भारतको मुम्बईमा आइतबार इंगल्यान्ड र नेपालबीच भएको टी–२० विश्वकप क्रिकेट खेलका क्रममा उत्साहित नेपाली क्रिकेट टोलीका समर्थक। तस्बिर : एपी/रासस
काठमाडौँ- आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आइतबार मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा एउटा दुर्लभ दृश्य देखियो। विश्व विजेता इंग्ल्यान्डविरुद्धको खेलमाको नतिजा इंग्ल्यान्डका पक्षमा रहे पनि दर्शकदीर्घाको उत्साहले भने अर्कै कथा बोलिरहेको थियो। विश्वका प्रतिष्ठित सञ्चारमाध्यमले वानखेडेमा देखिएको नेपाली क्रिकेटको ‘क्रेज’लाई निकै महत्त्वका साथ प्रसारण गरेका छन्।
अल जजिराका अनुसार मुम्बईको पश्चिमी महानगरको प्रतिष्ठित रंगशाला आइतबार भारतमा नभई काठमाडौँ नजिक भएजस्तो महसुस हुन्थ्यो। ‘मुम्बईको न्यानो र मन्द हावा चलिरहेको दिउँसो हजारौँ नेपाली प्रशंसकहरूले नाचगान गर्दै र जितको सपना देखिरहेका थिए। यो दृश्य कुनै क्रिकेट खेलभन्दा पनि नेपाली संस्कृतिमा भिजेको एउटा उत्सवजस्तै देखिन्थ्यो’, अल जजिराको समाचारमा उल्लेख छ
इन्डिया टुडेले रंगशालालाई नेपाली रङले भरिएको मैदानको संज्ञा दिएको छ। नीलो जर्सी र रातो झन्डा बोकेका नेपालीको संख्या इंग्ल्यान्डका समर्थकको तुलनामा धेरै गुणा बढी थियो। हरेक डट बलमा पनि उत्सव मनाइरहेका नेपालीलाई देख्दा केही समयका लागि नेपाल आफ्नै घरेलु मैदानमा खेलिरहेको आभास भएको इन्डिया टुडेको रिपोर्टमा उल्लेख छ।
हिन्दुस्तान टाइम्सले वानखेडेको यो स्वरूपलाई अप्रत्याशित र लोभलाग्दो भनेको छ। गालामा झन्डा पेन्ट गरेका बालबालिकादेखि परम्परागत ढाका टोपीमा सजिएका वृद्धवृद्धासम्मले आफ्नो टोलीलाई पूर्ण हृदय र आवाजसहित साथ दिएका थिए।
खेल एकतर्फी हुने अनुमान गरिए पनि नेपाली समर्थकको जोसले खेलको अन्तिम बलसम्मै मैदानलाई गुञ्जायमान बनाएको समाचारमा उल्लेख छ।
आउटलुक इन्डियाका अनुसार वानखेडे रंगशालमा ओइरिएका १७ हजारभन्दा बढी प्रशंसकहरूले नेपालले आफ्नो सामर्थ्यभन्दा धेरै माथि उठेर खेलेको साक्षी बन्ने मौका पाएको उल्लेख गरेको छ। रंगशालामा उपस्थित दर्शकमध्ये बहुसंख्यक हिमाल राष्ट्र नेपालकै समर्थक रहेको समाचारमा उल्लेख छ।
दि गार्जियनले इंग्ल्यान्ड टी-२० विश्वकपको एउटा ठूलो उलटफेरको सिकार हुनबाट जोगिएको उल्लेख गरेको छ। इंग्ल्यान्डसँगको रोमाञ्चक र झिनो अन्तरको हारले नेपाली खेलाडी र समर्थकलाई स्तब्ध बनाए पनि वानखेडेमा देखिएको उत्सवले विश्व क्रिकेटमा नेपालको प्रभाव बलियो रहेको प्रमाणित गरिदिएको छ।
फक्स स्पोर्टसले नेपाली खेलाडीको प्रशंसा गर्दै सानो टोलीको हृदयविदारक पराजय भएको समाचार प्रकाशित गरेको छ। बीबीसीको समाचारमा इंग्ल्यान्डले मुम्बईमा भएको टी-२० विश्वकपको आफ्नो पहिलो खेलमा हारको मुखबाट जोगिँदै एक ठूलो झट्का टारेको उल्लेख छ। क्रिकेट कम अस्ट्रेलियाले नेपाल सगरमाथाजस्तै विशाल सफलता नजिक पुगेर चुकेको शीर्षकमा समाचार प्रकाशित गरेको छ।
दुई पटकको च्याम्पियन इंग्ल्यान्डले आइतबार भएको टी २० विश्वकपको समूह ‘सी’ अन्तर्गतको अन्तिम बलसम्म चलेको रोमाञ्चक खेलमा साहसी नेपालविरुद्ध ४ रनको कठिन जित निकालेको थियो।
कप्तान ह्यारी ब्रुक र ज्याकोब बेथेलको अर्धशतकको मद्दतले इंग्ल्यान्डले सात विकेटको क्षतिमा १८४ रन जोडेपछि यो स्कोर नेपालको सामान्य ब्याटिङ क्षमताभन्दा बाहिरको जस्तो देखिएको थियो। तर यो अनुमानलाई चुनौती दिन १२ बल पर्याप्त भयो। ओपनर कुशल भुर्तेलले दोस्रो ओभरमा जोफ्रा आर्चरलाई तीन चौका प्रहार गर्दै आक्रामक सुरुवात गरे र लगत्तै ल्युक उडविरुद्ध पनि सोही लयलाई निरन्तरता दिँदै एक चौका र एक छक्कासहित १५ रन बटुले।
कुशल भुर्तेल (२९), पौडेल (३९) र दीपेन्द्र सिंह ऐरी (४४) ले नेपाललाई खेलमा टिकाइराखे भने अन्तिम समयमा लोकेश बमको विस्फोटक ब्याटिङले इंग्ल्यान्डको टोलीमा ढुकढुकी बढाएको थियो।
कसले के भने?
भारतीय टोलीका पूर्व ब्याटर आकाश चोपडा : नेपालको क्रिकेटिङ उदयलाई समर्थन गर्दछु। आईसीसीलाई प्रत्येक विश्वकप चक्रमा ताली मात्र नबजाउन मेरो आग्रह गरेका छन्। अब सहयोगी राष्ट्रलाई हरेक दुई वर्षमा एकपटक चर्चामा ल्याउने मात्र नभई, उनीहरूलाई थप द्विपक्षीय र्शंखला र नियमित प्रतियोगिता दिएर पुरस्कृत गर्ने समय आएको छ।
दक्षिण अफ्रिकाका पूर्व तीव्र गतिका बलर डेल स्टेनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका सहयोगी सदस्य राष्ट्रलाई आफ्नो सेवा दिने प्रस्ताव राखेका छन्। स्टेनले ट्विट गर्दै नेपालको प्रदर्शनको प्रशंसा गर्दै यस्तो प्रस्ताव राखेका हुन्।
इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुक : यो फिटिक्कै सजिलो थिएन, तर भाग्यवश हामीले जित निकाल्यौँ। मलाई लागेको थियो- हामी त्यो स्कोर रक्षा गर्न सक्ने राम्रो स्थितिमा छौँ। खेल यति नजिक पुग्ला भन्ने सोचेको थिइनँ। नेपाली टोलीलाई सलाम छ, उनीहरूले असाध्यै राम्रो खेले।’
इंग्ल्यान्ड टिमका विल ज्याक्स : म निकै त्रसित थिएँ- एकदमै धेरै। मेरो मुटुको ढुकढुकी बढेको थियो। तर मलाई साम करनमाथि विश्वास थियो। उनले पहिले पनि यस्ता परिस्थितिहरूमा रन जोगाएका छन्।
नेपाली टोलीका कप्तान रोहित पौडेल : निराशा त छँदै छ, तर साथसाथै मलाई आफ्नो टोलीप्रति गर्व छ। हामी यो विश्वकपमा एउटा विश्वासका साथ आएका थियौँ। हामी यहाँ सहभागी हुन मात्र आएका होइनौँ, हामी प्रतिस्पर्धा गर्न चाहन्थ्यौँ। हामीले आफ्नो उत्कृष्ट क्रिकेट खेल्यौँ भने जुनसुकै टोलीलाई पनि हराउन सक्छौँ भन्ने विश्वास हामीमा थियो। मलाई लाग्छ, आज हामीले हाम्रो उत्कृष्ट क्रिकेट खेल्यौँ।



