किन घटबढ भइरहेको छ सुनचाँदीको मूल्य?

हिमाल प्रेस २० माघ २०८२ १७:०८ | Tuesday, February 3, 2026
10
SHARES
किन घटबढ भइरहेको छ सुनचाँदीको मूल्य?

आफ्नो मूल्य स्थिर राख्ने (वा मूल्य कायम राख्ने) क्षमताका कारण बहुमूल्य धातुहरू लगानीकर्ताको रोजाइमा पर्छन्। विगत हेर्दा आर्थिक अस्थिरता र विश्वव्यापी राजनीतिक तनावका बेला खरिदकर्ताहरूको ध्यान यसतर्फ तानिने गरेको देखिन्छ।

आफ्नो अनपेक्षित कार्यशैलीका लागि चिनिएका नेता डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि सिर्जित अन्योलले गत वर्षभरि बजार र राजनीतिमा अस्थिरता निम्त्याउने काम गरेको छ।

भन्सार शुल्कको नीतिदेखि लिएर देशको केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ को स्वतन्त्रतामाथि दिएको दबाब र डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्डलाई कब्जा गर्ने धम्कीसम्म– ट्रम्पले पटकपटक स्थापित परम्परा र मान्यताहरू तोड्ने काम गरेका छन्, जसले बजारमा बेचैनी र सन्त्रास पैदा गरेको छ।

परम्परा विपरीत चल्ने ट्रम्पको कार्यशैलीले अमेरिकी डलरको साख गिराएको छ। यसले गर्दा लगानीकर्ताहरू आफ्नो लगानी सुरक्षित राख्न डलर छोडेर सुनजस्ता भरपर्दा विकल्पहरूतर्फ आकर्षित भएका छन्।

गत वर्ष ट्रम्पको शपथ ग्रहण र सन् २०२६ जनवरीको अन्त्यबीचको अवधिमा सुनको मूल्य झन्डै दोब्बर भयो भने चाँदीको मूल्य लगभग चार गुणाले बढ्यो।

विश्लेषकहरूका अनुसार लामो समयको महँगी र देशहरूको बढ्दो ऋणका कारण विश्वको आर्थिक व्यवस्थामा मानिसको भरोसा टुट्दै गएको छ, जसको नतिजास्वरूप सुन-चाँदी जस्ता धातुहरूको भाउ आकासिएको हो।

अमेरिकी राष्ट्रिय ऋण बढेर ३८ ट्रिलियन (३८० खर्ब) डलर पुगेको छ, जुन विश्वमै सबैभन्दा बढी हो। यो अमेरिकी सरकारले आफ्ना स्वदेशी र विदेशी ऋणदाताहरूलाई तिर्न बाँकी रहेको रकम हो।

‘हाम्रो संसारमा, जहाँ लगभग हरेक वित्तीय गतिविधिमा ऋणको जोखिम जोडिएको हुन्छ- चाहे त्यो राज्य होस्, केन्द्रीय बैंक होस् वा कुनै मध्यस्थकर्ता- सुन मात्र एउटा यस्तो सम्पत्ति हो जसमा जोखिम कम हुन्छ। यसले कुनै बाचा गर्दैन, ब्याज दिँदैन र कुनै राजनीतिक निर्णयमा भर पर्दैन। यो केवल अस्तित्वमा रहन्छ। ठ्याक्कै यही कारणले गर्दा यसले सुरक्षा प्रदान गर्दछ,” प्लेनिस्फर इन्भेस्टमेन्टका पोर्टफोलियो रणनीतिका प्रमुख डिएगो फ्रान्जिनले अल जजिरासँग भने।

सार्वजनिक र निजी ऋणको कीर्तिमानी स्तरमा आधारित वर्तमान व्यवस्थामा सुनको यो विशेषताले अभूतपूर्व महत्त्व स्थापित गरेको छ।

माग बढ्नुको अर्को कारण चीन र टर्कीजस्ता उदीयमान अर्थतन्त्रका केन्द्रीय बैंकहरूद्वारा गरिएको खरिद पनि हो जसले डलरमाथिको आफ्नो निर्भरता कम गर्न खोजिरहेका छन्।

बिहीबार सुनको मूल्य प्रति औंस झन्डै ५,५९५ डलरको कीर्तिमानी उचाइमा पुग्यो भने चाँदीको मूल्य पनि हालसम्मकै उच्च प्रतिऔंस लगभग १२२ डलर कायम भयो।

गत शुक्रबार सुन र चाँदीको मूल्यमा क्रमशः १० र २८ प्रतिशतको भारी गिरावट आएपछि हप्ताभरि देखिएको तीव्र वृद्धिमा अचानक पूर्णविराम लागेको छ।

सुन र चाँदीको मूल्य किन खस्कियो?

विश्लेषकहरू मूल्य घट्नुको कारणमा एकमत छैनन्। कतिपयले मूल्य उकालो लगाउने जति नै जिम्मेवार डोनाल्ड ट्रम्प यसलाई फेरि जमिनमा झार्ने कारण बनेको तर्क गरेका छन्।

ट्रम्पले शुक्रबार फेडरल रिजर्भको नेतृत्वका लागि केभिन वार्सलाई मनोनयन गर्ने घोषणा गरे। उनलाई ट्रम्पको छोटो सूचीमा रहेका अन्य नामहरूको तुलनामा अपेक्षाकृत परम्परागत विकल्पका रूपमा हेरिएको थियो।

सात सदस्यीय गभर्नर बोर्डका पूर्व सदस्य वार्सको छनोटलाई लगानीकर्ताहरूले सकारात्मक रूपमा स्वागत गरेका छन्। उनीहरू ट्रम्पले मुद्रास्फितिको जोखिमलाई बेवास्ता गर्दै ब्याजदर तीव्र रूपमा घटाउने कुनै निकट सहयोगीलाई नियुक्त गर्ने हो कि भन्ने आशंकामा थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले निवर्तमान फेड प्रमुख जेरोम पावेललाई ब्याजदर घटाउन दबाब दिँदै आएका छन्।

शुक्रबार ट्रम्पले मध्यपूर्वी देश इरानविरुद्ध सैन्य कारबाहीका धम्कीपूर्ण हप्ताहरूपछि उससँग सम्झौतामा पुग्ने आशा व्यक्त गरेका थिए।

केही विश्लेषणहरूले आर्थिक अवस्था थप स्थिर हुने अपेक्षा र अमेरिकी डलर बलियो बन्दै जानुले लगानीकर्तालाई बहुमूल्य धातु बेच्न प्रेरित गरेको बताएका छन्।

तर धेरै विश्लेषकहरूले यो व्याख्याप्रति शंका व्यक्त गर्दै मूल्य घट्नुको कारण मूल्य अत्यधिक महँगो भइसकेको अवस्था नै भएको तर्क गरेका छन्।

अघिल्लो साता बहुमूल्य धातुको मूल्य अस्वाभाविक रूपमा तीव्र रूपमा बढिसकेको थियो। ‘नाफा संकलन गर्ने प्रक्रिया सुरु भएपछि त्यसले झन् ठूलो गिरावटको रूप लियो,’ बैंक जुलियस बेयरका एसियाली अनुसन्धान प्रमुख मार्क म्याथ्युजले भने।

अब सुन र चाँदीको मूल्य के होला?

बजारको भविष्यवाणी गर्नु सजिलो काम होइन तर केही विश्लेषकहरू मध्यमदेखि दीर्घकालसम्म बहुमूल्य धातुको मूल्य बढिरहने अनुमान गर्छन्।

आइतबार जारी एक नोटमा जेपी मोर्गनका विश्लेषकहरूले सन् २०२६ को अन्त्यसम्म सुन प्रतिऔंस ६,३०० डलर पुग्ने-हालको मूल्यभन्दा करिब ३० प्रतिशतले बढ्ने अपेक्षा गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast