चुनावी टिकटका लागि प्रलोपा प्रवेश गरेका पूर्वउपरथी श्रेष्ठले हप्ता दिनमै छाडे पार्टी

हिमाल प्रेस १२ माघ २०८२ १२:३७
130
SHARES
चुनावी टिकटका लागि प्रलोपा प्रवेश गरेका पूर्वउपरथी श्रेष्ठले हप्ता दिनमै छाडे पार्टी

गोरखा- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सार्वजनिक रूपमै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी नदिने बताउँदै आएका बेला गोरखा-२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट कसलाई उम्मेदवार बनाउने भन्ने अन्योल थियो। गोरखा-२ डा.भट्टराईले लगातार तीनपटक निर्वाचन जितेको क्षेत्र हो।

उक्त अन्योलबीच उम्मेदवार बन्ने आशामा पूर्वउपरथी बाबुराम श्रेष्ठ गत पुस २७ गते पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित एक कार्यक्रममार्फत प्रलोपा भित्रिए। तर प्रलोपा गोरखा-१ र २ बाट एकल सिफारिस भएका डा.भट्टराईले गोरखा-२ मा माघ ६ गते मनोनयन दर्ता गरे। सोही दिनमै पूर्वउपरथी श्रेष्ठले प्रलोपा परित्याग गरेको घोषणा गरे। उनी पार्टी प्रवेश गरेको एकहप्ता मात्रै भएको थियो।

श्रेष्ठले गत मंगलबार (माघ ६ गते) सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै पार्टी त्याग गरी पुनः स्वतन्त्र हैसियतमा रहने निर्णय सार्वजनिक गरेका थिए।

आफ्नो स्टाटसमा श्रेष्ठले आफू नितान्त गैरराजनीतिक व्यक्ति भए पनि जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिवेशले राजनीतिमा होमिन प्रेरित गरेको स्टाटसमा उल्लेख गरेका छन्। सुरुमा स्वतन्त्र उम्मेदवारका रूपमा गोरखा-२ बाट चुनाव लड्ने योजना बनाएको दाबी गर्ने श्रेष्ठले पूर्वप्रधानमन्त्री डा.भट्टराईको आग्रहमा प्रलोपा प्रवेश गरेको बताएका उल्लेख गरेका छन्।

श्रेष्ठका अनुसार पार्टीभन्दा पनि डा.भट्टराईको सहयोगमा निर्वाचन जितेर जन्मथलो गोरखाको विकासमा योगदान दिन सकिन्छ भन्ने सोचका साथ पार्टी प्रवेश गरेका थिएँ। तर गोरखामा पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरूले चुनाव जित्ने सुनिश्चितताका लागि डा. भट्टराई स्वयं उम्मेदवार हुनुपर्ने निष्कर्ष निकालेपछि गोरखा-२ बाट प्रलोपा तर्फबाट डा.भट्टराईको मनोनयन दर्ता भएको उल्लेख गरेका छन्।

यद्यपि, माओवादी शान्ति प्रक्रियापछि राजनीतिक यात्रामा अघि बढ्दा समाजका विभिन्न तप्काबाट ‘आतंककारी’, ‘माओवादीसँग साँठगाँठ’, ‘लेण्डुपेको पगरी’ जस्ता आरोप र टिप्पणीले आफू गम्भीर रूपमा मर्माहत भएको श्रेष्ठको भनाइ छ। शान्ति निर्माण सैद्धान्तिक रूपमा भए पनि व्यवहारमा नभएको अनुभूति भएको उनले उल्लेख गरेका छन्।

३७ वर्ष देश र जनताको सेवा गरेको सैनिक जीवनपछि यस्ता आरोप सहजै पचाउन नसकेको भन्दै श्रेष्ठले ‘फोहोरी राजनीति’मा लागेर परिवार र व्यक्तिगत जीवनमा नकारात्मक असर पार्नुभन्दा राजनीतिबाट अलग रहने निर्णय लिएको बताएका छन्।

उनले पार्टी सदस्यता औपचारिक रूपमा नलिइसकेको अवस्थामा सामाजिक सञ्जालमार्फत नै प्रलोपा त्याग गरी पुनः स्वतन्त्र हैसियतमा रहने घोषणा गरेका हुन्।

पूर्वउपरथी बाबुराम श्रेष्ठ प्रलोपा प्रवेश, गोरखा–२ बाट चुनाव लड्ने तयारी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast