जनकपुरधाम- धनुषामा झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन्। मिथिला नगरपालिका–२ नक्टाझिज (सुखजोर) मा आफूलाई धर्मगुरु भन्ने रामपालको सतलोक आश्रमले ऐलानी जग्गा कब्जा गरेको भन्दै स्थानीयवासीले विरोध गरेपछि झडप भएको हो।
ऐलानी जग्ग कब्जा गरेर सतलोक आश्रम बनाइएको भन्दै जग्गा खाली गर्नुपर्ने भन्दै स्थानीयवासी त्यहाँ पुगेका थिए। आश्रम हटाउनुपर्ने विषयमा स्थानीयवासी र रामपालका अनुयायीबीच सुरू भएको विवाद उग्र बनेको थियो।
दुवै पक्षबीच ढुंगामुढा हुँदा १३ जना घाइते भएका छन्।
झडपमा घाइते भएकाहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए।
स्थानीयवासी र रामपालका अनुयायीबीच झडप हुँदा जनकपुर–ढल्केबर सडक खण्डको महेन्द्रनगरस्थित औरही पुलमा केही समय यातायात अवरुद्ध भएको थियो। प्रहरीको सक्रियतापछि सडक सञ्चालनमा आएको एसपी कुँवरले बताए।
घाइतेलाई बोकेर आश्रमबाट बाहिरिँदै गरेको एम्बुलेन्समा स्थानीयवासीले तोडफोड गर्न खोज्दा स्थिति तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको एसपी कुँवरले बताए।
आश्रम खाली गराउन भन्दै पुगेका स्थानीयवासीमाथि रामपालका अनुयायीहरूले आक्रमण गरेको विरोधमा प्रदर्शनकारीहरू टायर बालेर प्रदर्शन गरेका छन्। सतलोक आश्रमले ऐलानी जग्गा कब्जा गरेर संरचना निर्माण गरेकोले खाली गर्नुपर्ने स्थानीयको भनाइ छ।
आफूलाई कबिर पन्थी सन्त भन्दै आएका रामपाल भने भारतमा जेल जीव्न बिताइरहेका छन्।
उनी र उनका अनुयायीहरूले सन् १९९९ मा भारत हरियाणाको रोहतकमा सतलोक आश्रमको स्थापना गरेका थिए। सन् २००६ मा रामपालले आर्य समाजको मुख्य पुस्तक सत्यार्थ प्रकाशका केही अंशप्रति सार्वजनिक रूपमा आपत्ति जनाएका थिए।
आर्य समाजका अनुयायी र रामपालका समर्थकहरूबीच सतलोक आश्रममा हिंसात्मक मुठभेड भएको थियो। मुठभेडमा आर्य समाजका एक अनुयायीको मृत्यु भएको थियो। मुठभेड भडकाएको र हत्याको अभियोगमा रामपाल पक्राउ परेका थिए। २१ महिना जेलमा बिताएपछि उनी सन् २००८ मा धरौटीमा रिहा भएका थिए।
तर, रामपाल पटक–पटक अदालतमा उपस्थित नभएपछि अवहेलनाको आरोपमा उनलाई पक्राउ गर्न आदेश दिइएको थियो। प्रहरीले रामपाललाई पक्राउ गर्न आश्रम पुगेपछि अनुयायीहरूसँग हिंसात्मक झडप भएको थियो।
रामपालका अनुयायीहरूले गतिरोध उत्पन्न गरेपछि सञ्चारकर्मीसहित दर्जनौँ मानिस घाइते भएका थिए। एक सातासम्म चलेको झडपमाका क्रममा ६ जनाको ज्यान गएको थियो। पछि रामपाललाई पक्राउ गरेर मुद्दा चलाउन चण्डीगढ लगिएको थियो।
रामपालमाथि बन्धक बनाउने, हत्या, राजद्रोहलगायतका मुद्दा चलाइएको थियो। सन् २०१८ मा उनी र उनका २६ जना अनुयायीलाई अदालतले दोषी ठहर गरेको थियो। झडपका क्रममा ६ जनाको मृत्यु भएको घटनामा रामपाललाई आजीवन कारावासको सजाय सुनाइएको थियो।



