काठमाडौँ- राजधानीका दुई रंगशालामा जारी ‘जय ट्रफी’ राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि चुनावको प्रभावमा परेको छ। कीर्तिपुर र मूलपानी मैदानमा जारी प्रतियोगिताको निर्णायक भिडन्त आगामी चैतमा मात्र हुने भएको छ।
प्रतिनिधिसभाको निर्वाचनका कारण सुरक्षा र व्यवस्थापकीय चुनौती देखिने भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको अन्तिम तालिका हेरफेर गरेको हो। क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अब उपाधि भिडन्त आगामी चैत २२–२४ मा हुनेछ।
क्यान प्रवक्ता लामाले विज्ञप्तिमा भनेका छन्, ‘नेपालमा हुँदै गरेको प्रतिनिधि सभाको निर्वाचनको कारणले आगामी अप्रिल ५–७ (चैत २२–२४) मा फाइनल खेल सञ्चालन हुने व्यहोरा अनुरोध गर्दछौँं।’ यसअघि फागुनको अन्तिम साता फाइनल गर्ने तयारी थियो। निर्वाचनको माहोलले गर्दा खेल सारिएको हो।
जय ट्रफीको लिग चरणका खेलहरू दुईदिने भए पनि फाइनल खेल भने तीन दिवसीय हुने तालिका छ । फाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
पुलिसले फाइनलमा स्थान बनाउने क्रममा शुक्रबार भएको खेलमा वाग्मती प्रदेशलाई आठ विकेटले पराजित गरेको थियो । आजै भएको सशस्त्र प्रहरी बलको एपीएफ क्लबविरुद्धको खेल बराबरीमा टुंगिएपछि आर्मी फाइनलमा प्रवेश गरेको हो ।
राउन्ड रोविन लिगमा भएको खेलको आधारमा सबै चार टोलीले समान तीन खेल खेलेपश्चात् त्रिभुवन आर्मी क्लब कुल ६६ अंकका साथ शीर्षस्थानमा रहँदा ६५.५ अंकका साथ पुलिस दोस्रो स्थानमा रह्यो । ५३ अंक जोडेको एपीएफले तेस्रो स्थान बनाउँदा पुछारको वाग्मती ४० अंकमा सीमित भयो ।





