आईसीसी टी २० विश्वकप २०२६

इंग्ल्यान्डसँग न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण, पाकिस्तानको पनि सेमिफाइनल सम्भावना कायमै

हिमाल प्रेस १६ फागुन २०८२ ७:१५ | Saturday, February 28, 2026
8
SHARES
इंग्ल्यान्डसँग न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण, पाकिस्तानको पनि सेमिफाइनल सम्भावना कायमै

काठमाडौँ- आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार कोलोम्बोमा भएको खेलमा इंग्ल्यान्ड ४ विकेटले विजयी भयो। योसँगै इंग्ल्यान्डले समूह २ को विजेताका रूपमा भारत गएर सेमिफाइनल खेल्नेछ। यो नतिजाले पाकिस्तानको पनि सेमिफाइनल सम्भावना कायमै रहेको छ।

२ खेलबाट १ अंक मात्र जोडेको पाकिस्तानले अब अन्तिम खेलमा श्रीलंकालाई हराएर नेट रनरेटमा न्युजिल्यान्डलाई उछिन्नुपर्नेछ। न्युजिल्यान्डको ३ अंक छ भने इंग्ल्यान्डको ६ अंक भइसकेको छ । शुक्रबार कोलोम्बोमा भएको खेलमा न्युजिल्यान्डले दिएको १६० रनको लक्ष्य इंग्ल्यान्डले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा भेट्टायो। ३ ओभरमा ४३ रन आवश्यक रहेको अवस्थाबाट विल ज्याक्स र रेहान अहमदले १६ बलमा अविजित ४४ रनको साझेदारी गरे।

१८औं ओभरमा ग्लेन फिलिप्सले २२ रन बेहोरे भने १९औं ओभरमा कप्तान मिचेल सान्टनरले १६ रन बेहोरेपछि अन्तिम ओभरमा ५ रन आवश्यक थियो । ज्याक्सले १८ बलमा अविजित ३२ रन बनाए भने रेहानले ७ बलमा १९ रन बनाए ।

इंग्ल्यान्डले सुरुवाती २ ओभरभित्रै २ विकेट गुमाएको थियो । टम बेन्टनले ३३ रन बनाए भने कप्तान ह्‍यारी ब्रूकले २६ अनि ज्याकब बेथेलले २१ रन बनाए । न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ३ विकेट लिँदा म्याट हेनरी, लकी फर्गुसन र ग्लेन फिलिप्सले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन बनाए भने ओपनर टिम सेफर्टले ३५ रन बनाए ।

इंग्ल्यान्डका आदिल राशिद, विल ज्याक्स र रेहान अहमदले २-२ विकेट लिए भने लियाम डसनले १ विकेट लिए । अब यो समूहमा श्रीलंका र पाकिस्तानबीचको खेल बाँकी छ । पाकिस्तानले कम्तीमा ६४ रन वा १३।१ ओभरमा लक्ष्य पूरा गर्दा न्युजिल्यान्डलाई नेट रनरेटमा उछिन्नेछ ।

प्रकाशित: १६ फागुन २०८२ ७:१५ | Saturday, February 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast