झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र मत दिएर नपुग्ने भएकोले आफ्नालाई पनि एमालेमा मत दिने बनाउन आग्रह गरेका छन्। आफू र आफ्ना भए देशैभरी एमालेको विजयलाई कसैले रोक्न नसक्ने उनको भनाइ छ।
सहकारीकर्मीहरुसँग गएराति भएको भेटघाटमा अध्यक्ष ओलीले आफ्नो मत दिन र आफ्नालाई मत दिलाउन सबै कार्यकर्ता लाग्नुपर्ने बताएका छन्। ‘पहिला आफू प्रष्ट हुनुहोस्, देशका लागि सम्झनुहोस । सूर्य चिन्हमा मत दिनुहोस्’ अध्यक्ष ओलीले भने, ‘त्यसपछि आफन्त,छिमेकी सबैलाई सम्झाएर एमालेमा मत हाल्ने बनाउनुहोस्।’
‘मैले भेटेका धेरैजनाले हामी सहयोग गर्छौं भन्नुहुुन्छ’ ओलीले भने, ‘अहिले तपाईंहरुले दुईवटा सहयोग गर्नुपर्छ। एउटा आफ्नो मत दिने र अर्को आफ्नाहरुको मत दिलाउने।’ अध्यक्ष ओलीले आफूले मात्र मत दिएर नपुग्ने भएकोले शानदार विजयका लागि आफ्नाहरुको पनि मत दिलाउनु पर्ने बताएका छन्।
निर्वाचनका बेला सबै पेशा र व्यवसायका मानिस आफ्नो ठाउँबाट पार्टीको तर्फमा जनमत बढाउन प्रयत्न गर्नुपर्ने बताएका छन्। उनले झापा ५ मा आफ्नो पालामा भएका विकास निर्माणका काम नै निर्वाचन जित्ने प्रमुख आधार भएको बताएका छन्। ‘हाम्रो सरकार हुँदा बजेट विनियोजन गरिएका यस क्षेत्रका केही सडकहरुको बजेट हामी सरकारबाट हटेपछि काटियो’ उनले भने, ‘जसले गर्दा यस वर्ष हुनुपर्ने कामहरु ठप्पै भए । तर यो अवस्था लामो समय रहदैन।’
अध्यक्ष ओलीले सानो बचत र सानै लगानीले मानिसको आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्यले सहकारी अभियान सुरु गरिएकोमा अहिले केही व्यक्तिले त्यसको व्यापक दुरुपयोग गरेको बताए।




