रेकर्डमाथि रेकर्ड, भारतले तोड्यो आफ्नै छक्काको कीर्तिमान

हिमाल प्रेस १५ फागुन २०८२ ९:४८ | Friday, February 27, 2026
14
SHARES
रेकर्डमाथि रेकर्ड, भारतले तोड्यो आफ्नै छक्काको कीर्तिमान चेन्नईको एमए चिदम्बरम स्टेडियममा भारत र जिम्बाब्वे बीच भएको २०२६ आईसीसी पुरुष टी-२० क्रिकेट विश्वकपको सुपर एट्स खेलका दौरान अर्धशतक (५० रन) प्रहार गरेपछि खुसीयाली मनाउँदै भारतका हार्दिक पाण्ड्या (बायाँ), साथमा टोलीका सहयात्री तिलक वर्मा (दायाँ)। तस्बिर : आर. सतीश बाबु / एएफपी/रासस

नयाँ दिल्ली- बिहीबार बेलुकी भएको टी-२० वर्ल्ड कपको खेलमा भारतीय टोलीले ऐतिहासिक प्रदर्शन गर्दै प्रतियोगिताकै दोस्रो ठूलो स्कोर खडा गरेको छ। चेन्नईको एमए चिदम्बरम स्टेडियममा भएको यस उच्च स्कोरिङ खेलमा दुवै टोलीले मिलेर कुल ४४० रन बनाए।

पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २५६ रन बनायो। जवाफमा जिम्बाब्वेले पनि राम्रो संघर्ष गर्‍यो तर २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन मात्र जोड्न सक्यो। भारतले यो खेल ७२ रनले जित्यो।

रेकर्डहरू 

टी-२० वर्ल्ड कपको दोस्रो ठूलो स्कोर

भारतले ४ विकेटको क्षतिमा २५६ रन बनाएर वर्ल्ड कप इतिहासको दोस्रो ठूलो योगफल तयार गर्‍यो। यस सूचीमा श्रीलंका शीर्ष स्थानमा छ उसले सन् २००७ मा केन्याविरुद्ध २६० रन बनाएको थियो।

एकै इनिङमा सर्वाधिक छक्का

भारतले यो खेलमा १७ छक्का प्रहार गर्‍यो जुन कुनै पनि वर्ल्ड कप इनिङमा भारतीय टोलीको सबैभन्दा धेरै हो। यसअघि २०२४ मा अस्ट्रेलियाविरुद्ध भारतले १५ छक्का हानेको थियो। यस संस्करणमा भारतले कुल ६३ छक्का प्रहार गरिसकेको छ।

पाँचौँ पटक २०० प्लसको स्कोर

जिम्बाब्वेविरुद्ध २५६ रन बनाएर भारतले टी-२० वर्ल्ड कपमा पाँचौँ पटक २०० भन्दा बढी रनको आँकडा पार गर्‍यो। यस सूचीमा दक्षिण अफ्रिका (६ पटक) पहिलो र भारत दोस्रो स्थानमा छन्।

खेलको कुल रन ४४०

भारत र जिम्बाब्वे बीचको खेलमा कुल ४४० रन बन्यो। यो रन वर्ल्ड कप इतिहासको दोस्रो ठूलो हो। पहिलो स्थानमा सन् २०१६ को दक्षिण अफ्रिका र इंग्ल्यान्ड बीचको खेल (४५९ रन) रहेको छ।

हार्दिक पाण्ड्याको कीर्तिमान

नम्बर-५ वा सोभन्दा मुनिको क्रममा ब्याटिङ गर्दै हार्दिक पाण्ड्याले टी-२० वर्ल्ड कपमा ४ वटा अर्धशतक प्रहार गरेका छन्। यो स्थानमा ब्याटिङ गर्दै यति धेरै अर्धशतक बनाउने उनी विश्वकै पहिलो खेलाडी बनेका छन्।

पावरप्लेमा आक्रामक ब्याटिङ

भारतले सुरुवाती ६ ओभरमा ८० रन बनायो जुन जिम्बाब्वे विरुद्धको कुनै पनि टोलीको पावरप्लेमा सबैभन्दा ठूलो स्कोर हो। यो भारतको वर्ल्ड कप इतिहासकै तेस्रो ठूलो पावरप्ले स्कोर पनि हो।

सिकन्दर राजाको ठूलो उपलब्धि

जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३००० रन र १०० विकेट लिने विश्वको दोस्रो खेलाडी बनेका छन्। उनीभन्दा अगाडि मलेसियाका वीरनदीप सिंहले मात्र यो सफलता पाएका थिए।

जिम्बाब्वेका बलरको खराब रेकर्ड

रिचर्ड नगारावा जिम्बाब्वेका लागि टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा महँगो बलर सावित भए। उनले ४ ओभरमा ६२ रन खर्चिए। यो जिम्बाब्वेको कुनै पनि बलरले एकै इनिङमा दिएको सर्वाधिक रन हो।

डेब्यु ओभरमा धेरै रन

जिम्बाब्वेका टिनोटेन्डा मपोसाले आफ्नो वर्ल्ड कप डेब्यु ओभरमा २३ रन दिए। यो वर्ल्ड कप इतिहासमा कुनै पनि बलरले आफ्नो पहिलो ओभरमा दिएको दोस्रो धेरै रन हो।

प्रकाशित: १५ फागुन २०८२ ९:४८ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast