कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा जिल्ला कार्यसमितिहरू धमाधम खुल्दै

हिमाल प्रेस २४ पुष २०८२ १३:५९
62
SHARES
कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा जिल्ला कार्यसमितिहरू धमाधम खुल्दै विशेष महाधिवेशन आह्वान गरेका कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा।

काठमाडौँ- नेपाली कांग्रेसमा आगामी विशेष महाधिवेशन (पुस २७-२८) को पूर्वसन्ध्यामा जिल्ला कार्यसमितिहरू धमाधम विशेष महाधिवेशनको पक्षमा खुल्न थालेका छन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बुधबार महाधिवेशन आह्वान गरेपछि ललितपुर, काभ्रे, कास्की, उदयपुर लगायतका जिल्लाहरूले महाधिवेशनमा सहभागी हुन अपिल गरेका छन्।

बुधबार ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा उभिन सबै प्रतिनिधिलाई अपिल गरेका थिए भने बिहीबार कास्की सभापति किशोरदत्त बरालले पनि यस ऐतिहासिक घडीमा विशेष महाधिवेशनको पक्षमा उभिन आग्रह गरेका छन्। त्यस्तै, उदयपुरका जिल्ला अध्यक्ष हिमाल कार्कीले महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन विज्ञप्ति निकालेर अनुरोध गरेका छन्।

योभन्दा पहिले अन्य पाँच प्रदेश सभापतिहरू संस्थापन पक्षमा उभिएका थिए। लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन विशेष महाधिवेशनको पक्षमा सक्रिय छन् भने गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा मौन रहेका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार मात्र विशेष महाधिवेशन औचित्यहीन भएको भन्दै प्रतिनिधिहरूलाई सहभागी नहुन अपिल गरे। तर, यो अपिलपछि पनि जिल्ला कार्यसमितिहरू धमाधम पक्षमा खुल्न थालेका छन्। हाल ३० भन्दा बढी जिल्ला सभापतिहरू विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।

धनकुटा र सिन्धुपाल्चोकका सभापतिहरूले प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सक्रिय, जिम्मेवार र गरिमामय उपस्थिति देखाउन अपिल गर्दै पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र राष्ट्रको दिशा निर्धारणमा प्रत्यक्ष भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

विशेष महाधिवेशन पक्षधर नेताहरूले यस महाधिवेशनलाई ऐतिहासिक, सफल र सार्थक बनाउन सबै कांग्रेसजनको सहभागिता आवश्यक रहेको बताएका छन्।

प्रकाशित: २४ पुष २०८२ १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast