काठमाडौँ- आईसीसी टी २० विश्वकप क्रिकेटमा आज नेपालले निर्णायक खेल खेल्दैछ। समूह ‘सी’मा रहेर लगातार दुई खेलमा हार ब्यहोरिसकेको नेपालले आइतबार वानखेडेमा निर्णायक खेल खेल्न लागेको हो।
तेस्रो खेलमा नेपालको प्रतिद्वन्द्वी वेस्ट इन्डिज छ।नेपालले आजको खेल ठूलो अन्तरले जित्न सके सुपर ८ सम्भावना जीवितै रहनेछ। खेल बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।
सुपर ८ मा पुग्न वेस्ट इन्डिज मात्र होइन स्कटल्यान्डससँग पनि नेपालले जित्नुपर्नेछ। वेस्ट इन्डिज अहिले उत्कृष्ट लयमा छ। शारीरिक शक्ति र रणनीतिक सन्तुलन दुवै मिल्नु वेस्ट इनडिजको राम्रो पक्ष हो। शिमरन हेटमायरको आक्रामक शैली गजबको देखिएको छ। इंग्ल्यान्डविरुद्ध शेर्फान रदरफोर्डले प्रहार गरेको नटआउट ७४ रनले नेपाली बलरहरूलाई चुनौती दिने निश्चित छ। वेस्ट इन्डिजसँग रोभम्यान पावेल र जेसन होल्डर जस्ता ठूला सट खेल्न सक्ने ब्याटर छन्।
वेस्ट इन्डिजको ब्यटिङ मात्र होइन बलिङ पनि उत्तिकै घातक छ। अकिल हुसेन, गुडाकेश मोती र रोस्टन चेसको स्पिनले इंग्ल्याण्डलाई निकै समस्यामा पारेको थियो। वानखेडेको बिहानी खेलमा यो स्पिन जोडी फेरि पनि निर्णायक हुन सक्छ। तीव्र गतिका बलर शेमार जोसेफसँगै रोमरियो शेफर्ड नेपालका लागि खतरा हुन्। यी बलरविरूद्ध नेपाली ब्याटर कसरी खेल्छन् त्यो नै नेपालको नजितालाई असर गर्नेछ।
इटालीसँगको १० विकेटको नमीठो हारपछि अहिले नेपाल दबाबमा छ। अंकबिहीन नेपालको ‘नेट रन रेट’ मा ठूलो धक्का पुर्याएको छ। अब वेस्ट इन्डिजविरूद्ध उत्कृष्ट खेल्न नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडी चल्न जरुरी छ।




