निर्वाचन क्षत्रेमा विनोद चौधरी। फाइल तस्बिर।
बर्दघाट, नवलपरासी- प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नवलपरासी (वसुप) क्षेत्र नं.१ मा नेपाली कांग्रेसले चुनावी अभियानलाई तीव्र बनाएको छ।
प्रतिनिधिसभा क्षेत्र नं.१ को चुनाव प्रचारप्रसार समितिको कार्यालय, बर्दघाटमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा यस क्षेत्रका उम्मेदवार विनोद चौधरीले गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्ने बताए।
निवर्तमान सांसद समेत रहेका चौधरी २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए। उनले कांग्रेसको इतिहास क्रान्ति र आन्दोलनमार्फत आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणको साक्षी भएको उल्लेख गर्दै अब त्यो इतिहासलाई विकासको मार्गचित्रमा रूपान्तरण गर्ने समय आएको बताए।
‘मेरो मनमा कहिल्यै आग्रह पूर्वाग्रह छैन। गगन थापाको नेतृत्वको कांग्रेसले देश विकासको रेखा कोर्छ,’ चौधरीले भने।
उनले विशेषगरी जेनजी पुस्ताको भावना र आन्दोलनको मर्म कांग्रेसले बुझिसकेको दाबी गर्दै सुशासन कायम र भ्रष्टाचारको अन्त्य नै पार्टीको मूल एजेन्डा रहेको बताए।
कांग्रेस जिल्ला सचिव कुलदीप आचार्यले कार्यकर्ता संरक्षण नै भोट संरक्षण भएको उल्लेख गर्दै विश्वले चिनेका व्यक्तित्व विनोद चौधरीलाई आफ्नै क्षेत्रमा जिताउन कठिन नहुने बताए। ‘सबै एकजुट भएर लाग्यौं भने परिणाम हाम्रो पक्षमा आउँछ,’ उनले भने।
कार्यक्रममा सहभागी नेताहरूले नवलपरासी क्षेत्र नं. १ मा कांग्रेस एकताबद्ध भएर चुनावी मैदानमा उत्रिएको सन्देश दिँदै आगामी निर्वाचनमा जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने मूल नारासहित भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू, जिल्ला नेतृत्व र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो।



