काठमाडौँ- धादिङमा साेमबार भएको बस दुर्घटना छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित उक्त कार्यदलले दुर्घटनाको गम्भीर अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, यातायात तथा सडक विभागका महानिर्देशक एवम् यातायात व्यवसायी र मजदुर संघका प्रतिनिधिहरूको बैठकले उक्त कार्यदल बनाउने निर्णय गरेको हो।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस सोमबार बिहान करिब १:३० बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-५, भैंसीगौंडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा खसेको थियो।
सडकबाट करिब २०० मिटर तल खसेको सो दुर्घटनामा बसमा सवार ४४ जनामध्ये १९ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन्।
दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको समन्वयमा उद्धार गरिएको थियो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्ति अनुसार मृतकहरूको शव नदीबाट निकालेर सनाखत गर्ने प्रक्रिया जारी छ भने घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ।






