सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २४ पछि बनेको नागरिक सरकारले पहिलो आक्रमण प्रदेश सरकारमाथि गरेको आरोप लगाएका छन्।
कर्णाली प्रदेशसभाको आठौँ स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले केन्द्रको हस्तक्षेपका कारण प्रदेशसभा र प्रदेश सरकारले बनाएका कानुनहरू प्रयोगविहीन बनाउने प्रयास भएको बताएका हुन्।
मुख्यमन्त्री कँडेलले जेन्जी आन्दोलनका नाममा भदौ २३ गते अघि सारिएका तीन–चार वटा माग बाहिर देखाउने आवरण मात्र भएको आज आएर पुष्टि भएको उल्लेख गरे। उनले भदौ २४ गतेको आन्दोलन संविधान, प्रदेशसभा र संघीय व्यवस्थामाथि नै आक्रमण गर्ने उद्देश्यसहित गरिएको दाबी गर्दै अहिले संविधान र लोकतन्त्र गम्भीर रूपमा घायल अवस्थामा पुगेको बताए।
उनले लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै लोकतन्त्र बचाउन दलहरूबीच सहकार्यको विकल्प नरहेको बताए। उनले नयाँ दल भनिँदै आएका शक्तिहरूप्रति पनि प्रश्न उठाए।
चुनावको विषयमा बोल्दै मुख्यमन्त्री कँडेलले निर्वाचन हुने कुरामा आशंका व्यक्त गरे। कर्णालीमा मौसमी प्रतिकूलता रहेको उल्लेख गर्दै उनले थोरै मानिस जम्मा भएर होहल्ला गरेमा निर्वाचन अधिकृतले कसरी काम गर्छन् भन्ने प्रश्न उठाए।



