नवलपरासी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई सय सिट पार गराउने लक्ष्य रहेको बताएका छ्न्। उनले अबको दिशा सय सिट पार गराएर सभापति गगनकुमार थापालाई प्रधानमन्त्री बनाउनु रहेको बताए।
बर्दघाट नगरपालिका वडा नम्बर १६ मा शुक्रबार चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै चौधरीले सोहीअनुरुप कार्यकर्ता र आमशुभेच्छुकलाई चुनावमा खटिन आग्रह गरे। कांग्रेसको एकरुपता र जनलहर देखेर केही प्रतिस्पर्धीहरू अताल्लिएको र हतोत्साहित भएर विभिन्न चलखेल सुरु भए पनि क्रमिक रुपमा त्यो घट्दै गएको उल्लेख गर्दै उनले सबैलाई उत्साहपूर्वक चुनावमा होमिन अनुरोध गरे।
बदलिएको कांग्रेसलाई आगामी १० वर्षसम्म कसैले पनि औँला उठाउन नसक्ने ठाउँमा पुर्याउनुपर्नेमा चौधरीले जोड दिए। भिन्न प्रसंगमा बोल्दै उनले बर्दघाट १६ मा रहेको सूर्य नगर रंगशालालाई यो क्षेत्रकै नमुना रंगशाला निर्माण गर्न सकिने उल्लेख गर्दै त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए।
‘नेपाली क्रिकेट कप्तान रोहित पौडेल जन्मिएको यस क्षेत्रमा रहेको सूर्य नगर रंगशालालाई नमुना रंगशालाका रूपमा विकास गरी भोलिका दिनमा यहीँ टी-२० खेलाउन सक्ने गरी सबै लागौँ, म प्रतिबद्ध छु’, उनले भने।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले चौधरीको तीनवर्षे कार्यकालमा थुप्रै उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै अधुरा योजनाको पूर्णता र पाँचवर्षे स्थायी कार्यकालका लागि उम्मेदवार चौधरीलाई विजयी गराउनुपर्ने बताए।




