काठमाडौँ- मधेशमा राजनीतिक दलहरूबीचको गठबन्धन फेरिएको छ। यसअघि रहको नेपाली कांग्रेस र जसपा नेपाल–जनमत पार्टीबीचको गठबन्धन फेरिएर नयाँ सत्तासमीकरण बनेको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपाललाई निकालेर कांग्रेस–वाम गठबन्धनको सरकार बन्ने भएको छ।
कांग्रेस नेतृत्वको सरकारमा नेकपा एमालेको ‘इन्ट्री’ हुने भएको छ। यसअघि कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन गरे पनि एमाले सरकारमा सहभागी थिएन। यादव नेतृत्वको सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने सहभागी थियो।
मधेशमा अब कांग्रेस–एमाले–नेकपा गठबन्धनको सरकार बन्ने कांग्रेसका एक प्रदेश सांसदले जानकारी दिए। ती नेताका अनुसार एमाले सांसद मोहम्मद समीरलाई विनाविभागीय मन्त्री बनाउने सहमतिसमेत भएको छ। एमाले सांसद समीरलाई आजै शपथग्रहण गराउने तयारी रहेको उनले बताए।
‘प्रदेशमा गठबन्धन फेर्ने निर्णय भएको छ, सरकारबाट जसपा नेपाल र जनमत पार्टी बाहिरिने भएको छ,’ ती नेताले हिमालप्रेससँग भने,‘कांग्रेस नेतृत्वको सरकारमा एमाले पनि सहभागी हुनेछ।’
शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिइसकेपछि मन्त्रिपरिषद् विस्तार हुने उनले जानकारी दिए। उनले केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार गठबन्धन फेरिएको बताए।
जनमत पार्टीले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेशमा नयाँ सत्तासमीकरण बनेको हो। पार्टी अध्यक्ष सीके राउतको निर्देशनमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
यद्यपि जनमत पार्टीबाट सरकारमा सहभागी अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याणमन्त्री वसन्त कुश्वाहाले अझै राजीनामा दिएका छैनन्।
जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेका छन्। शुक्रबार विश्वासको मत लिनुअघि उनले सत्तासमीकरण फेरेका हुन्।
गठबन्धनबाट बाहिरिएको जसपा नेपालले भने बिहीबार नै कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। जसपा नेपाल प्रदेश संसदीय दलको बैठकले यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ।
जसपा नेपाल संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा कांग्रेस–वाम गठबन्धन बन्न लागेको भनेर आफूले जानकारी पाएको बताए। यद्यपि संसदीय दलको बैठकले गरेको निर्णयअनुसार आफूहरूले सरकारलाई विश्वासको मत दिने उनले बताए।
‘किन गठबन्धन फेरियो हामीलाई थाहा भएन, हामीसँग कुनै छलफलसमेत गरिएको छैन,’ उनले भने,‘मुख्यमन्त्रीले एमालेसँग किन गठबन्धन गर्नुभयो उहाँलाई नै थाहा होला। सरकारलाई हाम्रो दलको समर्थन त यथावत नै छ।’
प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २४ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ सांसद रहेका छन्। १०७ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमतको संख्या पुर्याउन ५४ सांसदको समर्थन आवश्यक हुन्छ। एमाले सरकारमा प्रवेश गरेसँगै मुख्यमन्त्री यादवको पक्षमा ६० सांसद पुग्ने देखिन्छ।




