बिहारमा शिक्षण संस्था र धार्मिक स्थल नजिक माछामासु बिक्रीमा प्रतिबन्ध

हिमाल प्रेस १३ फागुन २०८२ ११:४५ | Wednesday, February 25, 2026
8
SHARES
बिहारमा शिक्षण संस्था र धार्मिक स्थल नजिक माछामासु बिक्रीमा प्रतिबन्ध

काठमाडौँ- नेपालसँग सीमा जोडिएको भारतको बिहार सरकारले शिक्षण संस्था र धार्मिक स्थलहरू नजिक माछामासु बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सरकारले यो कदम जनस्वास्थ्यको रक्षाका साथै बालबालिकालाई हिंसक प्रवृत्तिबाट बचाउन र सामाजिक सद्भाव कायम राख्नका लागि चालिएको तर्क दिएको छ।

बिहार सरकारले अघिल्लो साता राज्यका सबै सहरी क्षेत्रमा माछामासुको खुला बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। साथै कानुनी रूपमा इजाजतपत्र प्राप्त पसलमार्फत मात्र मासु र माछा बिक्री गर्न सकिने जानकारी दिएको थियो।

हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार बिहारका उपमुख्यमन्त्री एवम् सहरी विकासमन्त्री विजयकुमार सिन्हाले नगरपालिका निकायहरूलाई विद्यालय, मन्दिर परिसर र अन्य भीडभाड हुने सार्वजनिक स्थलनजिक सञ्चालित त्यस्ता पसलहरू बन्द गराउन निर्देशन दिएका छन्।

सिन्हाले यसअघि पत्रकारहरूसँग कुरा गर्दै मांसाहारी भोजनको खुला बिक्री र उपभोगलाई युवा तथा बालबालिकामा बढ्दो ‘हिंसक प्रवृत्ति’ सँग जोडेका थिए।

सहरी विकास तथा आवास विभागका प्रधान सचिव विनय कुमारले शनिबार राज्यभरका सबै नगर आयुक्त, नगर परिषद् र नगर पञ्चायतका कार्यकारी अधिकारीहरूलाई पत्र पठाउँदै इजाजतपत्रसम्बन्धी नियम कडाइका साथ लागू गर्न र अवैध एवं खुला बिक्रीलाई तत्काल बन्द गर्न आदेश दिएका छन्।

बिहार सरकारको यो कारबाही अन्य राज्यमा भइरहेका सरसफाइ र लाइसेन्सिङ अभियानजस्तै छ। भाजपा नेतृत्वको एनडीए सरकार सत्तामा फर्किएको केही महिनापछि यो कदम चालिएको हो। अधिकारीहरूका अनुसार सहरमा तत्काल कारबाही सुरु गरिनेछ र टोलीहरूलाई छड्के अनुगमन गरी नियम उल्लंघन गर्नेहरूलाई हटाउन वा बन्द गर्न निर्देशन दिइसकिएको छ।

प्रकाशित: १३ फागुन २०८२ ११:४५ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast