काठमाडौँ- भारतले पुरुष यू–१९ क्रिकेट विश्वकप जितेको छ। फाइनल खेलमा इंग्ल्यान्डलाई १०० रनले पराजित गर्दै भारतले विश्वकप जितेको हो।
योसँगै भारतले छैठौँपटक यू–१९ विश्वकप जितेको हो।
जिम्बाब्वेको हरारे स्पोर्टस क्लबमा खेलिएको फाइनल खेलमा वैभव सूर्यवंशीको आक्रामक इनिङको मद्तले भारतीय टोलीले इंग्ल्यान्डसामु जितका लागि ४१२ रनको ठूलो चुनौती प्रस्तुत गरेको थियो।
लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डको टोली ४०.१ ओभरमा ३११ रनमा अलआउट भयो।
फाइनल खेलमा भारतीय टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। यद्यपि भारतको सुरूवात राम्रो रहेन। अघिल्लो खेलका नायक आरोन जर्ज मात्र ९ रन बनाएर पभेलियन फर्किए।
त्यतिबेला भारतको स्कोर चार ओभरमा २० रनमात्र थियो। तर, त्यसपछि कप्तान आयुष म्हात्रेका साथ मिलेर ओपनर सूर्यवंशीले इंग्ल्यान्डका बलरहरूलाई निशानमा लिए।
१४ वर्षीय सूर्यवंशीले आक्रामक ब्याटिङ गर्दै ८० बलमा १७५ रन बनाएर २१९ को स्ट्राइक रेटले ब्याटिङ गरेका उनले १५ चौका र १५ छक्का प्रहार गरे।



