रास्वपा सांसद अमरेश सिंह।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले पटकपटक हुने आन्दोलन, जातीय तथा धार्मिक हिंसाले मधेशलाई शान्ति र विकासको मार्गबाट पछाडि धकेलेको बताउँदै मधेशवासीलाई एकताबद्ध भएर दीर्घकालीन विकासको यात्रामा अघि बढ्न अपिल गरेका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत अपिल गर्दै सिंहले आन्दोलन तथा हिंसात्मक गतिविधिका कारण मधेशको भौतिक संरचनामा क्षति पुग्ने, शैक्षिक सत्र प्रभावित हुने, व्यापारव्यवसाय ठप्प हुनेलगायतका समस्याले ठूलो धक्का पुगिरहेको बताए।
उनले अब सबै वर्ग र समुदाय मिलेर मधेशको समुन्नत विकासलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको बताएका छन्।
मधेशले अब हिंसात्मक गतिविधिको बाटो त्याग्दै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा युवाको रोजगारीजस्ता क्षेत्रमा दीर्घकालीन विकासमा जोड दिन आवश्यक रहेको उनले बताएका छन् ।
सांसद सिंहले समाजमा शान्ति र सद्भाव बिगार्ने असामाजिक तत्वको प्रभावमा नपर्न आग्रह गरेका छन्।
उनले समाजमा विभाजन र द्वन्द्व सिर्जना गर्ने व्यक्ति वा समूह जुनसुकै समुदाय वा वर्गको भए पनि उनीहरू मधेशको विकासका विरोधी रहेको बुझ्नुपर्ने बताएका छन्।
यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई सामाजिक रूपमा अस्वीकार गर्दै शान्ति, सद्भाव र विकासको पक्षमा एकजुट हुन उनको आह्वान छ।


