेनमा भत्काउने योजना रहे पनि बनाउने संस्थागत अनुभवको कमी छ। उनले मेयरका रुपमा गरेको कार्यमा त्यस्तो वाह भन्ने केही छैन। तर पनि उनका पछाडि युवा लागेकै छन्। आमनिराशामा आस जगाउन पुराना नेतामाथि गर्ने गाली नै उनको मुख्य हतियार बनेको छ। पुरानाले नबनाएको त होइन तर त्यो गति अनुरुपको भएन भन्ने हो। आफ्नै चाहनामा विदेश गएकालाई पनि विदेशिन बाध्य पारिएको भन्ने भाष्यहरू तयार गरी बालेनको पछि लाग्नेहरू छन्। यही भिडका कारण बालेन बलियो देखिएका पनि हुन्।

बालेनले पुराना नेताले गरेको भ्रष्टाचारका बारेमा कुरा उठाएका छन्। तर राज्यको कर्मचारी संयन्त्र परिवर्तन नहुन्जेल त्यो चिर्न सकिन्न भन्ने उनले पनि बुझेको देखिँदैन। त्यो बुझेका भए नगरपालिकाको पुरानो संयन्त्र परिवर्तन गर्दै आधुनिकीकरणमा जान्थे। कर्मचारी संयन्त्रसँग निहु खोजेर बस्दैन थिए। आफ्नो जिम्मेवारी भुलेर सिंहदरबार जलाउने कुरा गर्ने, महानगरको कार्यालयमा आफूलाई भिन्नै लिफ्ट हुनुपर्ने अनि नगरवासीको गुनासो कहिल्यै सुन्न नचाहने बालेनका कमजोरी हुन्। यसले गर्दा उनीमाथि केही आक्रोश पनि छ, जो उनीसँगै सहकार्य गरे उसलाई यो जानकारी छ।

भूराजनीतिमा पनि उनको अध्ययन वा बुझाइ कमजोर देखिन्छ। यसमा सभापति गगन धेरै अगाडि छन्। बालेनको उदय हुनुमा पश्चिमा शक्तिहरूको ‘सफ्ट कर्नर’ हुनसक्ने आरोप पुराना दलहरूले लगाएका छन्। बालेनले पश्चिमा एजेन्डा बोक्न सक्ने डरमा चीन र भारत दुवै सशंकित रहेको कतिपयको दाबी छ। उता गगनलाई भारत र पश्चिमा शक्ति दुवैले स्थिर र लोकतान्त्रिक विकल्पका रूपमा हेरेको भनेर विश्लेषण गर्ने खोज्नेको पनि कमी छैन।

नेपालजस्तो संवेदनशील मुलुकमा बालेनको ‘आक्रामक राष्ट्रवाद’ले संकट ल्याउन सक्ने आकलन गरिएको छ भने गगनले ‘सन्तुलित कूटनीति’ दिन सक्लान् त भन्ने प्रश्न पनि उत्तिकै टड्कारो छ। पछिल्लो समयमा देखिएको गम्भीर प्रश्न यही हो। यस्ता विषयमा ध्यान दिएर आम नागरिकले मत दिन पर्ने हुन्छ। तर आम नागरिक सोच्दै नसोची लहै लहैमा लागेमा मुलुकको फेरी पाँच वर्ष ओझेलमा पर्नेछ।

जानकारहरूका अनुसार नेपालमा पश्चिमाको वर्चस्व रहला भन्ने चिन्ता भारत र चीन दुवै छिमेकलाई छ भने एक अर्को छिमेकको प्रतिस्पर्धा पनि उत्तिकै छ। अनि दातृ मुलुकमार्फत हुने ‘प्रोक्सी’ पनि यहाँ उत्तिकै चल्ने चर्चा कूटनीतिक वृत्तमा सुनिन्छ। असंलग्न भने पनि नेपालीलाई कतै न कतैका लागि पश्चिमाले तानिरहेको हुन्छ। यसमा छिमेक पनि उत्तीकै सिपालु छन्।

भूराजनीतिमा त्यो स्तरको सुझबुझ यहाँका आममतदातामा नहुन सक्छ। त्यो हामीले बुझाउनु पर्छ नै। अनि नेपाली सेना र कर्मचारीमा पनि त्यो स्तरको सुझबुझ आवश्यक पर्छ। हामी ले बाढी छोपेर खेती गर्नेकी सहकार्यमा आधुनिक नहर बनाएर सदावाहर खेतीमा रम्ने त्यो मतदाताको सुझबुझमा भर पर्ने कुरा हो। किनकी जनता नै जनार्दन हुन्।

निष्कर्ष

अहिलेसम्मका रिपोर्ट र जनलहर केलाउँदा बालेन साह ती मतदाताका लागि ठिक छन् जो वर्तमान व्यवस्थाबाट पूर्णतः निराश छन्। उनीहरूले एउटा त्यस्तो ‘मसिहा’ खोजिरहेका छन् जसले तत्काल केही गरोस्। उनले अघि सारको नारा पनि गजब छ- एकबार बालेन सरकार। त्यसले मधेश सेन्टिमेन्टमा काम गरेको छ।

सायद यसैले होला अधिकको कुरा एउटै छ:- बालेन/बालम (बालेन भन्न नजानेर) सरकार, अब परिवर्तन चाहियो, नयाँ दल र घण्टी छाप वा घण्ट बजाउने हो यसपाली राम्रैसँग। कति पुरानालाई दिने। यो भाष्यले गर्दा बालेन रहेकै दललाई सहज हुने देखिन्छ। जसले गर्दा मधेशी मूलको मानिस एक पटक कार्यकारी प्रमुख हुने आशा पनि कतिपयमा छ। भलै उनले आफूलाई पहाडे अर्थात् सभ्रान्त ‘शाह’ देखाउने प्रयास पनि जारी राखेका छन्।

कांग्रेस सभापति गगन ती मतदाताका लागि ठिक छन् जो लोकतान्त्रिक जगमा उभिएर जवाफदेही र अनुभवी नेतृत्व चाहन्छन्। गगन रूपान्तरणको संवाहकका रूपमा देखिएका छन्। नेपाललाई अहिले बालेनको जस्तो आँट र गगनको जस्तो भिजन दुवै चाहिएको छ। तर नेतृत्वमा पुग्नका लागि बालेनले देखाएको सर्टकट (मेयर छाडेर संसद्‌मा जाने) र गगनले अपनाएको लामो बाटो (पार्टी सुधार्दै नेतृत्वमा जाने) बीचको छनोट तीन दिनपछि हुने निर्वाचनको मुख्य कडी हुनेछ।

बालेनले झापामा ओलीलाई हराए र गगनले सर्लाही डा. अमरेसलाई हराएर सानदार जित निकाले भने नेपालमा एउटा नयाँ पुस्ताको युग सुरु हुनेछ- जहाँ बालेन-गगन सहकार्य वा प्रतिस्पर्धाले मुलुकलाई अघि बढाउनेछ। कुन ठिक भन्ने विषयमा भने परिवर्तनको चाहना कति तीव्र छ भन्ने विषयमा निर्भर गर्छ। आँधी ल्याउनका लागि बालेन ठिक देखिन्छन् तर सौम्य तरिकाले मुलुक चलाउने रणनीति गगनमा देखिन्छ। तर नेतृत्व नै परिवर्तन नगरी अघि बढेका केपी भने आफैँ जित्ने कि नजित्ने भनेर संघर्षरत छन्।

बालेन झापाबाट निर्वाचित भए त्यसलाई नेपाली राजनीतिमा संरचनात्मक धक्का मानिनेछ। उनी पराजित भए भने उनको राजनीतिक भविष्य र काठमाडौँका जनताको विश्वास दुवै गुम्नेछ। गगनका लागि सर्लाही जित्नु भनेको उनको प्रधानमन्त्री बन्ने बाटो खुल्नु हो। तर आफ्नै पार्टीभित्रको अन्तर्घात उनको सबैभन्दा ठूलो चुनौती हो। त्यसमा उनी सचेत हुन सकेमा पार्टीमा लिएको जोखिम संस्थागत गर्न सक्नेछन्। पराजित भएमा उनको जोखिम खेर जाने निश्चितप्राय: छ।

आममतदाताले बुझ्नपर्ने कुरा भनेको हामी राम्रो ढ‌ंगले बनाउँदै अघि बढ्ने कि पुरानै तवरमा ‘सटकट’ हान्ने भन्ने हो। बालेनपथ सटकटमा विश्वास गर्ने देखिएको छ। वातावरण पनि सटकटकै छ। गगनपथ भनेको सिक्दै बनाउँदै भूराजनीतिक परिवेशसँग जुध्दै सोचबुझका साथ अघि बढ्ने देखिन्छ।

पुरानालाई साफ होइन अभिभावकका रूपमा लिएर जान उनले पनि केही ध्यान दिएकाले उनी एक बालेन भन्दा सुझबुझमा एक तह माथि नै छन् तर आमनागरिक यस्तो मनस्थितिमा पुगेका छन् कि बालेन नै चाहिएको छ। एक पटक नयाँलाई हेर्ने केही नगरे घण्टीको ‘रानो’ नै झारिदिने पनि भनिरहेका छन्। यतिबेला अन्य दलको त कुरै छैन। जसले गर्दा परिवर्तन मुलुकले खोजेको प्रस्ट हुन्छ तर कसरी भन्नेमा मतदाताको सुझबुझमा भर पर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast