नेपाल र इंग्ल्यान्डबीचको खेल। तस्बिर : क्यान
काठमाडौँ- आईसीसी पुरुष टी २० विश्वकप २०२६ मा नेपाली पुरुष टिमले आज दोस्रो खेल इटालीसँग खेल्दै छ। यसअघि इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्न चाहन्छ।
भारतस्थित मुम्बइको वानखेडे क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुने खेलमा पहिलोपटक विश्वकप क्रिकेट खेलिरहेको इटाली टोली पनि अनुभवी टोली नेपाललाई हराउने रणनीतिमा हुनेछ। नेपाल भने तेस्रोपटक विश्वकप क्रिकेटमा सहभागी भएको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप क्रिकेट खेलिसकेको छ।
नेपालले पहिलोपटक विश्वकप खेल्दा हङकङलाई ८० रन र दोस्रो खेलमा अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यसयता नेपालले विश्वकपमा कुनै खेल जित्न सकेको छैन।
उता इटाली जारी विश्वकपमा आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले हारेको छ। आज एकअर्काविरुद्ध मैदान उत्रिँदा नेपाल र इटाली दुवै पहिलो जित हासिल गर्ने दाउमा हुनेछन्।
सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई फराकिलो जितको आवश्यकता छ। आफूले जितेर मात्र हुँदैन, अन्य टोलीको नतिजा पनि आफूअनुकूल आउनुपर्ने हुन्छ।समूह सीका टोलीमध्ये नेपाल र इटाली मात्र अहिलेसम्म जितविहीन छन्।
अंकतालिकामा नेपाल चौथो र इटाली पाँचौँ स्थानमा छन्। यो समूहमा लगातार दोस्रो दोस्रो जित हासिल गर्दै वेस्ट इन्डिज ४ अंकसहित शीर्ष स्थानमा छ। एक खेलमा जित र एकमा हार गरेको स्कटल्यान्ड दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा छन्। समान २-२ अंक भए पनि नेट रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा भएका हुन्।
समूह चरणका खेलबाट शीर्ष स्थानमा पुग्ने २ टोलीले सुपर ८ मा स्थान बनाउनेछन्।
माघ २४ देखि भारत र श्रीलंकामा एकसाथ सुरु टी २० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन्।



