अमरेशकुमार सिंह। फाइल तस्बिर
काठमाडौँ- विघटित प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेसका पूर्वनेता अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन्।
आगामी माघ ५ गते जनकपुरधाममा हुन लागेको रास्वपाको सभामार्फत उनी पार्टी प्रवेश गर्न लागेका हुन्।
नेता सिंहले रासवपाको कार्यक्रमबाट आफ्नो नयाँ राजनीतिक अध्यायको सुरूवात गर्न लागेको जनाएका छन्।
‘यही माघ ५ गते जगत जननी माता सीताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमबाट आफ्नो नयाँ राजनीतिक अध्यायको सुरूवात गर्दैछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
देश र मधेशमा रहेको भ्रष्टाचार तथा कुशासनविरूद्ध स्वतन्त्र रहँदा उठाएको आवाज अब थप बुलन्द हुने उनले बताएका छन्।
‘देश र मधेशमा रहेको भ्रष्टाचार कुशासनविरूद्ध हिजो स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ। साथै मलगायत देश र मधेशको हित चाहने मधेशमा शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकास चाहने सम्पूर्ण आमाबुबा तथा दिदीबहिनीहरूलाई यसै कार्यक्रममार्फत जुड्न आह्वान गर्दछु,’ सिंहले भनेका छन्।
नेपाली कांग्रेसहुँदै राजनीतिमा प्रवेश गरेका सिंह २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र भएर लडेका थिए। कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेका थिए।



