जनकपुरधाम- मधेश प्रदेशमा अविवाहित जनसंख्या बढेको देखिएको छ। अविवाहितको संख्या बढ्दा सामाजिक संरचनामाथि असर पार्ने चिन्ता बढेको हो। राष्ट्रिय जनगणना २०६८ र २०७८ का तथ्यांकको तुलना गर्दा १० वर्ष अवधिमा १५ प्रतिशतको हाराहारीमा अविवाहितको संख्या बढेको देखाउँछ।
२०६८ मा नेपालमा १० वर्षभन्दा माथिको जनसंख्यामध्ये ३५.६ प्रतिशत अविवाहित थिए। पुरुषमा अविवाहितको दर ४०.६ प्रतिशत र महिलामा ३१.१ प्रतिशत थियो। राष्ट्रिय जनगणना २०७८ ले मधेश प्रदेशको चित्र चिन्ताजनक देखाएको छ।
जनगणनाअनुसार ६१ लाख १४ हजार जनसंख्या रहेको मधेशमा २९ लाख ३९ हजार जनसंख्या अविवाहित छन्। यसमध्ये १६ लाख २८ हजार पुरुष (५५.७५५) र १३ लाख ११ हजार महिला (४४.२५) अविवाहित रहेको जनगणनाको तथ्यांक छ।
२०६८ मा देशका १० वर्षमाथिका १०० जनामध्ये ३६ जना अविवाहित थिए। पुरुषमा अविवाहित रहने प्रवृत्ति महिलाभन्दा १० प्रतिशतले बढी थियो। २०७८ मा १०० अविवाहितमध्ये ५६ जना पुरुष र ४४ जना महिला छन्।
यसले अविवाहितको संख्या मात्र होइन, पुरुष-महिलाबीचको अन्तरले लैंगिक असन्तुलन बढेको समाजशास्त्रीहरूको बुझाइ छ। २० वर्षपछि १०० जना महिलाको विवाह हुँदा १५ देखि १८ जना पुरुष जोडी नपाएर अविवाहित रहने गरेको देखिएको हो।
किन बढ्दै छ अविवाहितको संख्या?
दाइजो प्रथा, बेरोजगारी, न्यून आय, बदलिँदो सामाजिक अपेक्षालगायत युवक युवती विवाह गर्न पछि हट्ने गरेका छन्। विदेश पलायन र जन्मदा लैंगिक असन्तुलन रहनुलाई पनि विवाह हुन नसक्नुको कारण मानिएको छ।
समाजशास्त्री प्रा.डा. सुशील यादव अविवाहितको संख्या बढ्नुको कारणमध्ये लैंगिक विभेद र वैदेशिक रोजगार प्रमुख रहेको बताउँछन्। उनी भन्छन्, ‘मधेशमा वंश अघि बढाउन छोरा नै चाहिन्छ भन्ने संकीर्ण सोच व्याव्त छ। गर्भमा भ्रूण पहिचान गरी छोरी रहेमा हत्या गर्ने प्रवृत्ति घटेको छैन। उर्वर समयमा वैदेशिक रोजगारमा रहँदा विवाहको उमेर बढी भएपछि उमेरअनुसारको युवती नभेटिने समस्याले अविवाहितको संख्या दर बढाएको देखिन्छ।’
राज्यले भ्रूण हत्या रोकथाममा कठोर कदम चाल्नुपर्ने उनको सुझाव छ। उनी भन्छन्, ‘चुनौती कम गर्न भ्रूण हत्या रोक्न कठोर कदम चाल्नुपर्छ। वैदेशिक रोजगारको नीतिमा पनि परिवर्तन गर्नुपर्छ। समयमै राज्य पक्ष सचेत भएन भने बहुविवाह, समलिंगी विवाह र बलात्कारजस्ता घटनामा वृद्धि हुनेछ।’
पत्रकार श्यामसुन्दर शशी लैंगिक विभेदले यस्तो समस्या निम्तिएको बताउँछन्। ‘यहाँ महिलाभन्दा पुरुषलाई संकीर्ण सोचले असर पारेको देखिन्छ। वंश चलाउन छोरा नै चाहिन्छ र छोराको संख्या जति धेरै त्यति परिवार बलियो हुन्छ भन्ने सोच हटाउन सकिएको छैन’, शशीले भने।
छोरी जन्मिएमा बाल्यकालदेखि नै पालपोषणमा लैंगिक विभेद हुने गरेको छ। ‘यसबाट बालिकाको मृत्युदर बढ्नाले पनि छोरीको संख्यामा कमी छ। सोही कारण अविवाहितको संख्या बढाएको हो।’ यस्तो समस्या उच्च भनिएका ब्राह्मण, कायस्थ, राजपुत र भूमिहारमा बढी रहेको शशीले बताए।
तथ्यांक के भन्छ?
राष्ट्रिय जनगणना २०७८ अनुसार एक वर्षमा १५ देखि ४९ वर्षका विवाहित महिलाले जन्माएका जीवित बच्चाको लैंगिक अनुपात अर्थात् जन्मदाको लैंगिक अनुपात ११२ रहेको छ भने मधेशमा १२२ देखिन्छ। यसले मधेश प्रधेशमा एक वर्षमा १०० छोरीको जन्म हुँदा १२२ छोराको जन्म हुने गरेको देखाउँछ।
जन्म हुँदाको लैंगिक अनुपात १०५ अर्थात् प्रति १०० महिलामा १०५ पुरुपको जन्मलाई स्वभाविक मानिन्छ। मधेश प्रदेशमा यस अनुपातमा ठूलो अन्तर बढ्दै गएको देखिन्छ।
यसैगरी मधेशमा २५ वर्षमुनिका एक लाख २७ हजारभन्दा बढी पुरुष विदेशमा छन्। तीमध्ये अधिकांश अविवाहित छन्। लामो समय विदेश बस्दा विवाहमा ढिला हुँदै आएको छ। उमेर बढेपछि हुने विवाहले सामाजिक सम्बन्ध कमजोर हुँदै जाँदा यस्तो समस्या बढेको जानकारहरू बताउँछन्।
भविष्यमा के असर पर्ला?
समाजशास्त्रीहरूका अनुसार अविवाहित पुरुषको संख्या बढ्दै गए सामाजिक असन्तुलन बढ्छ, समलिंगीले पश्रय पाउँछन्, मानसिक स्वास्थ्यमा समस्या हुन्छ र सामाजिक विचलनको जोखिम बढ्न सक्छ। यद्यपि विदेशमा रहेका युवाहरू स्वदेश फर्किएर विवाह गरेमा अविवाहित महिलाको संख्या घट्न सक्ने सम्भावना रहेको उनीहरूले बताए।




