टी २० विश्वकप : अमेरिकामाथि पाकिस्तानको यसपल्ट जित, यूएईमाथि न्युजिल्यान्ड एकतर्फी विजयी

हिमाल प्रेस २८ माघ २०८२ ८:३३ | Wednesday, February 11, 2026
8
SHARES
टी २० विश्वकप : अमेरिकामाथि पाकिस्तानको यसपल्ट जित, यूएईमाथि न्युजिल्यान्ड एकतर्फी विजयी

काठमाडौँ- पाकिस्तानले टी २० विश्वकपमा मंगलबार लगातार दोस्रो जित निकालेर सुपर एट प्रवेशका लागि आफूलाई बलियो प्रत्याशी बनाएको छ। कोलम्बोमा भएको समूह ‘ए’को खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गरेको हो। यो जितसँगै पाकिस्तानले सन् २०२४ को पछिल्लो विश्वकपमा अमेरिकासँग सुपर ओभरमा बेहोरेको हारको बदला लिएको छ।

जितका लागि १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटमा १५९ रन मात्र बनाउन सक्यो। अमेरिकाको यो लगातार दोस्रो हार हो। अमेरिकाका लागि एन्ड्र्युस गस र शाइन जहाँगिरले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे पनि टिमले त्यसको फाइदा लिन सकेन। जहाँगिरले ३४ बलमा ४९ रन जोडे। खेलको अन्त्यतिर शुभम कृष्णमूर्तिले अर्धशतक पूरा गर्ने क्रममा ५१ रन बनाए।

पाकिस्तानी बलरमध्ये उस्मान तरिकले ३ र सादब खानले २ विकेट लिए। त्यसअघि पाकिस्तानले पहिले ब्याटिङ गर्दै ९ विकेटमा १९० रन बनाएको थियो। खेलमा साहेबजादा फरहान ७३ र बाबर आजमको ४६ रन महत्वपूर्ण रह्यो। फरहानले ४१ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरे। अन्त्यतिर सादबले ३० रन जोडे। अमेरिकी बलरमध्ये स्याड्ली भानले २५ रनमा ४ विकेट लिए।

न्युजिल्यान्ड-यूएई

न्युजिल्यान्डले पनि लगातार दोस्रो जित निकालेको छ। टोली समूह डी को शीर्षमा उक्लिएको छ। त्यतिमात्र होइन, सुरुवाती दुई खेलबाट ४ अंक बटुल्ने क्रममा न्युजिल्यान्डले यूएईमाथि चेन्नईमा प्रभावशाली १० विकेटको जित हात पारेको छ। यो नतिजाले न्युजिल्यान्डको सुपर एट प्रवेशको सम्भावना बलियो बनेको छ। १७४ रन पछ्याएको न्युजिल्यान्डले विनाविकेट क्षतिमा १५ दशलमव २ ओभरमा १७५ रन बनाएको थियो। टिम सेफर्टले ८९ र फिन एलेनले ८४ रन बनाए।

उनीहरूले सानदार नटआउट साझेदारी गरे। सेफर्टले ४२ बलमा १२ चौका र ३ छक्का तथा एलेनले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गरे। यूएईले पहिले ब्याटिङ गर्दै ६ विकेटमा १७३ रन बनायो। एलिसन सरफुले ४७ बलमा ५५ रन बनाए। उनले ५ चौका र २ छक्का प्रहार गरे।

मोहम्मद वासिमले नटआउट ६६ रन बनाए। उनले ४५ बलमा ४ चौका र ३ छक्का हाने। उनीहरूले दोस्रो विकेटमा १०७ रनको साझेदारी गरेका थिए। यूएईको यो प्रतियोगितामा पहिलो खेल हो।

नेदरल्यान्ड्स-नामिबिया

मंगलबार दिनको पहिलो खेलमा बास डे लिडको अलराउन्ड प्रदर्शनमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हरायो। समूह ‘ए’ को खेलमा जितका लागि १५७ रन पछ्याएको नेदरल्यान्ड्सले १८ ओभरमा ३ विकेट गुमाएर १५९ रन बनायो। लिडले नटआउट ७२ रन बनाए। उनले ५ चौका र ४ छक्का प्रहार गरे। कोलिन अकरमनले ३२ र माइकल लेभिटले २८ रन बनाए।

जितपछि नेदरल्यान्ड्सको २ खेलबाट २ अंक भएको छ। डच टिम पहिलो खेलमा पराजित रहेको थियो। दोस्रो खेल जितेर टिम सुपर एट प्रवेशको समीकरणमा फर्केको छ। नामिबियाले पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर १५६ रन बनायो। ओपनर जान फ्रायलिन्क ३० र जान निकोलले ४२ रन जोडे।

निकोलले ३८ बलमा बनाएको स्कोर नै ठुलो हो। त्यसमा एक चौका र दुई छक्का सामेल थियो। उनीबाहेक जेरहार्ड इरासमसले १८ र जेजे स्मिटले २२ रन बनाए। डच बलर लोगान भान विक र लिडले समान दुई विकेट लिए। नेदरल्यान्ड्सले टस जितेर बलिङ गर्ने निर्णय सही साबित गरेको थियो।

प्रकाशित: २८ माघ २०८२ ८:३३ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast