प्रतिनिधिसभा सदस्य चुनाव : अन्योलमा बाबुराम, भरोसामा जनता

हिमाल प्रेस २१ पुष २०८२ १०:३९
272
SHARES
प्रतिनिधिसभा सदस्य चुनाव : अन्योलमा बाबुराम, भरोसामा जनता

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनाव लड्ने नलड्ने अन्योलमा छन्। गोरखा क्षेत्र नम्बर २ बाट लगातार तीन पटक निर्वाचित भइसकेका डा.भट्टराई २०७९ को चुनावमा यही क्षेत्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि छाडेपछि बहुसंख्यक गोरखालीको आलोचना खेप्न बाध्य बने।

यही आलोचना, बदलिँदो चुनावी समीकरण र महँगो बन्दै गएको निर्वाचन प्रणालीले डा.भट्टराईलाई फेरि दोधारमा पारेको छ। उनी अहिले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को संरक्षकको भूमिकामा छन्। प्रलोपा गोरखाले क्षेत्र न‍म्बर २ बाट डा.भट्टराईकै नाम सिफारिस गरिसकेको छ। तर नेकपा एमाले-नेपाली कांग्रेस-नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सम्भावित गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको बढ्दो आकर्षणबीच डा.भट्टराई चुनावी मैदानमा उत्रँदा जित कठिन हुने आकलन भइरहेको छ।

डा.भट्टराई निकट एक नेताका अनुसार अहिलेको चुनाव विचार र नीतिभन्दा पनि पैसामुखी बन्दै गएको छ। ‘अत्यधिक खर्च, लेनदेन र अस्वस्थ प्रतिस्पर्धाको वातावरणमा बाबुरामजस्तो विचारप्रधान नेता सहज महसुस गर्नुहुन्न,’ ती नेताले भने, ‘यही कारण उहाँ उम्मेदवारी दिने नदिने विषयमा गम्भीर रूपमा सोचिरहनुभएको छ।’

गोरखाको विकाससँग डा.भट्टराईको नाम जोडिएको छ। चुनावी अन्योल भए पनि डा.भट्टराई गोरखाबाट टाढा छैनन्। उनी प्रत्येक महिना गोरखा पुग्छन्। केही महिना अघि दूधपोखरी मार्गको स्थलगत निरीक्षण, ग्रामीण भेगका कच्ची सडक, पुल र विकासलगायतका जिल्लाका आयोजनाबारे उनले प्रत्यक्ष जानकारी लिए। आफू सांसद, अर्थमन्त्री, प्रधानमन्त्री हुँदा सुरु गरिएका ती आयोजना पूरा गरेरै छाड्ने र गोरखालाई मुलुककै विकासको मोडेल बनाउने डा.भट्टराईको लक्ष्य छ।

त्यस्तै,सांसद, अर्थमन्त्री र प्रधानमन्त्री हुँदा गोरखामा सडक सञ्जाल विस्तार, पालुङटार क्षेत्रको विकास, ग्रामीण पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट सुनिश्चितता तथा भूकम्पपछिको पुनर्निर्माणमा उनले नीतिगत भूमिका खेलेको स्थानीय नेताहरू बताउँछन्। कांग्रेसका एक स्थानीय नेता भन्छन्,‘उहाँ सांसद, प्रधानमन्त्री हुँदा मात्र होइन, अर्थमन्त्री हुँदा गोरखाले धेरै विकासका काम पाएको हो।’

एक स्थानीयले डा.भट्टराईले चुनाव लड्न आग्रह गरे। सिरानचोक गाउँपालिकाको मुगेदेखि टुटुवान र छोप्राकसम्म पुग्दा डा‍.भट्टराईलाई एक स्थानीयले भने,‘हाम्रो भरोसा तपाईं नै हो। प्रचण्ड त चुनावमा आउनुभयो, जितायौँ, अहिले कहाँ हुनुहुन्छ थाहा छैन। अब तपाईँ नै चुनाव लड्नुपर्छ।’

प्रकाशित: २१ पुष २०८२ १०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast