वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा काभ्रेमा प्रभावकारी

हिमाल प्रेस २० माघ २०८२ ९:४५ | Tuesday, February 3, 2026
6
SHARES
वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा काभ्रेमा प्रभावकारी सांकेतिक तस्बिर।

काभ्रेपलाञ्चोक- गृह मन्त्रालयले लागू गरेको वडा तहबाट अनलाइन नागरिकता सिफारिस सेवा यहाँ प्रभावकारी बन्दै गएको छ। गत भदौ १ गतेदेखि लागू गरिएको उक्त सेवाअन्तर्गत जिल्लामा पाँच महिनामा चार हजार १७७ जनालाई नागरिकता प्रदान गरिएको छ।

जिल्लाका सबै १३५ वडाबाटै एकसाथ अनलाइनबाट नागरिकता सिफारिस सुरु गरिएको हो। नागरिकताका लागि सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा अनलाइन सिफारिस गर्नुअघि वडाहरूले आवश्यक कागजात अनलाइनमार्फत स्क्यान गरेर पेस गर्छन्। तिनै कागजात र अनलाइनबाट प्रिन्ट भएको सिफारिससहित सेवाग्राही नागरिक जिल्ला प्रशासन कार्यालय पुगेर सोही सिफारिसका आधारमा द्रुतगतिमा नागरिकले सेवा लिन्छन्।

वडाले अपलोड गरेको फाइल कोडका आधारमा व्यक्तिको ‘इन्ट्री’ गरेलगत्तै वडाबाट भरेको विवरणका आधारमा नागरिकता प्रिन्ट हुन्छ । सनाखत गर्नेको पूर्ण विवरण पनि त्यही लोड गरिएको हुन्छ।

त्यसका अलावा जिल्ला प्रशासन कार्यालय आफैँले पनि ती कागजातलाई स्क्यान गरेर अर्को अभिलेख बनाउँछ र डिजिटलाइजेसनपछि कागजातलाई सुरक्षित राख्छ । अनलाइन सिफारिसका कारण एउटै काम फरकफरक निकायले पटकपटक गर्नुपर्ने अवस्थाको अन्त्य हुँदा विवरणमा एकरुपता र झन्झटिलो अवस्थाबाट नागरिक मुक्त हुने भएका छन् । झुटो विवरण पेस गरी नागरिकता लिनेलाई भने यो प्रणालीले निकै सकस बनाएको छ ।

कार्यालयका प्रशासकीय अधिकृत राजु शर्माका अनुसार अनलाइन सिफारिसका कारण व्यक्तिको विवरण सुरक्षित र कम त्रुटि भएका अभिलेख डिजिटलाइज भएका हुन् । ‘अभिलेखका लागि राखिएका कागजात सुरक्षित रहन्छन् र समयको बचत पनि भएको छ’, उनले भने । सेवामा द्रुतगति भएको, अभिलेखमा त्रुटि कम र विश्वास धेरै भएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नागरिकतालगायत सेवामा नागरिकलाई झन्झटरहित बनाउने प्रयास गरिएको बताए । उनले जिल्लामा नागरिकतासम्बन्धी समस्या समाधानमा अनलाइन सेवा थप प्रभावकारी बनेको बताउँदै कागजात नपुगेका कारण नागरिकता नबन्ने भन्ने समस्या टरेको उल्लेख गरे । पाँचखाल नगरपालिका–६ का वडाध्यक्ष रामशरण दुलालले नागरिकता सिफारिसका लागि अनलाइन सेवा महत्त्वपूर्ण मानिएको बताए ।

यसैबीच, चालु आर्थिक वर्षको पुस मसान्तसम्म जिल्लामा छ महिनामा चार हजार ३६१ जनाले नयाँ नागरिकता लिएका छन् । यस अवधिमा सबैभन्दा बढी नागरिकता सिफारिस धुलिखेल नपाबाट र सबैभन्दा कम खानीखोला गाउँपालिकाबाट भएको छ । इलाका प्रशासन कार्यालय महाभारतमा यो अवधिमा ३५५ वटा नागरिकता बनेका छन् । अनलाइन सेवाबाट भने ३२३ नागरिकता बनेका कार्यालयले जनाएको छ ।

नयाँभन्दा प्रतिलिपि लिनेको सङ्ख्या अधिक रहेको पाइएको छ । जिल्ला प्रशासनको तथ्याङ्कअनुसार यस अवधिमा पाँच हजार ४९२ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । यस्तै, यस अवधिमा २५ जनाले नागरिकता परित्याग गरेको गैरआवासीय नागरिकता १८ जनाले लिएको तथा चार जनाको नागरिकता रद्द भएको कार्यालयले जनाएको छ । रासस

प्रकाशित: २० माघ २०८२ ९:४५ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast