भेडा गन्न एआईको प्रयोग

हिमाल प्रेस १ फागुन २०८२ १७:१९ | Friday, February 13, 2026
10
SHARES
भेडा गन्न एआईको प्रयोग

काठमाडौँ- अस्ट्रेलियाका बधशालाहरूले भेडा गणना गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न थालेका छन्। गणनामा दशकौँदेखि भइरहेको त्रुटिका कारण किसान र प्रशोधनकर्ताहरूबीच विवाद उत्पन्न हुन थालेपछि प्रविधिको प्रयोग गर्न थालिएको अस्ट्रेलियाका सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

ऊनी र पाठोको मासु निर्यातमा अस्ट्रेलियाको अर्थतन्त्र निर्भर रहेकाले भेडा उद्योगलाई सांस्कृतिक पहिचानका रूपमा लिइन्छ। विगतमा भेडा फारामदेखि बधशालासम्म पुर्‍याउँदा जनावरलाई आठ पटकसम्म गन्नका लागि कैयौँ कामदार परिचालन गरिन्थ्यो। गणनामा हुने गडबडीले किसान, ट्रकचालक र बधशाला सञ्चालकहरूबीच मनमुटाव निम्त्याउनुका साथै सही भुक्तानी सुनिश्चित गर्न पटकपटक गन्नुपर्ने झन्झट हुन्थ्यो।

यस वर्ष अस्ट्रेलियाली मासुको निर्यात र ऊनको माग बढेकाले पाठोको मूल्य गत वर्षको तुलनामा करिब एकतिहाईले वृद्धि भएको छ। यस्तो अवस्थामा सही गणना अझ महत्त्वपूर्ण बनेको छ। अस्ट्रेलियाको ठूलो बधशाला मध्येको एक भीएन्डभी वाल्सका महाप्रबन्धक ब्रेन्ट डान्सर भन्छन्, ‘चौपायाको मूल्यवृद्धि र चोरीको जोखिमका कारण अहिले गणना निकै संवेदनशील बनेको छ। यस वर्ष भित्र्याइएको नयाँ एआई प्रणालीले कम्पनीको पुरानो टाउको दुखाइ अन्त्य गर्नेछ।’

यसरी काम गर्छ प्रविधिले

पर्थको दक्षिणमा रहेको उक्त बधशालामा ‘ब्लुसिंक’ नामक प्रविधि कम्पनीले एआई सफ्टवेयर जडित क्यामेरा जडान गरेको छ। यी क्यामेराले ट्रकबाट ओरालिएका र बध गर्नुअघि राखिने खोरमा मा लगिएका भेडाहरूको स्वचालित रूपमा गणना गर्छन्।

गणनाका अतिरिक्त मासुको सही लेबलिङ सुनिश्चित गर्न र मासु दूषित हुन नदिन पनि एआईको प्रयोग भइरहेको छ। खोरमा रहेका बिरामी भेडा पत्ता लगाउन र मासु काट्ने कोठामा कुनै ट्युमर वा घाउखटिरा छ कि भनी जाँच गर्न समेत यो प्रविधि उपयोगी देखिएको समाचारमा उल्लेख छ।

भेडा गणना गर्ने पुरानो तरिका निकै रोचक र परम्परागत थियो। स्टक एजेन्ट डेरेक मोर्सका अनुसार पहिलेका मानिसहरू एक सयवटा भेडा गनेपछि सम्झनका लागि आफ्नो पाइन्टको टाँक खोल्ने गर्थे। ६० वर्षदेखि भेडा गन्दै आएका र आफ्नो करियरमा झन्डै तीन करोड ७० लाख भेडा गनिसकेका मोर्स भन्छन्, ‘पहिले मानिसहरू पाइन्टको टाँक खोलेर चौरमा उभिन्थे तर अब जिपर पाइन्ट र नयाँ प्रविधिले त्यो अवस्था अन्त्य गरिदिएको छ।’

इन्टेलिजेन्ट रोबोटिक्सका महाप्रबन्धक जोनाथन कुकका अनुसार मासु उद्योगमा काम गर्ने मानिसको अभाव छ। ‘अस्ट्रेलियाका लागि मासु ठूलो निर्यात बजार हो तर काम गर्ने मानिस भेटिन छाडेका छन्। त्यसैले सन् १९८० को दशकदेखि यो क्षेत्रमा प्रविधिको आवश्यकता महसुस गरिएको थियो’, उनले भने।

यसले गर्दा किसानले आफ्नो उत्पादनको सही मूल्य पाउने र बधशालाले भुक्तानीमा हुने ठगीबाट बच्ने विश्वास गरिएको छ।

प्रकाशित: १ फागुन २०८२ १७:१९ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast