पार्टी प्यालेसमा विवाह भोज खाएका ९३ जना बिरामी, ५० को उपचार हुँदै

हिमाल प्रेस २७ वैशाख २०८३ १५:४१ | Sunday, May 10, 2026
8
SHARES
पार्टी प्यालेसमा विवाह भोज खाएका ९३ जना बिरामी, ५० को उपचार हुँदै तस्बिर : एआई निर्मित ।

चितवन- भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाह भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको संख्या ९३ पुगेको छ। तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गत बुधबार भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ।

केहीको काठमाडौँको निजामति कर्मचारी (सिभिल) अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिए। ‘हालसम्म बिरामी भएका ९३ जनामध्ये ५० जना उपचाररत रहेको छन्। दुई जनाको सघन उपचार कक्षमा राखेर उपचार गरिएकोमा अवस्थामा सुधार आएपछि वार्डमा सारिएको छ। बिरामी सबैको अवस्था खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ’, प्रहरी उपरीक्षक पुरीले भने।

घटनापछि पार्टी प्यालेसका दुई जनालाई नियन्त्रणमा लिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यससम्बन्धी थप अध्ययन गर्ने प्रहरी उपरीक्षक पुरीले जानकारी दिए।

डिभिजन कार्यालय प्रमुख प्रमोदचन्द्र पौडेलले चिकित्सकले विषाक्त खानाका कारण बिरामी भएको मौखिक रूपमा जनाएको र बाँकी विषयमा आफूहरूले अनुसन्धान गर्ने बताए। बिरामीमा उच्च रक्तचाप, कडा ज्वरो र पखालाको लक्षण देखिएको जनाइएको छ।

प्रकाशित: २७ वैशाख २०८३ १५:४१ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast